Monday, April 14, 2014

क्षेत्रप्रताप अधिकारीको काजक्रिया नगरिने, छ वर्षअघि नै उनको शरीरदान

क्षेत्रप्रताप अधिकारीको काजक्रिया नगरिने, छ वर्षअघि नै उनको शरीरदान

साहित्यकार क्षेत्रप्रताप अधिकारीको पार्थिव शरीर उनको इच्छाअनुसार बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेज धरानमा लगिने भएको छ। आइतबार राति हृदयाघातका कारण मृत घोषित अधिकारीले चार वर्षअघि नै शरीर दानका लागि उक्त संस्थानसँग सहमति गरेका थिए। आफ्नो मृत्यु उपरान्त कुनै धार्मिक कर्मकाण्ड नगर्नसमेत छोराहरु अजर अधिकारी र अमन अधिकारीलाई स्पष्ट आदेश दिएकाले त्यसलाई सम्मान गर्दै कुनै काजक्रिया नगरिएको पारिवारिक स्रोतले जनाएको छ।
विगत केही वर्षयता स्वास्थ्यस्थिति खराब रहँदै आए पनि अधिकारी संस्थापक तथा अध्यक्ष रहँदै आएका नेपाल कलेज अफ म्यानेजमेन्ट धोबीघाटमा प्राय नियमित रुपमा जाने गर्थे। आफन्त र इच्छुक व्यक्तिहरुलाई अन्तिम श्रद्धाञ्जलीको अवसरस्वरुप उनको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि दुई घन्टाका लागि उक्त संस्थानको प्रांगणमा राखिने पनि परिवार सुत्रले जनाएको छ।
बिक्रम संवत १९९९ मा तनहुँमा जन्मेका अधिकारी कठीन संघर्ष र मेहनतको भरमा नेपाली साहित्यको आकाशमा चम्किला नक्षत्रका रुपमा स्थापित हुन पुगे। 'रहर लागेर'सहित आठ पुस्तकका रचयिता अधिकारीले 'म त लालिगुराँस भएछु' देखि नेपाली प्रकृति, माटो र पानीको सेरोफेरोमा रहेर अनेकौँ फुटकर गीत लेखेका छन्। स्वर्गीय नारायणगोपाल, रामकृष्ण ढकाल, कुन्ति मोक्तान, बच्चुकैलाशलगायत चर्चित गायकगायिकाहरुले उनको रचनालाई स्वरबद्ध गरेका छन्। 'माटो जोगाइराख, पानी जोगाइ राख, स्वाभिमानी नेपालीको बानी जोगाइराख'देखि 'प्यारा ए साथीसंगी, प्यारा ए बन्धु भाइ, सन्चो बिसन्चो के छ आमा नेपाललाई'जस्ता मार्मिक गीत उनले रचेका छन्।
बाल्यकालमा लाहुरे बन्न घर छाडे पनि बीच बाटोमा आएपछि मुग्लान पस्न मानेन उनको मन। नेपालको माटो छाड्न चाहेनन् र काठमाडौँ पसे, १६/१७ वर्षको उमेरमा। त्यही संघर्षमा भविष्यको अन्तर्मार्ग कोर्दै गए। पहिले गोरखापत्र बेचेर रत्नपार्कमा झ्याउरे गीत गाएर कमाएको पैसाले उनी नन्दी रात्रि माविको विद्यार्थी बन्न पुगे। भारतीय र बेलायती दूतावास नजिकका उज्याला सडकबत्तीमा बसेर अध्ययन अघि बढाए। त्योसँगै साझा बसको कण्डक्टर र पछि साझाको निर्देशक मण्डल, साझा प्रकाशनको अध्यक्ष हुँदै नेपाली इतिहास, संस्कृति र कुटनीतिक इतिहासलाई लिपिबद्ध गर्ने महत्वपूर्ण भूमिका खेले। 'योगी नरहरिनाथको सन्धिपत्रको इतिहास', 'मेचीमहाकाली पुस्तक श्रृंखला' अदि उनकै सक्रियताका परिणाम थिए। झन्डै ३६ सालदेखि एक दशक राजनीतिमा पनि बिताए। शिक्षा तथा संस्कृति सहायक मन्त्रीसम्मको पद हासिलसम्म गरे।
तर, उनको अन्धविश्वासविरुद्ध आत्मविश्वास र मान्यताबारे कमैलाई थाहा थियो। शरीरदानको निर्णय र काजक्रिया नगर्न छोराहरुलाई दिएको आदेश मृत्युपछि लोकले थाहा पाएको एउटा प्रमाण हो। 

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *