Friday, June 20, 2014

अनि घर बनाउनुभो त?

सफर पोखरेल 
खाना खानुभो – भनेर कसैले सोधे, म जे हो त्यही भन्छु। खाइसकेको भए खाएँ भन्छु, नभए छैन भन्छु। धेरै मान्छेहरु भेट्छु जसलाई दिउँसो दुई बजे खाना खानुभो भनेर कसैले सोध्यो भने – “यतिबेलासम्म पनि नखाई बस्छ त कोही?” भनेर उल्टै प्रश्न गर्छन्। यस्ता धेरै उदाहरणहरु छन्। म बेलाबेलामा सोचमग्न हुन्छु, जे सोधेको हो त्यही प्रश्नको जवाफ नदिएर मान्छेहरु किन प्रतिप्रश्न गर्छन् होला! त्यसरी जवाफमा प्रतिप्रश्न गर्ने मेरो बानी छैन। लागेन पनि। असल हो या खराब, थाहा छैन। तर कति यस्ता प्रश्न हुन्छन् जुन प्रश्नका जवाफमा प्रश्नै तेर्स्याउन मन लाग्छ।
हिँड्दा हिँड्दै बाटैमा रोकेर “कस्तो डन्डिफोर आको अनुहारमा, केभाको?” भन्ने प्रश्नको करीब एक दशक सामना गरियो। अचेल अर्कै प्रश्नको सामना गर्दै हिँड्छु म। “अनि घर बनाउनुभो त? जग्गा त लिनुभाको होला नि? नढाँट्नुस् न।” यस्तै अनेक प्रश्नहरु। केही दिनअघि एकजना भाइलाई भेटेँ। केहीबेरमा उनले पनि सोधिहाले – दाइ घर बनाउनुभो त? मैले हाँस्दै “छैन यार” भनेर टार्न खोजेँ। अर्को प्रश्न – जग्गा त लिइसक्नुभाको होला नि, कता लिनुभो? छैन यार – मैले भनेँ।
यतिमै कुरा सकिन्छ जस्तो लागेको थियो, अर्को प्रश्न तेर्सिहाल्यो – लिने बिचार त गर्नुभाको होला नि? अब त धरै पाइएन। निकै चासो दिन थालेको देखेर म पनि सकारात्मक भएँ। किन ढाँट्नु। सत्य कुरा खोलिदिएँ। “अँ लिने विचार चाहिँ गरेको छु। अलि पैसा पुगिराको छैन। जम्मा पार्दैछु।” उनी झन् उत्साहित भए। मभन्दा बढि। हँसिलो अनुहार पार्दै सोधे – कुन ठाउँमा? कति आना? अनि कति भन्छ नि रेट्?” यस्तो लाग्दथ्यो, मानौ उनले कुनै गोप्य कुरा जान्न खोजिरहेका थिए। म रहस्य खोल्दै थिएँ। म पनि खुल्दै गएँ। किन ढाँट्नु कसैलाई! मैले भने – बुढानिलकण्ठतिर लिउँ कि भनेर सोचेको हो। पाँच आना जति छ। भाउ आठ लाख भन्छ। चालिस् जति पर्ने भो। मैले कुरो टुङ्ग्याइसकेको थिइन, उनले थपे – “लौ गज्जब। त्यता त पोलुशन् पनि अलि कम छ है।” मैले पनि मुस्काउँदै “अँ हो नि” को भावमा टाउको हल्लाएँ।
अब यति जानिसकेपछि त उनीसँग कुनै प्रश्न छैनन् कि त्यसबारेमा जस्तै लाग्दै मात्र के थियो, अर्को प्रश्न फ्याँकिहाले, “अनि कहिले किन्ने त? कति पैसा पुगेन?” यसको जवाफ मैले जे पनि दिन सक्थेँ। तर मैले पनि उनको इमान्दार प्रश्नको जवाफ इमान्दार भएरै दिने निधो गरेँ। ” अब… आठको दरले चालिस लाख पर्ने भो। किन्न त के, आँट्न पनि पैसा नै पुगेन” – मेरो जवाफ थियो। “कति पुगेन ? जुटाइहालिन्छ नि दाइ। अचेल त बैंकहरु पनि घरमै आइपुग्छन् लोन् दिन। सजिलै छ नि” – उनले प्रश्न र आशा दुवै तेर्स्याए। मैले मुख खोलेँ, “उनान्चालिस लाख पञ्चानब्बे हजार पुग्या छैन। बाँकी पैसा त मसँग छ। पाँच हजार त खातामै छ।” यति भनिसकेको मात्र के थिएँ, उनी मरीमरी हाँस्न पो थाले। मानौँ मैले ढाँट्दैछु उनलाई। वा मानौं मैले कुनै ठूलै गल्ति गरेँ, काठमान्डुमा जग्गा किन्न नसकेर। घर बनाउन नसकेर। मलाई अलि हतार छ है भनेर म त्यसदिन त्यहाँबाट उम्किएँ। तर त्यहि वा त्यहि आशयका प्रश्नहरुको सामना अचेल धेरै गर्नुपर्छ मैले। मलाई यस्ता प्रश्नहरुमा पनि प्रतिप्रश्न गर्न मन लाग्दैन। जसरी, “के भो, कस्तो डन्डिफोर आको?” भन्ने प्रश्नमा पनि मैले एक दशक कुनै प्रतिप्रश्न गरिन। कसैलाई पनि।
बेलाबेलामा मनमा विचार आउँछ। साँच्चै, मैले काठमान्डुमा घर बनाउन नसकेकै हो त? अनि अर्को प्रश्न पनि आउँछ, सँगै। मजस्तो एउटा सामान्य ‘भूईंमान्छे’ले एक करोड रुपैयाँ कहिले जम्मा पार्छ र घर बनाउँछ काठमान्डुमा? यता बस्न लागेको साढे एक दशक जति भयो। पहिले पढाई यता थियो। अहिले जागिर यता छ। अनि यतै छु म पनि। तर भोलि पोखरा गइएला रे। विराटनगरतिर पसिएला रे, रोजगारी खोज्दै। त्यहाँ पनि घर बनाउनु? एउटा मान्छेलाई कतिवटा घर चाहिन्छ बस्नलाई वा ओत लाग्नलाई ? जसको काठमान्डुमा घर छैन ती मान्छे सडकमै सुत्छन् त सबै? यस्ता प्रश्न आफैलाई सोधिरहन्छु म। किन आवश्यक छ घर? बस्नलाई। बसेकै त छु म पनि। तर बारम्बार अचेल किन एउटै प्रश्नको सामना गरिरहन्छु म? जवाफ छैन मसँग। फेरि घरै नभाको मान्छे पनि त हैन म। नागरिकता प्रमाणपत्रमा स्थायी ठेगाना उल्लेख छ भने घर पनि त छ एउटा।
अनुत्पादक क्षेत्रमा लगानी गर्नु हुन्न भनेर विश्वास गर्ने मान्छे हुँ म। काठमान्डुमा एउटा घर बनाउन जग्गा समेत गरेर आँटिहालियो भने पनि कम्तिमा पनि सत्तरी लाख रुपैयाँ लाग्ने मेरो अनुमानले देखाउँछ। उमेरले तीस काटियो। बढीमा अब तीस बाँकी। अहिले महिनाको दश हजार जतिमा राम्रै सुविधाको घरमा बसेको छु। ‘राम्रै’का परिभाषा अनेक होलान्। जे होस्, मलाई पुग्ने आधारभुत सुविधा भएको घरमा बसेको छु। अँ, त्यो हिसाबले वर्षको एक लाख बीस हजार भयो। तीस वर्षमा अहिलेको हिसाबले छत्तीस लाख रुपैयाँ भयो। त्यो पनि मासिक किस्तामा बुझाए पुग्ने। घर बनाउन लाग्ने सत्तरी लाखमा चौँतिस लाख त चोख्खो बच्यो। जुन मसँग अहिले छँदा पनि छैन। भए बरु म कुनै ब्यापार ब्यावसाय गर्थेँ होला, घर बनाएर खर्च गर्ने थिइन। अनुत्पादक खर्च लाग्छ मलाई त्यो। भाडा आउँछ नि पनि भन्नेहरु होलान्। तर सत्तरी लाख रुपैयाँ फिर्ता उठाउन कम्ता समय र सास्तीले पनि त पुग्दैन नि।
आफूसँग नभएका कुरामा टाउको दुखाउनुभन्दा आफूसँग जे छ त्यसमा खुशी भएर बाँच्नुपर्छ भनेर सानोछँदा गुरुआमाले सिकाउनुभाको मैले अझै बिर्सेको छैन। मान्छेलाई आवश्यकताका कुराले कहिल्यै पुग्दैन। पैदल हिँड्दा साइकल, साइकल भए बाइक, बाइक भए कार। कार भए अलि राम्रो कार। महँगो कार। ठूलो कार। यसरी आवश्यकता र रहरहरु बढ्दै जान्छन्। थपिँदै जान्छन्। बिल गेट्स्‌लाई पनि हरेक दिन अझै धनी हुन मन लाग्छ भने अरुको त के कुरा। म आफैँलाई सम्झाइरहन्छु बेलाबेलामा। तर बीच बाटैमा पनि प्रश्न आउन छोड्दैन। “अनि घर बनाउनुभो त?
Source:Setopati.com

No comments:

Post a Comment

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *