Monday, July 20, 2015

१८ हजार भूकम्पपीडितलाई एक महिनादेखि एउटै भान्सामा नि:शुल्क खाना खुवाउदै टाटा ट्रस्ट

काठमाडौं: भक्तपुरको सूर्यविनायकमा एउटा भान्छाघरले दैनिक १८ हजार भूकम्पपीडितलाई एक महिनादेखि निःशुल्क खाना खुवाउँदै आएको छ। भारतको प्रसिद्ध औद्योगिक घराना टाटा कम्पनीको टाटा ट्रस्टले एउटै भान्साघरबाट असार ४ गतेदेखि भक्तपुर, काठमाडौं र सिन्धुपाल्चोकका यी भूकम्पपीडितलाई दैनिक दुई छाक खाना खुवाउँदै आएको हो।
 
यति ठूलो संख्यालाई खाना पकाउन धेरै समय लाग्ने भएकाले टाटा ट्रस्टले भारतकै अर्को ठूलो समाजिक संस्था अक्षयपत्र फाउन्डेसनसँग सहकार्य गरेको छ । अक्षयपत्र फाउन्डेसनले स्टिम प्लान्टयुक्त भान्छाघर बनाइदिएको छ।
 
उक्त भान्छाघरमा १८ हजारका लागि दाल, भात र तीन प्रकारका तरकारी पकाउन जम्मा दुई घण्टा मात्रै लाग्छ। यही खाना ग्यासमा पकाउनुपर्दा ६ घण्टासम्म लाग्ने अक्षयपत्रका प्रोेसेस सेफ्टी तथा कार्यान्वयनसम्बन्धी वरिष्ठ म्यानेजर जे प्रविन सेट्टीले बताए।
 
उनका अनुसार स्टिम प्लान्टको सहयोगमा तयार पारिएको खाना पूर्ण रुपमा गुणस्तरयुक्त तथा पौष्टिकयुक्त हुन्छ। टाटा ट्रस्टका कार्यक्रम निर्देशक अरुण पाँधेले नेपालका भूकम्पपीडितलाई राहत उपलब्ध गराउने उद्देश्यले निःशुल्क रूपमा खाना खुवाइएको जानकारी दिए।
 
उनका अनुसार यस्तो खाना अझै चार महिनासम्म वितरण गरिनेछ। उनले ठूलो संख्यालाई लक्षित गरेर कम समयमा स्वच्छ खाना खुवाउन ठूलो चुनौती रहेको पनि बताए।समाजिक संस्था अक्षयपत्र फाउन्डेसनले भारतका १० राज्यका २४ स्थानमा १६ लाख बालबालिकालाई दैनिक रूपमा दिउँसोको खाना खुवाउँदै आएको छ। 
 
'दैनिक १८ हजारका लागि खाना पकाउने समस्या समाधान भए पनि हामीसामु अर्को समस्या आइपर्‍यो,' पाँधेले भने, 'पकाइएको खाना त्यति ठूलो संख्यामा रहेका सर्वसाधारणलाई कसरी वितरण गर्ने?  यसका लागि हामीले नेपालस्थित अर्को सामाजिक संस्था सिप्रेदियन सहायताको सहयोग लियौं।' 
 
काठमाडौंमा रहेको सिप्रदी कम्पनीको सामाजिक संस्था सिप्रेदियनको सहयोगमा तीन जिल्लाका भूकम्पपीडितलाई खाना वितरण हुँदै आएको छ। सिप्रदीका प्रमुख कार्यकारी अधिकृत शम्भु दाहालले भने, ‘टाटा ट्रस्ट र हाम्रो संस्थाको समन्वयमा भूकम्प पीडितहरूको सहायताका लागि सानो प्रयास गरेका हौं।' 
 
अक्षयपत्रका अर्का वरिष्ठ म्यानेजर महेश बाबुका अनुसार भक्तपुरको झौखेल, इनायो, ठूलो व्यासी, भाजु पोखरी, व्यासी, जेला, कमलविनायक, महेश्वरी, कमलविनायक, ब्रह्मायणी, बाराही, जनसेवा, बाटोचा, गरुण कुण्ड, छालिङ र काठमाडौंको बौद्ध तथा जगडोलस्थित १७ वटा अस्थायी शिविरमा खाना वितरण गरिँदै आएको छ। बौद्ध र जगडोलमा भूकम्पबाट विस्थापित भएका सिन्धुपाल्चोकका दुई हजार सर्वसाधारण बस्दै आएका छन्।
 
खाना पकाउनकै लागि भारतबाट दक्ष २५ जना, नेपालका ४५ जना र अन्य गरेर ९० जना कामदार खटिएको ट्रस्टका नेपाल प्रतिनिधि तामलाल पोखरेलले बताए। भात, दाल, तरकारी, खिरलगायत सबै खाद्य पदार्थ स्टिम प्लान्टकै सहयोगमा पाक्दै आएको छ। 
 
१८ हजार जनाका लागि एक दिनमा पाँच हजार किलो चामल, तीन हजार किलो दाल, अढाई हजार किलो तरकारी प्रयोग हुन्छ । तरकारी काट्ने काम पनि आधुुनिक कटिङ मेसिनबाटै हुन्छ।
 
पाँधेका अनुसार टाटा ट्रस्टले केही समयपछि सिन्धुपाल्चोक, दोलखा र गोरखा जिल्लाका भूकम्पपीडितका लागि खानेपानी, विद्यालय, स्वास्थ्य संस्थाका साथै भौतिक पूर्वाधार निर्माण गरिदिने अभियान पनि सुरु गर्न लागेको छ। 
 
'पहिलो चरणमा खानाको ठूलो समस्या भएकाले खाना उपलब्ध गराउने प्रयास गर्‍यौं,' ट्रस्टका प्रमुख ग्रान्ट व्यवस्थापक आशिष देशपाँडेले भने, ‘दोस्रो चरणमा अति आवश्यक भौतिक पूर्वाधार निर्माण गरिदिने अभियान सुरु गर्न लागेका छौं।'

Saturday, July 11, 2015

बाहुबली: 'लार्जर देन लाइफ'

अशेष अधिकारी, काठमाडौं


सय वर्ष लामो इतिहास बोकेको भारतीय फिल्म जगतमा एस.एस राजामौली एउटा 'जिनियस' हुन्। भारतीय फिल्म निर्माणमा आजको मितिमा कसैले 'लार्जर देन लाइफ'को परिभाषालाई कुनै भारतीय निर्देशकले बुझेको छ र उतारेको छ भने त्यो राजामौलीनै हुन्। हरेक निर्देशकको सपना आफ्नो फिल्मलाई 'लार्जर देन लाइफ' बनाउने हुन्छ। त्यो राजामौलीले गरेर देखाइदिएका छन्।
उनका फिल्मले, हालको मितिमा त्यो उपमाको एक मात्र हकदार उनी नै भएको पुष्टि गर्छ। शुक्रबार रिलिज भएको उनको पछिल्लो फिल्म 'बाहुबली, द बिगिनिङ्'ले उनलाई भारतीय फिल्मको 'स्ट्यान्डर्ड'लाई अन्तर्राष्ट्रिय मापदण्डमा खरो उतार्ने काम गरेको छ।
'बाहुबली' फिल्मले भारतीय सिनेमालाई नयाँ डाइमेन्सन दिन सफल छ। फिल्मले एउटा काल्पनिक राज्यको कथा भन्छ। फिल्मले हिन्दू संस्कृतिमा हजारौ वर्षदेखि जीवितै रहेको 'महाभारत' र 'रामायण'को कथालाई नयाँ स्वादमा पस्केको छ। फिल्ममा ती कथामा रहेका 'गुड एण्ड ब्याड'को द्वन्दलाई 'लार्जर देन लाइफ'को रुपमा पस्केको छ। पछिल्लो फिल्म 'मख्खी'मा एउटा झिंगाको बदलाको कथा रोचक ढगंले पस्केका राजामौलीले 'बाहुबली'मा मिथकीय कथा 'महाभारत'को कथालाई नयाँ कल्पनाको देशमा उतारेका छन्।
एउटा बालक बोकेर भाग्दै गरेकी रानीबाट फिल्मको कथा सुरू हुन्छ। बालकको हत्या गर्न पछाडि लागेका सैनिक झुण्डलाई माथ दिदैं रानीले आफ्नो ज्यान जोखिममा राख्दै बालकलाई बचाउँछे। त्यो बालक सामान्य हुँदैन। फिल्म अगाडि बढ्दै जाँदा बालक युवा हुन्छ र जून ठाँऊका  लागि ऊ हो, त्यहाँ पुग्दछ। फिल्मले बोकेको कथा यही हो।
फिल्म कथा राजमौलीले दर्शकलाई ध्यान अन्यत्र मोड्न नदिई भनेका छन्। फिल्ममा उनको कथानक शैली पहिलो हाफ केही सुस्त लागे पनि दोस्रो हाफ पछि दर्शकलाई हेरेको हेर्‍यै पार्छन्। फिल्मका एक्सन दृश्यले हलिउड फिल्मका दृश्य भुलाइदिन्छ। फिल्ममा नायक भन्दा खलनायक भयंकर लाग्छ। त्यस्ता खलनायकसँग नायकको भिडन्तलाई निर्देशकले रोचक ढंगले भनेका छन् जून निर्देशकको निर्देशकिय सुन्दरता हो।
मौलीको यो निर्देशकीय सुन्दरता पछिल्ला सिनेमामा झनझन परिस्कृत र बढेको देख्न सकिन्छ। फिल्मको विर्सन नसकिने अर्को पाटो भनेको फिल्ममा प्रयोग गरिएको कम्पूटर जेनेरेटेड इमेजरी (सिजिआइ) प्रविधि हो। फिल्मको सिजिआइ हलिउड स्तरको छ। निर्देशकले त्यसको मद्धतबाट आफ्नो निर्देशकिय कल्पनाको उडानलाई सर्वोत्कृष्ट ढंगले प्रस्तुत गरेका छन्। फिल्म हेरिरँदा दर्शकले 'वाह' भन्छन्। यसअघिका फिल्ममा पनि प्राविधिक प्रयोगमा एक कदम अगाडी रहँदै आएका राजामौली यसमा झन अगाडी देखिएका छन्।
फिल्ममा पात्र छनोट उस्तै सशक्त छ भने कलाकारहरुले पनि चरित्रलाई ठ्याक्कै उतारेका छन्।
झण्डै ३ सय करोड भारतीय रुपयाँको खर्चमा बनेको दुई भागको यस सिनेमाले दर्शकलाई अन्तयमा यस्तो मोडमा ल्याएर छोडिदिन्छ कि दर्शकलाई फिल्म सकिएपछि नै अर्को भाग हेर्न व्यग्र बनाइदिइसक्छ। अर्को भागको प्रतिक्षा दर्शकको हुटहुटी बनिसक्छ निर्देशकका लागि योभन्दा ठूलो सफलता के हुन सक्छ। करिब १५९ मिनेट लामो फिल्ममा राजामौलीले फिल्मलाई 'लार्जर देन लाइफ' बनाउन कुनै कसर बाँकि राखेका छैनन्।
फिल्म 'म्याग्नम ओपस' बन्न उद्धत देखिन्छ। फिल्मले आफ्नो अलग्गै स्थान स्थापित गरेको छ।
Source:Setopati

यस्तो छ भारत र चीन जोड्ने छोटो बाटो

सुवास कँडेल

कालीगण्डकी करिडोरको आशा




बागलुङ : नेपाल भएर भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग कालीगण्डकी करिडोर निर्माणले गति लिन थालेको छ।
 चीनको कोरलादेखि भारतको सुनौलीसम्म पुग्ने उक्त मार्ग निर्माणले नयाँ व्यापारिक रुट पहिचान हुनेछ। उत्तर-दक्षिण जोड्ने उक्त मार्ग अहिलेसम्मकै छोटो दूरी तीन सय ५३ किलोमिटरको हुनेछ।
 
उक्त मार्ग चीनको कोरला नाकासँग जोडिएपछि त्यहाँबाट मानसरोवरसम्म पुग्न करिब पौने तीन सय किलोमिटरमात्र दूरी पार गर्नुपर्ने हुनाले हिन्दुहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ हुँदै भगवान् शिवको तपोभूमि कैलाश मानसरोवरसम्मको धार्मिक पर्यटनको सम्भावना समेत यसले जोड्नेछ।
 
कालीगण्डकी नदीको किनारैकिनार जाने यो मार्गको अवधारणा १७ वर्षअघि सार्वजनिक भएको थियो। 
 
सरकारले २०६४ सालदेखि बागलुङ बजारमा कार्यालय स्थापना गरी निर्माण थालेको हो। हाल उक्त कार्यालय पाल्पामा सारिएको छ।
 
कालीगण्डकी करिडोर केन्द्रीय सरोकार समितिका प्रवक्ता टीकाराम ढकालले यो सडकबाट हिमालदेखि तराईसम्मका नौ जिल्लाका दुई सय ३१ गविसले प्रत्यक्ष फाइदा लिने बताए।
 
भारत र चीनका लागि पनि यो मार्ग छोटो पर्ने भएकाले व्यापारिक दृष्टिमा दुई मुलुकलाई समेत फाइदा पुग्ने ढकाल बताउँछन्। 'यो मार्गको पर्यायवाची नाम विविधता मार्ग भन्न सकिन्छ', ढकालले भने, ‘पर्यटन, जैविक खानी र जलस्रोतका लागि करिडोर विकासको ढोका हो।'
 
पर्यटन, जलविद्युत्, कृषि, धार्मिक सम्पदामार्फत स्थानीय र राज्यलाई नै दीर्घकालमा करिडोरले महत्‍वपूर्ण फाइदा पुर्‍याउनेछ। 
 
दुई वर्ष पहिले नै करिडोरको ट्र्याक खोल्ने कार्ययोजना भए पनि अझै २८ किलोमिटर ट्र्याक खोल्न बाँकी छ। 
 
करिडोरमा बागलुङखण्डको मालढुगादेखि गुल्मी-बागलुङको सिमाना पालुङखोलासम्मको ट्र्याक खोल्न बाँकी रहेको हो। 
 
निर्माण व्यवसायीले समयमा काम नगरेपछि उक्त खण्डको मालढुंगादेखि अमलाचौर गाविसको टाकुरीसम्मको १२ किलोमिटरमा हाल नेपाली सेनाले काम गरिरहेको छ।
 
ढकालका अनुसार यो मार्गको आसपासमा नेपालमा भएका प्रायः सबै संस्कृति र जातजातिको बसोवास छ। 'जलस्रोत, पर्यटन, जैविक विविधता र कृषि नै करिडोर निर्माणपछिका विकासका सूचक हुन्', ढकालले भने, ‘स्थानीयको जीवनस्तर उकास्न यो मार्ग कोसेढुगा साबित हुनेछ।'
 
कोरला नाकादेखि मुस्ताङको कागबेनीसम्म ९५ किमि, कागबेनीदेखि बागलुङसम्म ९५ किमि, बागलुङदेखि गुल्मीको रिडीसम्म ७० किमि, रिडीदेखि बुटवलसम्म ६८ किमि र बुटवलदेखि सुनौलीसम्म २५ किमि करिडोरअन्तर्गत पर्छ। 
 
योमध्ये तीन सय २५ किलोमिटरमा ट्र्याक खोली अहिले सवारी सञ्चालनमा छन्। कोरलादेखि १७ किलोमिटर उत्तर गएपछि चीनको पक्की सडकसँग यो मार्ग जोडिन्छ।
 
ढकालले चीनको कोरला नाका र भारतको सुनौली नाकालाई जोड्ने यो मार्गको पूर्ण सञ्चालनले तराईदेखि हिमालकै बहुआयामिक विकास हुने दाबी गरे। 
 
'करिडोर हुन व्यापारिक नाका मुख्य आधार हो', लामो समयदेखि यो सडक बनाउन क्रियाशील ढकालले भने, 'सामान्य नागरिकदेखि राज्य तहसम्म नै यो करिडोरले फाइदा पु्र्‍याउँछ।'
 
कालीगण्डकी करिडोर निर्माणले अल्पविकसित पहाडी जिल्लाहरूको तीव्र विकास गर्न सहयोग गर्ने उनले बताए।
 
सरकारले आयोजनालाई प्राथमिकतामा राखेको भए पनि पर्याप्त स्रोतसाधन नहुँदा करिडोर निर्माणमा ढिलाइ भएको ढकालको बुझाइ छ। 
 
उनले भने, ‘राज्यका नियम निर्माणव्यवसायीले नमान्दासमेत आयोजना प्रभावित भएको छ।'
 
आयोजनाका प्रमुख गुरूप्रसाद अधिकारीका अनुसार आर्थिक वर्ष ७५÷७६ सम्ममा करिडोरको अधिकांश भाग पिच गरिसक्ने योजना छ। 
 
'हामिले तीन वर्षमा गैंडाकोटदेखि रिडीसम्मको खण्ड पिच गर्नेछौं', उनले भने, ‘अरू क्षेत्रमा ट्र्याक खोली स्तरोन्नतिका काम सञ्चालन हुनेछन्।'
 
बागलुङखण्डको बाँकी २८ किलोमिटर ट्र्याक खुलेपछि उत्तर-दक्षिण सीधा यातायात सञ्चालन हुनेछ।
 
करिडोर निर्माण सम्पन्न गर्न हालको मूल्यमा २२ अर्ब ६२ करोड ३५ लाख रूपैयाँ लाग्ने आयोजनाले बनाएको प्रारम्भिक योजनामा उल्लेख छ।
 
सडक पूरा गर्न २५ वटा पुल निर्माण गर्नुपर्छ। ती पुल निर्माणका लागि विभागले सर्भे जारी राखेको जानकारी अधिकारीले दिए। 
 
करिडोरमा हालसम्म करिब २२ करोड रूपैयाँ खर्च भइसकेको पनि उनले बताए।
 
‘ग्रामीण क्षेत्रका सम्भावनाको विकास गर्न पनि करिडोर आवश्यक छ', अधिकारीले भने, ‘नयाँ सम्भावना खोजी गरी कृषिलाई आधुनिकीकरण गर्न सजिलो हुनेछ।' 
 
यो सडकमा पूर्व-पश्चिम जोड्ने मध्यपहाडी (पुष्पलाल) राजमार्ग पनि जोडिने हुँदा आर्थिक समृद्धिका लागि यो मार्ग उत्तम हुनेछ। 
 
यहाँका विभिन्न क्षेत्रमा रहेका फलामखानी, सिसाखानी र कालीगण्डकीकिनारमा पाइने सुुनबाट धेरै फाइदा लिन सकिने अधिकारीले बताए।
 
बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्तकुमार श्रेष्ठले व्यापारिक मार्गका रूपमा करिडोरलाई विकास गरी विभिन्न ठाउँमा बस्ती बसाइ बागलुङलाई व्यापारिक नाकाका रूपमा विकास गर्न सकिने बताए। 
 
'करिडोरको ट्रान्जिट प्वाइन्टका रूपमा यहाँ विकास गर्न सकिन्छ', श्रेष्ठले भने, 'उद्योगव्यवसाय सँगै आन्तरिक उत्पादनलाई बजारीकरण गर्न करिडोरले सहयोग गर्छ।'
 
जिल्लामा प्रशस्त धार्मिक सम्पदा भएकाले करिडोरमार्फत धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने श्रेष्ठ बताउँछन्।
 
सहरीकरण र बस्ती विकासको नयाँ गन्तव्य
निर्माणाधीन कालीगण्डकी करिडोरको अर्को फाइदा सहरीकरण र बस्ती विकासका लागि नयाँ गन्तव्य बन्‍नु हो। 
 
कालीगण्डकी किनारवारिपारि गरी १५ ठाउँमा नयाँ बस्तीको विकास गर्न सकिने सरोकारवालाहरू बताउँछन्। 
 
'अहिले सबै सुविधायुक्त र सुरक्षित बसाइको खोजीमा छन्', प्रवक्ता ढकालले भने, 'सुविधाका दृष्टिले नयाँ बस्तीहरू उत्तम हुनेछन्।
 
'ती बस्तीहरू व्यापार र उद्योगधन्धाका लागिसमेत उपयुक्त हुने उनी बताउँछन्।
 
‘करिडोर प्रभावित क्षेत्रका एक बस्तीमा दस हजार घरधुरी बसाउन सकिन्छ', उनले भने, ‘पहाडी र तराई क्षेत्रमा एक लाख ५० हजार धरधुरीलाई नयाँ बस्तीमा राख्न सकिन्छ।'
 
ढकालका अनुसार करिडोरअन्तर्गत बागलुङको बलेवा, अर्जेवाको सुम्सादेखि छिस्ती, पर्वतको फलेबास, बाच्छा, रानीपानी, बर्राचौर, गुल्मीको अर्वेणी, अस्लेवा, स्याङ्जाको मिर्मी, बिर्घा, चापाकोट, पाल्पाको रामपुर, अर्गली र नवलसरासीको गुग्लीङटारदेखि कुस्टारसम्म नयाँ बस्ती विकास गर्न सकिन्छ।
 
सहरीकरण र बस्ती विकासका लागि यी क्षेत्र भौतिक पूर्वाधारमा बलिया छन्।
 
सम्भावनामा जलस्रोत र पर्यटन
उत्तरदेखि दक्षिणसम्म नै कालीगण्डकीकिनारमा पर्ने उक्त करिडोरमा करिब २० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिनेछ। 
 
ऊर्जा इन्जिनियरहरूले कालीगण्डकी आसपासबाट उक्त परिमाणमा विद्युत् उत्पादनको सम्भाव्यता औंल्याएको करिडोर सरोकार समितिले जनाएको छ।
 
कालीगण्डकी करिडोरको अर्को फाइदा पर्यटन व्यवसाय फस्टाउनु हो। 
 
उत्तर-दक्षिण छोटो मार्ग पाएपछि सबै पर्यटकले यही मार्ग नै प्रयोग गर्नेछन्। 
 
विशेषगरी धार्मिक पर्यटकका लागि यो मार्ग उपयुक्त मार्ग बन्न सक्छ। 
 
कालीगण्डकीकको स्नानपछि यहाँ रहेका धार्मिक स्थलहरू पर्यटकले एकै दिनमा भ्रमण गरेर सक्नेछन्।
 
लुम्बिनी आएका पर्यटकलाई मुक्तिनाथ लैजान र मुक्तिनाथमा आएकालाई लुम्बिनी पुर्‍याउन यो मार्ग उपयुक्त विकल्प हो। 
 
हिन्दु र बौद्ध धर्मावलम्बीहरूले यो मार्गको प्रचुर उपयोग गर्न सक्नेछन्। 
 
करिडोरअन्तर्गत त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदरकुण्डजस्ता महत्‍वपूर्ण तीर्थस्थल पर्छन्। 
 
उक्त करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ वटा घाट छन्। कालीगण्डमीमा मात्र पाइने शालिग्राम दर्शनका लागिसमेत धार्मिक पर्यटक आउने ढकाल बताउँछन्। 
 
कोरलाबाट दुई सय ५७ किमि पार गरेपछि कैलाश मानसरोवर पुगिने भएकाले यो मार्ग धार्मिक पर्यटनका लागि उत्तम छ।

करोडौं कस्तूरी उपन्यास अंश : सपना

पहिले
सानो छँदा निदाएर होइन, ब्युँझिएरै सपना देख्थें ।
हाम्रो झुप्रो घर टाढाबाट हेर्दा खरको थुप्रोजस्तै देखिन्थ्यो । त्यस्तो घरमा तलो हुने कुरै भएन । घरको छानामा प्रशस्त घिरौंला, लौका, फर्सी फलेका थिए । कहिलेकाहीँ त लाग्थ्यो, कतै हाम्रो घरको छानोले नै नधान्ने पो हो कि ? फर्सी त छानै प्वाल पारेर धुरीबाट भित्र भान्छामा या ओछ्यानमा खस्ने पो हो कि ? आमाले भन्नुभयो- ‘छानामा गएर घिरौंला र फर्सी टिप् त बाबु ।’

बाँसको सानो भर्‍याङ चढेर म छानामा गएँ । आमाले फेरि भन्नुभयो- ‘बर्खाले गर्दा छानो गलेको छ, बिस्तारै टेक् है । नत्र छानामा प्वाल पर्छ !’
ठूलो मान्छे जाँदा छानोले धान्न सक्तैन भनेर आमाले म सानो मान्छेलाई पठाउनुभएको । म सानो मान्छेले पनि छानोमा बिस्तारै टेक्नुपर्ने भयो । आफ्नो तौललाई कसरी हलुङ्गो बनाएर छानोमा टेक्नुपर्छ भन्ने मलाई थाहा थियो ।
बाँसको भर्‍याङ चढेर त्यति सानो झुप्रो घरको छानो हुँदै धुरीमा पुग्दा पनि मलाई भर्‍याङ लगाएर पृथ्वीबाट चन्द्रमामा उक्लिरहेको भान भयो । लाग्यो, मैले चन्द्रमामा फलेका घिरौंला, फर्सी र लौकाहरु टिप्दै छु ।
धुरीबाट टाउको उठाएर यसो माथि हेरें, टाउकोमाथि बादल, आकाश र आकाशका परिवारबाहेक कोही थिएनन् । घाम, जून र ताराहरुजस्तै सपनाहरु पनि आकाशमै हुन्छन् जस्तो लाग्यो । ती सपनाहरुलाई बेलाबेलामा बादलले छोप्छ ।
पृथ्वी आकाशमा छ, मान्छे पृथ्वीमा । स्कुलका सरले भनेको सम्झें- ‘पृथ्वीको क्षेत्रफल एकाउन्न करोड बहत्तर हजार (५१,००,७२,०००) वर्ग किलोमिटर छ ।’ लाग्थ्यो, पृथ्वी विशाल छ तर मेरो सपनाको पृथ्वी, पृथ्वीभन्दा पनि विशाल छ । ब्यूँझिएरै देख्ने सपनामा पनि म आकाशजस्तै अनन्त आकाशको ओतमा मनको पृथ्वीको भ्रमण गरिरहेको हुन्थें ।
लाग्यो, यति सानो घरको धुरीमा चढ्दा त मैले यति ठूलाठूला सपना देखेको छु भने अझ हाम्रो गाउँको सबैभन्दा ठूलो र अग्लो सालको रूखमाथि टुप्पामा, अझ परपर देखिएका ती गगनचुम्बी पहाडका टुप्पामा, अझ सगरमाथाको टुप्पामा पुग्न सके कस्तो सपना देख्थें हुँला ? साँच्चै, चन्द्रमामा नै पुग्न सके झन् कस्तो सपना देख्थें हुँला ?
यो विशाल ब्रहृमाण्डको एउटा सानो ग्रह पृथ्वी, पृथ्वीको एउटा सानो देश नेपाल, नेपालको एउटा सानो जिल्ला चितवन, चितवनको एउटा सानो गाविस पार्वतीपुर, पार्वतीपुरको एउटा सानो गाउँ पश्चिम रङ्गीला, पश्चिम रङ्गीलाको एउटा सानो झुप्रो हाम्रो घर, त्यही घरको एउटा सानो मान्छे म । मलाई ब्रहृमाण्डले देख्छ कि देख्तैन होला ? देख्छ भने कत्रो देख्छ होला ?
यति सूक्ष्म अस्तित्व लिएर बाँचेको म ब्रहृमाण्ड जत्रै सपना देख्थें । आकाशका ताराहरुले मलाई आफूजत्रै देख्छन् होला जस्तो सोच्थें । लाग्थ्यो, यो ब्रहृमाण्डमा अणुबराबर सानो अस्तित्व भए पनि मेरो शक्ति अणुको जत्तिकै छ । किनभने, मसँग ननिदाई देख्ने सपना छ ।
अहिले
त्यो सपनाको आकाश, जहाँ मेरो जीवनका घाम, जून र ताराहरु थिए, जहाँ म आˆना रहरका जहाजहरु उडाउँथें, जहाँ कल्पनासागरबाट उडेको बाफ बादल बन्थ्यो र दुःखको मरूभूमिमा बर्सन्थ्यो । अहिले त्यो आकाश कहाँ गयो होला ? ती घाम, जून र ताराहरु कहाँ अस्ताए होलान् ? दुःखको मरूभूमिमा बर्सने वर्षा कहाँ गयो होला ?
आफूभित्र खुब खोजें । सपनाको आकाश अलिकति बाँकी बसेको रहेछ । आकाशको अर्को नाम अनन्त हो । तर मेरो कल्पनापुरको आकाश त साँघुरिएर एउटा घरको सिलिङजत्रै पो भएछ । घाम, जून र ताराहरु मधुरा बल्बजस्ता भएछन् । सायद यी कोइलाको पिण्ड हुने तयारीमा छन् । यति सानो सपनाको आकाशमा अब मेरा खिया लागेका रहरका जहाजहरु कसरी उड्लान् खै ?
जे भए पनि कल्पनापुर पुगेर एउटा उपन्यास लेख्नु थियो मलाई । त्यसैले सानै आकाश भए पनि एकपटक भावनाको जहाज सपनाको आकाशमा उडाएर कल्पनापुर जाने तयारी गरें ।
… … …
र यसरी गएँ ।

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *