Thursday, November 4, 2010

जंगबहादुरबाट सिकौं

-पुरुषोत्तम दाहाल
नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहलाई साम्राज्यवाद र सामन्तवादको अधिष्ठाता भन्दै पुराना जातीय राज्य फिर्ता गराउने आन्दोलन चलिरहेको वेला बाँके र बर्दियाका केही उत्साही व्यक्तिले राष्ट्रको इतिहास र ऐतिहासिक गौरव कोट्याउने प्रयास गरेका छन्, सन् १८१४ को नेपाल-अङ्ग्रेज युद्धमा आत्मघाती पराजयपछि २ डिसेम्बर १८१५ को सुगौली सन्धिबाट गुमेको ठूलो भू-भागमध्ये राप्तीदेखि महाकालीसम्मको क्षेत्र फिर्ता गराउने जङ्गबहादुर राणालाई सम्झ्ेर। राप्ती पश्चिमका जनताको यो अग्रसरताले जहानियाँ शासनको अर्को जग बसाएका जङ्गबहादुर राणाबारे केही नयाँ प्रश्न उठाएका छन्।
आज बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भनेर चिनिने सो क्षेत्रलाई नेपालको मातहतमा ल्याउने काम जङ्गबहादुरकै कूटनीतिक चातुर्य र क्षमताबाट सम्भव भएको थियो। लामो समय नयाँ मुलुक भनिएको यस क्षेत्रमा नयाँ मुलुक ऐन समेत जारी गरेर प्रशासन चलाइएको थियो। डेढसय वर्षअघि जङ्गबहादुरले उक्त क्षेत्र नफर्काएको भए त्यसपछिका शासकले सक्थे? आफ्नो शासनको स्थायित्वका लागि कालापानीदेखि अनेक भूक्षेत्रको सम्झ्ौता गर्ने तर राष्ट्रिय स्वाभिमानको कुरा गरेर नथाक्नेहरूबाट विगतमा गुमाइएका क्षेत्रको एकबित्ता पनि फिर्ता हुने आशा गर्न सकिन्थ्यो? राष्ट्रिय स्वाधीनता र स्वाभिमानको कुरा मन्त्र झ्ैं जपेर पुग्छ कि व्यवहारमा पनि अनुवाद गर्न सक्नुपर्दछ? स्वाधीनताका नाउँमा हस्तक्षेप र युद्ध निम्त्याउनु बुद्धिमानी हो कि कूटनीतिक चातुर्यद्वारा राष्ट्रको अस्मिता जोगाउनु र आकार बढाउनु?
नेपालमा बाह्य, त्यसमा पनि भारतीय, हस्तक्षेपको चर्चा चलिरहन्छ। मा'वादी जस्तो ठूलो पार्टी समेत भारतीय हस्तक्षेपको विरोधका नाउँमा अर्को छिमेकी राष्ट्र चीनतर्फ नजिकिएको छ। चीन वा भारतको पक्षपोषण गर्दै स्वाभिमानको हल्ला चलाउनु राष्ट्रको स्वाभिमान र पहिचान ध्वस्त गर्नु हो भनेर डेढसय वर्षअघि औंठाछापे शासक जङ्गबहादुर राणाले बुझ्ेजति कुरा आजका पढैया शासकले समेत बुझ्ेको देखिँदैन। जङ्गबहादुरले सन् १८१४ मा अङ्ग्रेजसँगको युद्धमा नेपालका तत्कालीन शासकले पञ्जाबका शासकसँग सहयोग माग्दा नपाएकाले भारत नीतिमा पुनरावलोकन गरेका थिए। अङ्ग्रेजको फुटाऊ र राज गर भन्ने सिद्धान्तअनुसार भारतका सबैजसो राज्यलाई अधीनस्थ गरेको देखेर नेपालको स्वतन्त्र हैसियत जोगाउन पृथक् रणनीति तय गरेका उनले पञ्जाबी शासकहरूले त्यसपछि गरेको सहयोगको याचनालाई समेत स्वीकार गरेनन्। तर यसको ठीक विपरित भारतको उत्तरप्रदेशका विभिन्न शहरमा डिसेम्बर १८५७ देखि मार्च १८५८ सम्म भएको प्रहरी विद्रोह साम्य पार्न नेपाली सेना पठाएर १५ नोभेम्बर १८६० मा सुगौली सन्धिबाट गुमेको भूभाग औपचारिक रूपमा फिर्ता गराउन सके। 
त्यस क्षेत्रमा अहिले जङ्गबहादुरको यही बहादुरी र बुद्धिमत्तापूर्ण कामको मूल्याङ्कन गर्न थालिएको छ। केही दिनअघि मेरो इमेल ठेगानामा आयोजक समितिका संयोजक तथा बर्दियाका चर्चित युवा राजनीतिकर्मी दिनेशप्रसाद श्रेष्ठले २९ कात्तिकमा आयोजना गरिने समारोहमा भाग लिन निम्तो प्राप्त भयो। पत्रमा सरकारीस्तरमै नयाँ मुलुक फिर्ता भएको स्मरण गर्दै समारोह आयोजना हुनुपर्ने, सो क्षेत्रमा त्यस दिन सार्वजनिक बिदा दिइनुपर्ने र कोहलपुरमा जङ्गबहादुरको सालिक स्थापना गर्नुपर्ने कुरा उल्लेख छन्। मलाई बाह्र वर्षपछि खोलो पनि फर्किन्छ भन्ने आहान चरितार्थ गर्ने यस पत्रलाई समर्थन गर्नु उपयुक्त लाग्यो।

जङ्गबहादुरले त्यसवेला पारिवारिक शासन खडा गर्नु अस्वाभाविक थिएन। उनले बेलायतबाट फर्केपछि कानून वनाउने, सतीप्रथा रोक्न प्रयास गर्ने जस्ता सुधारोन्मुख काम पनि गरेका थिए। परम्परागत शाही सत्तालाई जे-जसरी भए पनि नियन्त्रण गर्ने काम उनैबाट भएको थियो। फरक यत्ति हो, उनी र उनका खलक पनि शाही सत्ताकै अनुकरण, लोकतन्त्रका मूल्यमाथि प्रहार र देशको सम्पत्तिलाई आफ्नो खजाना झै उपयोग गर्न तथा विरोधीहरूलाई तहसनहस पार्न पछाडि परेनन्। यस अर्थमा जङ्गबहादुर निरङ्कुश शासक थिए। तर, उनले राष्ट्रियताको सम्वर्द्धन गर्न र स्वतन्त्रता जोगाउन गरेको आँटिलो कामको मूल्याङ्कन गर्नै पर्छ।
नयाँ मुलुक फिर्ता गर्न मात्र होइन, तिब्बतमा नेपाली व्यापारीमाथि अत्याचार र आफ्ना दूतमाथि आक्रमणको बदला लिन जङ्गबहादुरले साहसपूर्वक आक्रमणको नीति लिएर पाएको सफलतालाई पनि गौरवकै विषय मान्नुपर्छ। २४ मार्च १८५६ को नेपाल-भोट दसबुँदे सन्धि हेर्दा तत्कालीन शासकको कूटनीतिक कुशलता स्पष्ट हुन्छ, जसअनुसार साम्यवादी चीनको पकड हुनुअघिसम्म तिब्बतबाट नेपालले वार्षिक हर्जाना असुल गरिरहेको थियो। मैले जङ्गबहादुरको बढाइँचढाइ गर्न खोजेको होइन; नेपाली राजनेतालाई कुशल कूटनीति के हो भन्ने जानकारी दिने प्रयासस्वरुप चरम पछौटेपन, गरिबी, अशिक्षा र अविकासको त्यो अन्धकार युगमा पनि नेपालको राष्ट्रिय स्वाधीनता कसरी जोगिएको र प्रबर्द्धित भएको थियो भन्ने कुरा स्मरण गर्न खोजेको हुँ।
देशलाई अंशवण्डा लगाएर भोग गर्न उद्यत आजको नेपाली समाजको मनोविज्ञानले राष्ट्रिय एकताको इतिहास स्मरण गर्ने सुदूर र मध्यपश्चिमका जनताको प्रयासको कति सम्मान गर्छ अहिले नै भन्न सकिँदैन। तर, इतिहासको पहिचान नगर्ने वा अपव्याख्या गर्नेको भविष्य रहँदैन। जङ्गबहादुरका अरू जनविरोधी राजनीतिक क्रियाकलापका आवरणमा राष्ट्रको स्वतन्त्रता र स्वाभिमान जोगाउन र आकार बढाउन उनले गरेको योगदानको अवमूल्यन हुनसक्दैन। नेपालका आजका पढेलेखेका राजनेताहरूले औंठाछाप जङ्गबहादुरबाट 
धेरै पाठ सिक्न बाँकी छ।
(स्रोत: हिमाल खबर पत्रिका )
 

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *