Tuesday, November 27, 2018

के छ सामाजिक सुरक्षा योजनामा ? (पूर्ण विवरण सहित)

सामाजिक सुरक्षा अन्तरगत सरकारले सुरुमा चारवटा मात्र स्किम ल्याएको छ । मातृत्व कार्यक्रम अन्तरगत महिला श्रमिक गर्भवती भएमा निश्चित रकम पाउनेछन् भने जटिलखालको उपचार गर्नुपर्ने भएमा त्यसअनुसार थप सुविधा पाउनेछन् । प्रसुतीका क्रममा मृत्यु भएमा परिवारलाई निश्चित रकम दिइनेछ ।
अर्को बेरोजगारी भत्ता छ । यस्तो भत्ता सबै वेरोजगारहरुलाई दिइने भने छैन । सरकारी अधिकारीहरुका अनुसार सामाजिक सुरक्षा योजनामा आवद्ध भएका मजदुर कुनै कारणले बेरोजगार भएमा निश्चित अवधिसम्म जीवन निर्वाह भत्ताका रुपमा यो रकम दिइनेछ । आवश्यकताअनुसार तालिम पनिहुनसक्छ ।
अर्को पेन्सन योजना पनि छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध भएको मजदुरले उमेरका कारण अवकास पायो भने उसले पेन्सन पाउनेछ । उसमा सिधै उपदान लिने पा मासिक पेन्सन लिने भन्ने विकल्प हुनेछ ।
चौथो स्किम आश्रित परिवारलाई छ, जसमा मजदुरको आश्रित परिवारको शिक्षा, स्वास्थ्यमा मदत गरिनेछ ।
सरकारको योगदान के ?
धेरैको प्रश्न छ, मजदुर र रोजगारदाताले मात्र रकम तिर्ने रहेछ । सरकारको कुनै योगदान छैन ?
सामाजिक सुरक्षा कोषका अधिकारीहरुका अनुसार मजदुर र रोजगारदाताले जम्मा गर्ने रकमबाट औषधि उपचार लगायतका सामाजिक सुरक्षामा जति स्किम ल्याइएको छ, त्यसलाई पुग्दैन । अपुग भएको जति रकम हुन्छ, त्यो सरकारले व्यहोर्नेछ ।
हरेक आर्थिक वर्षको चैतभित्र कोषले अपुग रकम सरकारसँग माग गर्छ र बजेटमा सरकारले अनुदानका रुपमा दिन्छ ।
सफलता श्रमिक र रोजगारदातामै निर्भर
यो योजनामा मुख्य योगदान रोजगारदाता र श्रमिककै धेरै छ र लाभान्भित पनि श्रमिक नै हुन्छन् ।
नेपालको श्रम बजार अझै पनि तरल नै छ । अनौपचारिक श्रम बजारको वास्तविक तथ्य सरकारसँग छैन । त्यसैले यो योजनालाई सफल बनाउने हो भने उद्योग व्यवसायी एवं रोजगारदाताहरुको इमान्दारिता पहिलो शर्त हो । ‘हरेक रोजगारदाताले इमान्दारिता देखाउनुपर्नेछ भने श्रमिकले पनि सुविधा मात्र खोज्ने होइन, आफ्नो कर्तव्य पनि सम्झिनुपर्छ’ कोषका एक अधिकारीले अनलाइनखबरसँग भनेका छन्, ‘सरकारले त सहजिकरण मात्र गर्ने हो ।’
साथै सरकारले पनि रोजगारदातालाई समाजिक सुरक्षा योजना लागू गर भनिरहँदा उद्योग क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न तदारुकता देखाउन जरुरी छ ।
यस्तो छ सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको पूर्णपाठ

Thursday, November 22, 2018

दर्लम महाकालीको भगवती रथयात्राबारे

नेत्र गैरे

यस्तो छ रोचक किंवदन्ती

दर्लममहाकाली भगवती मन्दिर बगनासकाली-५ दर्लमडाँडा पाल्पामा आज अर्थात् बुधबार दर्लम महाकाली भगवतीको रथयात्रा निकालिँदैछ । रथयात्रा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ङणराज गैरेले बताए । दर्लमडाँडा निवासी स्व.पदमपाणी गैरेका पूर्वज कुलानन्द तारापतिहरुले बि.सं.१९३० देखि सोही ठाउँमा महाकाली भगवतीको नित्य पूजा गर्दै आएका थिए ।
स्व.पदम्पाणी गैरेले वि.सं. १९९० देखि श्री दर्लममहाकाली भगवतीको सानो मन्दिर निर्माण गरी माटोको मूर्ति बनाई पूजाआजा सुरु गरेका थिए । हाल यो मन्दिर मनकामना मन्दिरको शैलीमा निर्माण गरिएको छ । हाल यो मन्दिर तामाको छानो र गजुरसहित प्यागोडा शैलीमा रहेको छ । मन्दिरकोे दक्षिणतर्फ सुन झाँक्री र चण्डीमाइको थान साथै पूर्वतर्फ महाकालीको उत्पत्ति स्थल रहेका छन् ।
दर्लम महाकालीको किंवदन्ती
यहाँको ऐतिहासिक किवंदन्तीका कारण पनि यहाँ धार्मिक पर्यटकहरु बढी आकर्षित हुने गरेका छन् । किवंदन्तीअनुसार वि.सं.२०१० साल कार्तिक शुक्ल त्रयोदशीको दिन राति सपनामा दर्लमका पदम्पाणी गैरे र छिमेकी गाउँ मलेङका ज्यो. हुमकान्त बस्याललाई महाकालीले आकाशवाणीको रुपमा मैले यस ठाउँमा, यस समयमा (बिहान ब्रम्ह मुहूर्तको समयमा) शिलाको रुपमा दर्शन दिनेछु र म सोही शिलामा विराजमान हुनेछु । अब उप्रान्त माटोको मूर्तिमा पूजा नगरी सोही शिला ल्याई नित्य पूजा अर्चना गर्नु भनि आकाशवाणीको रुपमा दिक्ष दिइन् ।
दुवै जनाले एउटै समयमा पाएको दिक्षमा महाकालीको विराट मूर्तिको दर्शन पाएकोले हालको मन्दिर भन्दा दुई सय मिटर पूर्वको सपाङ्गदी भन्ने स्थानबाट सपनामा बताएअनुसार दुवै जनालाई मैले शिलाको रुपमा दर्शन दिनेछु भनी बिहान ब्रह्म मुहूर्तमा यस ठाउँमा जानू भनेअनुसार पदम्पाणी गैरेले पूजाको सामाग्री थालीमा लिई सोही ठाउँमा पानीको कुवा नजिकै उभिएर बसेका थिए । जव ब्रह्म मुहूर्तको समय नजिकै आएको रहेछ र उनको मनमा आखिर सपना हो भन्ने भ्रम भएछ जब पानी घडीको आधारमा ब्रह्म मुहूर्तको समय भएको थाहा भयो 
तत्काल जमिनको एक हिस्सा भत्किएर उत्तरतर्फको पानीको कुँवामा माटो झ¥यो र माता महाकालीको मूर्ति शिलाको रुपमा प्रार्दुभाव भयो र सबै गाउँलेहरु मिलेर पालै पालो शिलाको दर्शन गरि त्यस स्थानबाट शिलारुपी माता महाकालीलाई उठाई पानी कुँवाको डिलमा सुताई धोई पखाली गर्दा गर्दै अर्का भक्त खानीछाप मलेङ निवासी ज्योतिष हुमकान्त बस्याल पनि सोही ठाउँमा आइपुगे । बस्यालले पनि आफ्नो सपनाबारे सुनाए । महाकालीको दीक्षअनुसार आफू त्यहाँ आइपुगेको बताएपछि दुवै जनालाई सपनीमा एउटै दिक्ष मिलेको प्रमाणित भयो । यसरी भेटिएको मूर्ति पखाल्ने क्रममा मुर्तिमा राखिएको पानी तत्कालै सुक्यो । यो क्रम केही बेरसम्म चल्यो । त्यसैक्रममा स्थानीय एक जना भट्टराई थरका पण्डितले यसरी पानी खन्याइरहँदा माताको अपमान हुने हुँदा पानी नखन्याउन सल्लाह दिए । सोही क्रममा मूर्तिको पूजाआजा गर्दै पहिलो पटक दर्शन पाउने पदम्पानीकै नेतृत्वमा माताजीलाई खाटमा राखेर अविर सिन्दुर चढाउँदैसानो पुरानो मन्दिरमा भित्र्याइएको थियो । जसअनुसार नित्य पञ्चायन पूजा, रुद्राभिषेक, हवन र महाकालीको पूजाअर्चना निरन्तर चलिरहेको छ ।
माता महाकालीको साक्षात्कारको अवस्था माता महाकालीले २०४८ साल कार्तिक २२ गते राति २ बजेदेखि बिहान ५ बजेसम्म बुटवल उपमहानगरपालिका अन्र्तगत भाडामा कोठा लिई बसेको अवस्थामा पदमपाणि गैरेका छोरा ठूल्कान्छा भनेर चिनिने ङणराज गैरेलाई प्रत्यक्षरुपमा माता महाकालीले बिराट रुपको दर्शन दिइन् । महालकालीले दीक्ष दिइन्, तँ मनकामना भन्ने ठाऊँमा गएको छैनस्– त्यहाँ जा । त्यहाँ पनि मै हुँ म त्यहाँ सानो रुपमा छु । म यहाँ विराट रुपमा छु । मनकामना भन्ने ठाउँको मन्दिर मलाई ज्यादै पसन्न छ  र यहाँ पनि सोहीअनुरुपको मन्दिर बना । मन्दिर निर्माणका लगि तिमीहरुको ७६ जना सदस्यहरु बस्ने गरेको कूल घरलाई भत्काएर जमिन ठिक ठाक पारेर पुरानो मन्दिरसमेत समेटिने गरी मन्दिर निर्माणको काम गर्नु भनी अराएअनुसार मनकामना मन्दिरकै आकारमा प्यागोडा शैलीमा मन्दिर निर्माण गरी तामाको छाना राखिएको छ । माताले मन्दिर बनाउँदा मूलद्धार पूर्वतर्फ  र सहायक द्वार दक्षिणतर्फ राख्नु भनि दिक्ष दिएकी थिइन्  भने मन्दिरको उचाइको २/३ उचाइ भएको त्रिशुल पूर्वतर्फ राख्न अह्राएकी थिइन् । मूल ढोका र दक्षिण ढोकाको अगाडि दायाँबायाँ ठूलाठूला घण्ट राख्न र भक्तजनले चढाएका साना घण्टहरु मिलाएर राख्न माताले अह्राएको ङणराज गैरेले बताए । पञ्च पञ्चायन तथा गौरी शंकर शिव पाञ्चायन लाई भुवनेश्वरी मन्दिर तथा भजनकीर्तन सत्तल निर्माण गरी स्थापना गरिएको छ ।
दर्लम महाकाली भगवती मन्दिरको महत्वलाई हृदयंगम गरी त्यतिबेलाको मन्दिर क्षेत्रलाई बिस्तार गरी गोरखा मनकामना भगवती मन्दिरको आकारमा वि. सं. २०५३ साल आश्विन महिनाको महा नवमीको पूण्य तिथीको अवसरमा ५८ वर्ष सम्म माता महाकालीको पूजा गर्दै आएका पूजारी पुरुषोत्तम गैरेको करकमलबाट शिलन्यासको काम गरिएको थियो । त्यसै गरी २०७३÷०७४ सालमा निजकै छोरा थर्कराज गैरेको बारीको बिच भागबाट मन्दिरदेखि माताको शिला उत्पत्ति स्थल सपांगदीसम्म पक्की बाटो निर्माण गरिएको छ । हाल बनेको महाकाली भगवतीको मन्दिर तीन तलाको बनेको छ । एक तलाको बरण्डा माथि पक्की ढलान छ भने दुई तलाका छाना प्यागोडा शैलीमा तामाको छानाले छाइएको छ । मन्दिर परिसरमा गुरुयोजना अनुरुप भुवनेश्वरी मन्दिर, भजन कीर्तन सत्तलसहितको शिवालय र होमकुण्ड र पुरानो मन्दिरको जीर्णेद्धार पुरातत्व विभागको सल्लाहअनुसार गरिएको छ । मूल मन्दिरको पूर्वतर्फ दुईतले नौ कोठे भवन निर्माण कार्य निर्माणाधीन अवस्थामा छ भने मन्दिर परिसरको गेट बनिसकेको र झाँक्रीस्थानको चौपारी निर मूल प्रवेश द्वार विशेष रुपमा बनेको छ । यो मन्दिर जिल्ला प्रशासन कार्यालय पाल्पा बाट २०५८ कार्तिक १६ गते दर्ता नं. ५०४ मा दर्ता भएको छ । मन्दिर परिसर हाल १२–०५–३–० क्षेत्रफल भएको लालपूर्जा प्राप्त जमिनमा रहेको छ भने कि. नं. १४९ को ६–०–२–३ क्षेत्रफलको पल्लोबारी पनि मन्दिरकै नाममा समावेस रहेको छ  । मन्दिरको नाममा १८ रोपनी ६ आना, १ दाम ३ पैसा क्षेत्रफलमा फैलिएको जग्गा रहेको छ । उक्त जग्गा पदम्पानीका आठ भाइ छोराहरुले अंशबन्डा गर्नु अघि उक्त सबै जग्गा माताको नाममा छुट्याएका थिए ।
मूल मन्दिरको पूर्वतर्फको नौ कोठे भवनको माथिल्लो  तलामा रेलिङसहितको भवन निर्माण गर्ने, सामुदायिक भवन, वेद विद्यालय, मन्दिर परिसरमा ढुङ्गा छाप्ने, पानी टंकी र भ्यू टावर निर्माण, गणेश र लक्ष्मी नारायणको मन्दिर साथै धर्मशाला निर्माणका काम क्रमशः अगाडि बढाउने गुरुयोजना रहेको छ । यसका लागि नेपाल सरकार, पुरातत्व विभाग, जिल्ला समन्वय समिति सहित गाउँपालिका लगायतसित समन्वय गर्ने योजना रहेको अध्यक्ष ङणराज गैरेले बताए ।
वि. सं. २०६९ माघ २ गतेदेखि ८ गतेसम्म मन्दिरलाई आर्थिक सहयोग पु¥याउने उद्धेश्यले तत्कालीन छिमेकी गाविसहरु तथा अन्य संघसंस्थाहरुको सहभागितामा पं. भिमकान्त पन्थी प्रमुख वाचकको रुपमा रहेको महायज्ञबाट संकलन भएको ४५ लाख रुपियाँमध्ये बचत रकमबाट मन्दिरको तामाको पाताले मूल छानो छाउने काम सम्पन्न भएको छ । तत्कालीन गाउँ विकास समिति, जिल्ला विकास समिति, भौतिक तथा भवन निर्माण कार्यालयबाट प्राप्त सहयोग, संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्राप्त निरन्तर सहयोग रहेको छ ।  स्थानीय तथा बाह्य भक्तजनहरुबाट प्राप्त नगद तथा जिन्सी सहयोगबाट मन्दिर निर्माण तथा पूजा सञ्चालनमा सहयोग पुगेको छ ।
मन्दिरमा गरिने नित्य वार्षिक कार्यक्रमहरु यस दर्लम महाकाली भगवती मन्दिरमा दैनिक पूजा, पाठ परायणका साथै वार्षिकरुपमा मन्दिरमा थप धार्मिक कार्यहरु हुँदै आएको छ । जसअनुसार प्रत्येक वर्ष माता महाकालीको उत्पत्ति भएको दिन हरेक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन बाजागाजा, भजन कीर्तनसहित माता महाकालीको रथ यात्रा गराउने प्रचलन रही आएको छ । शिवरात्रीमा रुद्राभिषेकसहित भजन किर्तन, चैते दशैमा नित्य नवदुर्गा
पूजा, परम्परागत सप्तशती चण्डीको विधानअनुसार र माता महाकालीको सत्तप्रमोधको विधानअनुसारको पूजा गर्ने गरिन्छ । यस्तै गरी श्री कृष्ण जन्माष्टमीमा श्री कृष्ण जन्मोत्सव, श्रावण महीनामा बोलबमको जल चढाउने कार्यक्रमका साथै नव दुर्गामा बडादशैँ पूजा गर्ने गरिन्छ । यी समयमा अरु बेला भन्दा यहाँ दशनार्थीहरुको भिड लाग्ने गर्दछ । कुनै शुभकार्यका लागि महाकालीसँग भाकल गर्ने र भाकल पूरा भएपछि रोट, बली वा पञ्चवली लैजाने प्रचलनसमेत रहेको छ । महाकाली मन्दिरको गुरु योजनाअनुसार हाल मुल मन्दिरको निर्माण कार्य सम्पन्न भइसकेको छ भने भुवनेश्वरी मन्दिर, होम कुण्ड, मूल गेटको काम भइरहेको मन्दिर संरक्षण समितिका सचिव पिताम्वर शर्माले बताए । भगवती माताको आशीर्वादले आफ्ना मनोकांक्षा पूरा भएको कालीभक्त हुमप्रसाद गैरेको अनुभव छ ।








Wednesday, November 14, 2018

मधुमेहलाई सामान्य नसोच्नुस्, ‘एकपछि अर्काे दुःखले घेर्दै–घेर्दै लैजान्छ’

काठमाडौँ । आज विश्व मधुमेह दिवस । बर्सेनि यसरी दिवस मनाइरहँदा रोगीको सङ्ख्या पनि बढ्दै गइरहेको चिकित्सकहरूको भनाइ छ । पहिला ४० कटेपछि लाग्ने मधुमेह अहिले बालबालिका, युवा उमेरमा पनि देखिन थालेको छ । मधुमेह यस्तो रोग हो, लागेपछि शरीरमा विस्तारै अन्य रोगहरू सहजै लाग्न सक्छ । यो रोग लागेको व्यक्तिलाई आँखा, किड्नी, यौन दुर्बलता, डिप्रेसन, गिजाको रोग, खुट्टा नै काट्नुपर्ने अवस्थासम्म हुनसक्छ ।
पछिल्लो समय हामी धेरैजना मधुमेहको शिकार बनिरहेका छौँ । हाम्रो आधुनिक जीवनशैली र बदलिँदो खानपानले यसलाई बल पुर्याइरहेको छ । कुल जनसङ्ख्याको ८ प्रतिशत नागरिकमा मधुमेह भएको अनुमानित तथ्याङ्क सार्वजनिक भएका छन् । 
मधुमेह दिवसको अवसरमा मधुमेह विशेषज्ञ डाक्टर ज्योती भट्टराईले मधुमेह रोग, यसको रोकथाम, उपचार र सावधानीका बारेमा जानकारी गराएकी छिन् । 
मधुमेह कस्तो रोग हो ? 
साधारण भाषामा बुझ्नुपर्दा रगतमा गुलियोपन अर्थात सुगरको मात्रा बढी भएपछि देखिने रोगलाई मधुमेह (चिनीरोग) अर्थात् डायबिटिज भनिन्छ । रगतमा गुलियोपन बढी हुनुको मुख्य कारण हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । कुनै कारणले त्यसको अभाव हुन गयो भने वा इन्सुलिनको अल्छिपना देखियो भने वा इन्सुलिन घट्दै गएमा रगतमा गुलियोपना अर्थात सुगरको मात्रा बढ्छ र मधुमेह रोग देखिन्छ ।
कुल रोगीमध्ये ५० प्रतिशतलाई मधुमेह भएको नै थाहा हुँदैन । थाहा भएकामध्ये पनि ५० प्रतिशतलाई यो रोगको लक्षण नै देखिँदैन । अनि बिरामीले मलाई केही भएको छैन, म किन उपचार गर्नु भन्नुहुन्छ । बिस्तारै अन्धोपन, किड्नी फेल भएरपछि मात्रै मधुमेहबाट यस्तो भएको हो भन्ने बल्ल थाहा हुन्छ । त्यो बेला धेरै ढिला भइसकेको हुन्छ । 
यो रोगलाई धेरैले चिनीरोग भन्ने गर्छन् । चिनीरोगको बारेमा जनचेतना जगाउन निकै ढिला भइसकेको छ । हामी धेरै नेपाली यो रोगको सिकार भइसकेको छौँ भने धेरैको ज्यान गइसकेको छ ।
पहिलाभन्दा केही हदसम्म स्वास्थ्य क्षेत्रको बारेमा सरकार अलि सचेत भएको छ । तथ्याङ्क नै नभए पनि अस्पतालमा भर्ना हुने ५० प्रतिशत बिरामीमा चिनीरोग देखिएको छ । 
पहिला–पहिला हामीमा अनिकाल थियो, खाना पुग्दैन थियो, अहिले खाना पुग्छ तर खानाको ज्ञान भएन । खाना खाए अनुसारको परिश्रम भएन । पार्टी भोजहरूको धेरै चलन आयो । म के भन्छु भने चिनीरोग अर्थात मधुमेह विकाससँगै आउने प्रतिफल हो । 
कोको, फ्यान्टा बिष हो 
पछिल्लो समय बढी मात्रामा चिसो पेयपदार्थ प्रयोग गर्ने धेरै छन् । पेयपदार्थ मानिसका लागि विष जस्तै हो । विषले जसरी एकै पटक नमारे पनि यस्ता बजारमा आएका विभिन्न प्रकारका पेयपदार्थले हाम्रो शरीरमा विभिन्न प्रकारका रोग लाग्छ र अन्त्यमा बिस्तारै बिस्तारै मृत्युको मुखमा पु¥याउँछ । गाउँगाउँसम्म पनि फ्याक्ट्रीबाट बनेको रेडिमेड खानेकुराले धेरै बजार पाउन थालेको छ । 
यस्ता खानेकुरा मानव स्वास्थ्यका लागि निकै हानिकारक छन् । ४० कटेपछि देखिने मुधुमेह नेपालमा युवा वर्गहरूमा पनि देखिन थालेको छ । बालबालिकालाई पनि यस्तो समस्या हुन्छ । 
विद्यालयमा अध्ययन गर्ने मोटा बालबालिकालाई भोलि मधुमेहको समस्या नहोला भन्न सकिन्न । १० वर्ष पहिलाको कुरा गर्ने हो भने ४० वर्षपछिको उमेर समूहमा मधुमेहरोग बढी देखिन्थ्यो भने अहिले २० वर्षमा नै मधुमेह देखिन थालेको छ । त्यो व्यक्तिले २० वर्षपछि कस्तो भयावह अवस्था सहनुपर्ला ?  त्यसैले रोगथामको लागि पोलिसी लेबलमा सरकारले गर्न सक्ने काम र परिवर्तनको विषयलाई सबैले जानकारी गराउन जरुरी छ । जसको लागि १, २ र ३ गरेर म तपाईंलाई जानकारी गराउँन चाहान्छु् । 
१. विद्यालयमा बालबालिकालाई नसर्ने रोगको बारेमा अध्ययन गराउन जरुरी छ । 
२. गाउँघरमा जग्गा भएको ठाउँमा बालबालिकालाई प्राङ्गारिक खेतीमा आबद्ध गराउनुपर्याे । 
३. स्कुलको हाताभित्र चाउचाउ, कोक, फ्यान्टा, जुस बेच्न नपाइने नियम बनाउनुपर्छ । 
यस्तै; सुगरको पनि चुरोटको जस्तै ट्याक्स लिनुपर्ने बेला आइसकेको छ । चिनीको मात्रा धेरै भएका कोक, फ्यान्टा, जुसले समाजमा व्यापकता पाइसक्यो । यो नै विष हो भनेर पनि विभिन्न अनुसन्धानले पत्ता लगाएको छ । जसका लागि हरेक अस्पतालमा पोषण शिक्षिका अर्थात शिक्षक हुनुपर्याे । रोकथाम मूलक कार्यक्रम हुनुपर्याे । सरकारले किड्नी फेर्न, डायलासिसका लागि पनि निःशुल्क व्यवस्था गरिरहेको छ । तर निःशुल्क गर्नुपर्ने र सिकाउनु पर्ने भनेको प्रेसर र सुगरको औषधि फ्री हुनुपर्छ । फ्री मात्रै होइन, सरकारले पहुँच पनि पु¥याउनुप¥यो, ताकि गाउँ–गाउँमा नसक्ने मान्छेले फ्रीमा औषधि पाओस । 
यी दुई रोगका औषधि नियमित खानाले एक हजारभन्दा कम पैसामा मासिक उपचार गर्न सकिन्छ  । तर जब रोग वृद्धि भएर किड्नी फेल र अन्धोपनमा पुगिन्छ, तब तपाईलाई मासिक २५ हजारले पनि पुग्दैन ।
हाम्रो प्रधानमन्त्रीज्यू पनि किड्नीको बिरामी हुनुहुन्छ भनेपछि, त्यो आम जनतालाई उपचारको खर्च कति पर्छ ? त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ । त्यो अवस्थासम्म नपुग्नका लागि मुहानमै यस्ता रोगलाई रोक्नका लागि सानै उमेरदेखि घरपरिवारमा सबैले जानकारी गराउन जरुरी  छ । इन्टरनेसनल डायबिटिज महासङ्घको यो वर्षको थिम ‘परिवारदेखि नैै सुरु गरौँ’ भन्ने रहेको छ । 
मधुमेहले निम्त्याउने समस्या 
मधुमेहले शरीरको अङ्ग–अङ्गलाई क्षति गर्छ । यौनदुर्बलता, डिप्रेसन, तनाव, गिजाको रोज, अन्धोपन, पक्षघात, मुटुरोग, किड्नीमा समस्या मधुमेहकै कारणले हुन्छ । मधुमेहकै कारणले किड्नी फेल भएका धेरै नेपालीहरू छन् । त्यसैले मधुमेह सकेसम्म लाग्न नै नदिनुस् । लागे पनि कन्ट्रोल गर्नुहोला । मधुमेह भएपछि सानोसानो घाउ पनि निको हुन गाह्रो हुन्छ । यो रोगले खुट्टामा सङ्क्रमण हुन्छ । सानो घाउँले पनि उग्ररूप लिन्छ । अन्त्यमा खुट्टा नै काट्नुपर्ने अवस्था पनि आएको छ । 
मधुमेहलाई सामान्य नसोच्नु होला यो रोग लागे पछि एक पछि अर्काे दुःखले तपाईंलाई घेर्दै–घेर्दै लैजान्छ । मधुमेहले मानसिक र शारीरिक धेरै समस्याहरू निम्त्याउँछ । त्यसैले मधुमेह नै हुन नदिनु उत्तम हो, भएपछि पनि कन्ट्रोल गर्नसक्नुपर्छ । यो नै सबभन्दा उत्तम उपचार हो ।
मधुमेह हाम्रो वंशाणुगत रूपमा नै हुने रोग हो । मधुमेहको क्यापिटल भनेर कहलिएको भारत पनि हाम्रो नजिक छ । वंशाणुगत रूपमा हामी भारतसँग सम्बन्धित नै छौँ । हामी त्यो वंशबाट आएको मान्छे हुनाले हामी यसै पनि मधुमेहको जोखिममा छौँ । अन्य विकसित मुलुकमा ४० कटेपछि मधुमेह जाँच भनिएको हुन्छ भने हाम्रो मुलुकमा ३० कटेपछि गरौँै । अझ हामीजस्तो चिकित्सकहरूले २५ वर्षमा नै मधुमेहको परीक्षण गरौँ भन्दै आइरहेका छौँ ।  बालबालिकालाई पनि मधुमेह हुनसक्छ । यस्ता बालबालिकाको कान्ति बाल अस्पताल काठमाडौँ, पाटन अस्पताल ललितपुर र धरान अस्पताल सुनसरीमा निःशुल्क उपचार हुन्छ ।   
कल्चरले बढायो मधुमेह   
हामीले मान्दै आएका संस्कारहरूमा पनि परिवर्तन आएको छ । पारिवारिक भेटघाटमा पनि खानेकुरा खाने, चिसो पेयपदार्थ कोक, फ्यान्टा बढी प्रयोग गर्छाँै । यो गलत हो । स्वास्थ्यका लागि हानिकारक छ । भेटघाट गर्नु राम्रो हो । तर बजारमा आएका रेडिमेड खानेकुरा खानु राम्रो होइन । स्वास्थ्यलाई ख्याल गर्ने हो भने मकै भटमास, पानी खाँदा हुन्छ । कोको, फ्यान्टा, बियर बाँड्ने ठाउँमा हामीले दही, मोही बाँढ्नु पर्यो । नेपालमा बिरामीको सङ्ख्या बढ्नुको कारण विभिन्न सञ्चार माध्ययममा आउने, रेडिमेड खानेकुराको विज्ञापन पनि एक हो । जस्तो टेलिभिजनमा बालबालिकाकाको विकास हर्लिक्स खाएर हुन्छ भन्दै बालबालिकाको ठूलो भएको देखाउँछ । चिसो खाँदा एउटा पहाडबाट अर्काे पहाडमा उफ्रिनसक्ने देखाउँछ । यस्ता अनावश्यक भ्रम लादिएको कुरालाई सरकारले बन्द गर्नुपर्छ । हर्लिक्समा चिनीको घोल हुन्छ, यो बालबालिकालाई मात्रै होइन कसैका लागि पनि फाइदा छैन । 
मुधुमेहबाट जोगिन यसो गर्नुस् 
मधुमेह एउटा त वंशाणुगत नै हुने भयो । अर्काे जहाँ जहाँ सवारी साधन पुगेको छ, त्यहाँ मधुमेह पुग्छ । कारण सवारी साधन भएपछि हिँडाइ कम, परिश्रम कम हुँदा शरीरमा बोसोको मात्र बढी हुन्छ र मुधुमेह मात्रै होइन अन्य रोगको सिकार भइन्छ । दैनिक एक घण्टा हिँड्ने, चलायमान हुने, पेटको गोलाइप्रति सचेत हुने, महिलाहरूको ८० सेन्टिमिटर भन्दा कम राख्ने, पुरुषले ९० सेन्टिमिटर भन्दा कम राख्ने हुनुपर्छ । रेडिमेट खाना नखाने, घरमै बनाएको खाना खाने गर्नाले पनि मधुमेहबाट जोगिन सकिन्छ । मधुमेहलाई भयावह नसोच्नु होला, यो रोगलाई नियन्त्रण हामी आफैले गर्न सक्छौँ । नियन्त्रण गर्ने हो भने औषधि नखाँदा पनि हुन्छ । 
खाना खाँदा दुई मुठठी अन्न, बुढी औलाको टुप्पाजति तेल, धेरै तरकारी, दुई तीन पिस मासु, माछामासु नखानेले भटमास, दही गेडागुडी खाँदा राम्रो हुन्छ । मधुमेह भएको बिरामीले चामलको भात खानुहुँदैन ढिँडो चाहिँ खानुहुन्छ भन्ने कुरा गलत हो । जुन अन्न खाए पनि हत्केलाले च्यापेर दुई मुठ्ठीभित्र खानुपर्छ । बोक्रासँगै आलु खानुभयो भने त्यही दुई मुठी भात जति आलु खानुस् । रेसायुक्त खाना खाँदा राम्रो हुन्छ ।
खानपान र जीवनशैलीलाई मिलाउन सकियो भने सम्भावित रोगलाई टार्न सकिन्छ । त्यसैले खानपान र जीवनशैलीको एकदमै महत्व हुन्छ । खाना घटाउने, साधारण खाने, चपाएर खाने र प्राकृतिक खाना खाने, फ्याक्ट्रीको खाना नखाने सुपरमार्केटको खाना नखाने, गाउँघरको लोकल कुरा खाने, मज्जाले चपाएर खाने, सागसब्जी धेरै खाने । 
अहिलेसम्म जति तरकारी खाइन्थ्यो, त्यो मात्रामा भात राखौँ अर्थात् भात तरकारीको परिमाण उल्टो गरौँ । फाइवर (रेसायुक्त) खानेकुरामा जोड दिऔँ । त्यो भनेको एक कचौरा भात लिँदा दुई तीन कचौरा तरकारी लिऔँ भनेको हो । यस्तो खानाले मधुमेह मात्रै होइन, अन्य रोगका बिरामीलाई समेत फाइदा पुग्छ । 
त्यस्तै; मधुमेहको बिरामीले मासु धेरै नखाऊँ । दुई टुक्रा मासु भए पुग्छ । यतिले भोक मेटिँदैन भने पहिले नै गाँजर, काँक्रो, मूलाजस्ता सलादहरू खाने गरौँ र पेट भरौँ । बरु एक गिलास पानी खाऔँ ।
के नखाने ? 
चिनी, मिठाई, कोक, फेन्टा जुस यी सबै गुलियो पदार्थ हुन् । त्यसैले यी पदार्थहरू नखाएको राम्रो किनकि मधुमेह भएको व्यक्तिलाई त्यसै पनि रगतमा सुगरको मात्रा बढी हुन्छ अर्थात गुलियो पना बढी हुन्छ । फलफूलमा पनि स्याउ सुन्तला, अम्बा, मेवा, खर्बुजा, नास्पाती, किवी, बयर जस्ता फलफूल खान सकिन्छ तर अङ्गुर, आँप, लिची, अनार जस्ता फलफूल नखाँदा राम्रो हुन्छ । मासु नै खानपरे दुई टुक्राभन्दा बढी नलिने । रातो मासु सकेसम्म नलिने । माछा, कुखुराको सेतो मासु प्रयोग गर्नु राम्रो । अण्डाको पहेँलो भाग सक्दो नखाने ।
आलु पिँडालु पनि खान हुन्छ तर एकै पटक ती सबै खानु भएन । किनभने ती सबैमा कार्बोहाइट्रेड पाइन्छ । त्यसैले आलु खाँदा पिँडालु नखाने, भात कम खाने वा नखाने गर्नु राम्रो हुन्छ । भात, आलु, पिँडालु जस्ता कुराहरू एकै पटक धेरै खानु हुँदैन । मधुमेहबाट जोगिनका लागि मोबाइल हेर्ने, टिभी हेर्ने गरेर हुँदैन । हिँड्नुपर्छ, व्यायाम   गरिराख्नुपर्छ । 
अर्काे मधुमेहको जोखिम धुलोधुवाँ पनि हो । धुलोधुवाँको मात्रा बढ्दै गइरहेको छ, यसका लागि सरकारी मात्रै होइन हामी सबैनागरिकले पनि रोक्ने काम गर्नुपर्छ । नत्र हामी सबै रोगी हुने सम्भावना छ ।
टड्कारो परिवर्तन हुनुपर्छ 
मधुमेहको बारेमा जानकारी दिनका लागि सरकारको पक्षबाट टड्कारो चेन्ज ल्याउनु नै पर्ने अवस्था आइसकेको छ । अर्काे नसर्ने रोगको जुन प्याकेज बनाइएको छ, त्यसलाई चुस्त दुरुस्त बनाइनुपर्छ । निःशुल्क प्याकेजको नेपालभरी नै सुविधा हुनुपर्छ । स्वास्थ्यको क्षेत्रमा पहिला भन्दा धेरै परिवर्तन भएको छ तर भएको कुरालाई पनि चुस्तदुरुस्त कार्यान्वयन गर्न जरुरीे छ । विद्यालयमा नसर्ने रोगको बारेमा अध्ययन गराउनुपर्छ । यो सरकारको तर्फबाट गर्नुपर्ने कुरा भयो भने हामीजस्ता नागरिकले पनि धेरै कुरा गर्नुपर्ने छ । विभिन्न रेडिमेड खाना, पार्टीमा खाने, फ्याक्ट्रीको खाना खाने त्यसैलाई राम्रो भन्ने हाम्रो बानी हटाउनुपर्छ ।  
(मधुमेह रोग विशेषज्ञ डाक्टर ज्योती भट्टराई मेट्रो अस्पतालमा कार्यरत छिन् ।)
Source: Ratopati

Monday, November 5, 2018

ओशो तपोवनको बारेमा अर्नगल प्रचार भए पछि सन्यासी माँहरुले यसरी पोखे आक्रोस


विश्वमा २०० भन्दा बढी देशमा ओशो आश्रााम खोलिसकेको नेपालमा ७५ हजार भन्दा बढी ओशो भक्तहरु भईसकेको स्वामी आनन्द अरुणलाई केही आरोपहरु लागेको छ । यस विसयमा वास्तविकता केहो भन्ने विषयमा बुझ्ने कोसिस गरेका छौं ।
पछिल्लो समय आध्यात्मिक धाम अर्थात नेपालको धरोहरका रुपमा स्थापित परिचय विकसित हुँदै गएको नार्गाजुन ओशो तपोवन र त्यसका प्रमुख अनुयायी स्वामी आनन्द अरुण माथी नियोजित लाल्छना लाउने प्रयास देखिन थालेकाछन् ।
भगवानको उपाधीबाट पुरस्कृत रजनिस ओशोका अनुयायी स्वामी आनन्द अरुणमाथी नियोजित लाल्छना मात्र लगाइएको छैन् ,हावादारी यौनका कुरासँग जोड्दै हास्यास्पद प्रचार गर्ने कार्य भएको छ ।
ओशो तपोवनसँग आत्मियतामात्र होइन भौतिक सशरिरनै जोडिएका आनन्द अरुणलाई केहि ब्यक्तीहरुले तथानाम प्रचार आरिरहँदा सिंगो धार्मिक संगठनलाईनै बदनियत गर्ने धेयबाट प्रेरित समुहका बारेमा केहि सोच्न र लेख्न बाध्य तुल्यायो र यस विषयमा त्यहाँ कार्यरत माँहरुसंग वास्तविकता बुझ्ने कोसिश गरेयौं ।


Friday, November 2, 2018

ठूली र सानी उकाली, पहिले र अहिले

भोजराज तिमिल्सिना । पाल्पा
यहाँका बुढापाकाहरु अहिले पनि घर कहाँ हो भनेर परिचय गराउँदा ठूली या सानी उकालीकै नाम लिन्छन् । पाल्पा र आसपासका जिल्लाका बुढापाकाहरुमा पनि यस क्षेत्रको अहिलेको नाम भन्दा पहिलेकै उकाली नाम स्मरणमा छ ।
तिब्वतको सिमाना भोट देखि भारतसम्मका मानिसहरुको स्मरणमा अहिले पनि छोटो घोरेटो,गोरेटो वाटो (उकाली) चर्चामा छ । राम्दीबाट यता फर्कने क्रममा बगनासकाली गाउँपालिकाको वडा नं. ५ दर्लमडाँडाको ओस्वाखोला देखि करिव डेढ किलोमिटर उकालो दर्लडाँडाको पसल सम्मको वाटो सानी उकालीको नामले परिचित छ । यो बाटोको बीचमा खासै बस्ती छैन । यसको सबै भुभाग दर्लमडाँडामा पर्छ ।

सानी उकाली सकिएपछि खहरेखोला अन्तर्गतको खोलाकी बुढीको घरदेखि (खहरेखोलाको किनार) वगनासकाली-९ चापपानीको वगनाससम्म करिव साढे ३ किलोमिटर उकालो बाटो छ । त्यो बाटो ठूली उकाली नामले परिचित छ । यो बाटोको बीचमा जुकिया, बाटुलीचौर, बझादी लगायतका टोलहरु रहेका छन् । यसको सबै भू-भाग चापपानीमा पर्छ । दुवै उकालो भएको हुदाँ यो बाटो सानी र ठूली उकालीको नामले चिनिएको हो । जसका नाम पनि बटुवाहरुले नै राखिदिएको स्थानीय जानकारहरुको भनाई छ ।
बि.सं.२०२२ सालमा सिद्धार्थ राजमार्ग अन्तर्गत (सुनौली–पोखरा) को निर्माण हुनुभन्दा अगाडि सबै यात्रुहरु यही बाटो पैदलबाटै आउने जाने गर्दथे । स्याङ्गजा, कास्की,पर्वत, तनहुँ, लम्जुङ्ग, वाग्लुङ्ग हुदै तिव्वतको भोट सम्मका र अर्कोतिर गुल्मी अर्घाखाँची र कपिलवस्तु सम्मका पाका पुस्ताहरुले पनि यो बाटोको उपयोग गरे । अझै पनि यि क्षेत्रका पाका पुस्ताहरुले ठूली र सानी उकालीलाई बिर्सेका छैनन् ।
यो बाटो छेउछाउमा त्यसताका व्यापार पनि हुन्थ्यो । काठका खाबा गाडेर स्याउलाले छाएका घर (छाप्रो) र खरको छानो र मान्द्राको गारो भएको घरमा होटलहरु संचालनमा थिए । ठूली उकाली प्रारम्भ भन्दा केही माथि त्यसबेला कानी नामकी महिलाको भट्टी पसल निकै चर्चामा थियो । अहिले त्यो ठाउँलाई कानीबारी भनेर चिनिन्छ । त्यस्तै उकाली छेउ छाउमा दर्जनौ साना पसल थिए । जहाँ स्थानीयहरुले घरमा उत्पादित फलफुल, दही, महि, दाउरा समेत लगेर बेच्ने गर्दथे ।
यो बाटोमा मानिसहरुको घुइचो नै हुन्थ्यो । यात्रा गर्ने क्रममा भए पुगेमा छाप्रोमा नभए रुखको फेदमा खुल्ला आकाश मुनि पनि बटुवाहरुले रात विताउने गरेको बगनासकाली-९ का ८७ वर्षीय टोपलाल तिमिल्सिनाले बताए । ढाकरमा नुन लगायत खाद्धान्नहरु बोकेर हिड्नेलाई ढाक्रे भनिन्थ्यो । ढाक्रेहरुको भिडभाड हुन्थ्यो उनीहरु छाप्रो रुखमुनी वस्दथ्थे । लाहुरेहरु पनि यो वाटो भई ठूलाठूला बाकस बोकेर आउने जाने गर्थे । व्यापारीहरुले गधा खच्चडमा खाद्य सामान नुन, तेल, चामल, कपडा लगायत बोकाउने गर्थे । सामान बास बस्ने ठाउँमा उतारी गधा खच्चड्हरु चर्न छोडि दिदाँ वाटोको छेउछाउमा लगाइएका बालीहरु समेत खाइदिने गर्दथे । त्यतिबेला बाटोमा हिड्ने बटुवाहरुका लागि आफूले उत्पादन गरेको गोन्द्रा (ठूलो) केरा ५ पैसामा ३ कोसा बेच्ने गरेको तिमिल्सिनाले बताए ।
लाहुरेहरु भारत–वटौली पाल्पा हुदै घरमा जान र घरवाट छुट्टी पुरा गरी फेरी लाहुर जान यो बाटोकै प्रयोग गर्थे । छोटो बाटोको रुपमा रहेको यो बाटोले पोखरा, पाल्पा हुँदै बटौलीसम्म जाने र फर्कनेहरुका लागि पुलकै काम गरेको थियो । छाप्रो र रुखको फेदमा ठूलो संख्यामा वटुवा (ढाक्रे, ढाकरमा सामान वोक्ने) हरु हल्ला खल्ला गरी वस्ने गदथ्थे । उता भट्टीमा लाहुरेहरु नाच गान गर्ने दोहोरी गित गाई रमाइलो गर्ने गर्दथ्थे ।
वि.स. २०१६ सालमा राजा महेन्द्र राम्दी नजिकै चिउरीवासमा बासबसी यहि उकाली हुदै तानसेन सवारी भएको वगनासकाली ५ दर्लमडाँडाका ८३ वर्षिय ऋषिराम गैरेले वताए । राजा आउने भनेर छाप्रो वनाउन गइयो, चिउरीवास खेतमा छाप्राहरु वनाइयो, राजा संग दर्शन भेट गरी माला लगाई दियौ महाराजाको पैदल सवारी भएको थियो गैरेले थपे । चिउरीबासलाई अहिले राजा महेन्द्र बासको रुपमा पनि चिनिन्छ ।
टेलिफोनका लागि ३ लाइनको तामाको तार यहि वाटो हुदै पोखरा सम्म पुगेको थियो । आफू पोखरा पढ्न वस्दा तानसेनवाट दाइले फोन गर आमाको मृत्यु भएको खवर दिएको र आफू घरमा आएको उनले अनुभव सुनाए । अहिले ति तामाका तार कहाँ गए केही पत्तो छैन तर कतै कतै पुराना रुखहरुमा तार अड्याउन ठोकिएका फलामका किल्लाहरु भने देख्न पाइन्छ ।
बटौलीवाट खाद्दान्न सामान खरिद गरी आफै वोकेर ल्याएर यही ठाउँमा बेचेर घर गुजारा चलाउनेहरु पनि यही बाटो हिडे । ठुला व्यापारीहरुले गधा खच्चडको प्रयोग गरे भने साना व्यापारीहरु पिठ्युमै भारी बोकेर हिंडे । बगनासकाली–६ यम्घाका ७९ वर्षीय वेदराज वस्यालले २०२३ सालमा बटौलीवाट ६ रुपियाँमा १ पाथी चामल खरिद गरि १० रुपियाँमा राम्दी पारी परेवा कुनमा मोटर वाटो खनाउने शेर्पा थरका मेठलाई बेचेको अनुभव सुनाए । उनले यसरी चामल बेचेर ४ हजार ४ सय कमाएका थिए । बटौलीबाट आफूले १० देखि १२ पाथी चामल ल्याएर बेच्ने गरेको बस्यालले बताए । त्यतिबेला बाटो खन्नेहरुले प्रति दिन ३ रुपियाँ २० पैसा पाउथे । उनले भने ।
हुलाकीहरु टाढैवाट संकेत गरी भाला (एक प्रकारको लठ्ठी) वजाउदै हुलाक वोकी हिड्दथ्थे, वटौलीवाट ल्याएका मट्टीतेलको टुकी वाली भट्टीवालाले व्यपार गर्ने गर्दथ्थे । ठुली उकालीमा ३ ठाउँमा वझादी, मुलवाटा र खोलाकी वुढीको घरमा वास वस्न खानका लागि भट्टी संचालनमा रहेको र सानी उकालीमा एक ठाउँ स्वामीको फेदमा भट्टी माथि डाँडामा पसल रहेको स्थानीयहरुले बताउँछन् । यो ठाउँको नाम अहिले पनि पसल भन्ने चलन छ ।
दर्लमडाँडाकै राम्दी क्षेत्रमा वुवा आमाहरुले कपडा तथा किराना सामान विक्री गर्ने गरेको राम्दीका ७० वर्षिय नन्दकिशोर अमात्यले वताए । सानी ठूली उकाली आउने र जाने नाकाको रुपमा रहेको राम्दी मा त्यो वेलामा धेरै चहलपहल थियो व्यापार पनि वेस्सरी हुन्थ्थो । त्यो वेलालाई सम्झदा सिद्धार्थ राजमार्ग खुलेपछि व्यपारमा गिरावट नै आएको अमात्यको अनुभव छ ।
ढाक्रे ,लाहुरे र अन्य यात्रीहरुको भिड भाड्ले गर्दा वाटोमा एक्लै हिंड्दा पनि डर नहुने अवस्था त्यति वेला थियो । वुवा आमाले ठूली उकालीको वझादीमा यो क्षेत्रकै ठूलो भट्टी चलाउनुभयो, अहिलेपनि हामीलाई भट्टीका भन्छन, वगनासकाली ९ चापपानीका ७४ वर्षिय विन्दवहादुर थापाले भने । थापाका अनुसार उनको घरमा ६ वटा पाहुँना वस्ने घर हुँदा पनि सबै पाहुनालाई बसाल्न नसकिने अवस्था थियो । बटुवाहरुको भिडभाड हुन्थ्यो । आफू बुबा आमालाई सहयोग गर्ने कुखुरा, खसी गाउँतिरबाट खोजी ल्याउने काम गरेको बताउँदै थापाले २ रुपियाँ ५० पैसामा सादा भात र ३ रुपियाँ ५० पैसामा मासुसंग भात खुवाउने गरेको बताए ।
पाका पूस्ताले मात्र चिन्ने र जान्ने बनेको विषय ठूली र सानी उकाली नयाँ पुस्तामो जानकारीमा छैन । पाका पुस्ता ठूली र सानी उकालीको बाटो सम्झदै वटौलीबाट नुन तेल बोकेको कुरा नयाँ पुस्तालाई सुनाउदा अलमल पर्नु स्वभाविकै हो । अहिले हरेक ठाउँमा मोटर बाटो पुगेको छ, यात्रा सहज भएको छ । त कसरी ठूली र सानी उकालीको बाटो भनि बुझ्ने ।
ऐतिहासिक महत्व बोकेको बाटो ठूली र सानी उकालीको संरक्षणको अभावका कारण ओझेलमा परेको छ । सानी उकालीको मोटर बाटो भइ लामो बाटो प्रयोग गरी अहिले मानिसहरु हिड्ने गरका छन् । ओस्वा खोलाबाट सिधा माथि निस्कने सानी उकाली मियालका काँडाले हिडि सक्नु छैन । अर्को ठूली उकालीमा भने मानिसहरु हिड्ने गर्दा केहि हिड्न मिल्नेछ । तर उचित संरक्षण भएको पाइदैन । वनमारा काँडाले यो वाटोलाई पनि ढाकेको छ । अहिले यो बाटो खासगरि मर्दा पर्दाको रुपमा मात्रै प्रयोग भएको छ । कहिलेकाँहि सिद्घार्थ राजमार्गमा विभिन्न कारणवस गाडी नचलेका वेला पैदल मार्गको रुपमा प्रयोग हुने ठूली र सानी उकाली भई अहिले पनि मान्छेहरु हिंड्ने गर्दछन् ।
यो बाटोको उचित संरक्षण गर्ने हो भने यसलाई पर्यटकीय पैदल मार्गको रुपमा विकास गर्न सकिन्छ । यो बाटोको बीचमा दर्जन बढी धार्मिक साँस्कृतिक स्थलहरु पनि छन् । जसको अवलोकन गर्न पनि सकिन्छ । ऐतिहासिक यस क्षेत्रलाई पर्यटकीय पैदल मार्गको रुपमा विकास गरि प्रचार प्रसार गर्न सक्ने हो भने यहाँको पर्यटन प्रवर्धनका लागि धेरै हदसम्म टेवा पुग्न सक्छ ।
लेखकः सामुदायिक रेडियो मदनपोखराका रेडियो प्रतिनिधि हुन् ।
साभार: बगनासकाली फिचर संग्रह

Thursday, November 1, 2018

संसारबाट यसरी लोप भए डाइनोसर, यसरी उत्पति भयो मानिस

गोविन्द पोखरेल

काठमाडौँ — करिब साढे १४ करोड वर्षसम्म पृथ्वीमा राज गरेका डाइनेसोरहरु एकाएक कसरी लोप भए ? जल, जमिन, जंगल जताततै पाइने डाइनेसार लोप हुनुपर्ने कारण के थियो? पृथ्वीमा के त्यस्तो घटना भयो जसका कारण डाइनसोरको नामोनिशान नै मेटियो ?

डाइनोसोर इभोलुसनरी इकोलोजीको एउटा महत्वपूर्ण पाटो हो। कतिपयका लागि यो ‘मिथ’ लागेपनि जीवाशेषहरुबाट प्राप्त प्रमाणले पृथ्वीमा कुनै समय डाइनोसोरको युग थियो भन्ने पुष्टि भइसकेको छ।
पृथ्वीको अनुमानित उमेर साढे ४ अर्ब वर्ष हो। यसबीच पृथ्वीमा धेरैै आरोह अवरोह भए र हुनेक्रम जारी छ। धेरै ठूला–ठूला महाप्रलयहरु(मास एक्सटिङक्सन) भए। हरेक मास एक्सटिङक्सनबाट एउटा प्रजातिको अन्त्य र नयाँ प्रजातिको उदय हुँदै आएको खोजहरुले देखाएको छ।

मास एक्सटिङक्सनमा धेरै प्रजातिका जीवहरु विनाश हुन्छन्। हालसम्म ५ वटा महाप्रलयका घटनाहरु भएका छन्। छैटौँ महाप्रलय सुरु भइसकेको वैज्ञानिकहरुले दाबी गर्दै आएका छन्। र, छैटौँ महाप्रलयबाट मानव जातीको अस्तित्व समाप्त हुने दाबी गरिएको छ।

आजभन्दा साढे ६ करोड वर्ष पहिले पृथ्वीमा क्रेटासियस महाप्रलय घटेको थियो। जसका कारण डाइनोसोरको विनाश भएको साइन्टिफिक जर्नलहरुमा उल्लेख छ। उक्त महाप्रलयमा परी पृथ्वीमा भएका ७६ प्रतिशत प्रजातिहरुको विनाश भएको वर्ल्ड एट्लास अनलाइनले उल्लेख गरेको छ।

क्रेटासियस महाप्रलय के–कारणले भएको थियो भन्ने विषयमा वैज्ञानिहरु विभाजित छन्। नेशनल जोग्राफिकले वैज्ञानिकहरुको भनाइ उद्दृत गर्दै लेख्छ, ‘क्रेटासियस महाप्रलय आकशीय पिण्ड र ज्वालामुखी विष्फोटनका कारणले भएको थियो।’ कतिपय वैज्ञानिकहरु भूकम्प, क्लाइमेट चेन्ज र प्राकृतिक कारणले यो महाप्रलय भएको ठान्दछन्। तोहोकु विश्वविद्यालयका कुनियो कैहो र नागा ओसिमाको अध्ययनले पनि पृथ्वीको सतहमा आकशीय पिण्ड झरेका कारण महाप्रलय गएको उल्लेख गरेका छन्।

प्रख्यात वैज्ञानिक एवं हावार्ड विश्वविद्यालयका पूर्व प्राध्यापक स्टेफेन जे गोउल्डको भनाइलाई उदृत गर्दै वातवरण विज्ञानका प्राध्यापक अमूल्य रत्न तुलाधार भन्छन्, ‘पृथ्वीमा उत्पत्ति भएका ९९ प्रतिशत जीवहरु लोप भइसकेका छन्। अहिले भएकाहरु कूल उत्पत्ति भएका प्रजातिहरुको एक प्रतिशत मात्र हुन्।’ उनका अनुसार पृथ्वीको हरेक कालखण्डहरुमा महाप्रलय आउने गरेका छन्।

आकशीय पिण्ड पृथ्वीको सतहमा खसेपछि क्रेटासियस महाप्रलयको भएको मानिदै आएको छ। साढे ६ करोड वर्षपहिले पृथ्वीको तापक्रम औसत थियो। जताततै हरियाली अनि सफा वायुमण्डल थियो। अहिले जस्तो प्रदूषित थिएन। जमिनमा, पानीमा बस्ने अनि उड्ने डाइनोसोरको युग थियो।

डाइनोसोरको त्यो युगमा प्राथमिक स्तनधारी जीव लुकेर बस्थे। मुसा जस्तो देखिने ती स्तनधारी जीवहरु सुरक्षाको कारणले जमिनमुनि लुकेर बस्थे। जमिनमुनी बस्ने यी स्तनधारी अहिलेको आधुनिक युगका लागि वरदान हो। आधुनिक युगमा स्तनधारी प्रजातिको प्रभुत्व छ, त्यसमा पनि मानवको।
त्यसबेला एउटा १० किलोमिटर चौढाइ भएको आकशीय पिण्ड पृथ्वीतिर आउँदै थियो। पृथ्वीको गुरुत्वकार्षण क्षेत्रमा प्रवेश गरेसँगै उक्त पिण्डको गति एकाएक बढ्यो। ७० हजार किलोमिटर प्रति घण्टाको गतिमा पिण्ड पृथ्वीको नजिक पुग्छ। वायुमण्डलीय क्षेत्रमा पुग्ने बित्तिकै घर्षणका कारण पिण्ड आगोको गोलामा बदलिन्छ। आगोको गोला यति शक्तिशाली थियो कि यसको ८ सय किलोमिटरको रेडियसमा आउने जीवहरु खरानी भए।

‘उक्त आकशीय पिण्ड पृथ्वीको सतहमा ठोक्किए पछि ठूलो विष्फोट भयो। विष्फोट यति शक्तिशाली थियो कि पृथ्वीमा भएका धेरै धातुहरु आन्तरिक्षमा पुगे। विष्फोटन भएको क्षेत्रमा १८० किलोमिटर चौढाइ र २० किलोमिटर गहिराई बन्यो। ठोक्किएको क्षेत्रमा भएका माटो वायुमण्डमा पुगेर एउटा ठूलो बाक्लो तह भएको बादल बन्यो। बादलमा गएको धुलोका कारण ठूलो तुफान आयो। २० हजार प्रति किलोमिटरको रफ्तारमा धुलोको बादल देखियो। बादल धेरै किलोमिटर बाक्लो भएकाले पृथ्वीमा सूर्यका किरणहरु आउन पाएनन्। धेरै वर्षसम्म पृथ्वी अध्याँरो भयो। जसका कारण कयौ बिरुवाहरु मरे।’ प्राध्यापक तुलाधारले भने।

यस्तै, पिण्ड विष्फोटनका कारणले भुकम्प आयो। समुद्रका तरंगसँगै सुनामी सुरु भयो। उड्ने जीवहरु सतही खतराबाट त बाँचे तर विष्फोट भएर आकाशमा गएका पृथ्वीका धातु तथा वस्तुहरु त्यस घटनाको ४० मिनेटपछि आगोको गोलाको रुपमा वर्षिएपछि उनीहरुको इहलिला पनि समाप्त भयो। विष्फोटको डेढ घण्टापछि पृथ्वीको तापक्रम एक सय ९० डिग्री सेल्सियस पुगेको थियो। जसका कारण धेरै टाढामा रहेका डाइनोसार तथा अन्य जीवहरु तापक्रम सहन नसकेर मरे। उच्च तापक्रमका कारण पानी वाष्फीकरण भयो।

यो महाप्रलयका कारण पृथ्वीको ७६ प्रतिशत प्रजातिहरुको विनाश भयो। पृथ्वीमा उक्त आकशीय पिण्ड मेक्सिकोको यूकेटान पेनिन्सुलामा खसेको थियो। उक्त पिण्डमा इरिडियम धातु पाइएपछि वैज्ञानिकहरुले आकशीय पिण्ड भएको पत्ता लगाएका थिए। इरिडियमा धातु आकशीय पिण्डहरुमा पाइन्छ। यस्तै, ज्वालामुखी विष्फोटनका कारण इरिडियम धातु पृथ्वीको गर्भबाट निस्किएको अर्का थरीका वैज्ञानिकहरुको धारणा छ। वैज्ञानिकहरु क्रेटिसियस महाप्रलयकै कारण डाइनोसोरको लोप भएको कुरामा भने एकमत छन्।

विनाश डाइनोसोरको, फाइदा मानव प्रजातिलाई

क्रेटासियस महाप्रलयका कारण डाइनोसारको विनाशसँगै स्तनधारी जीवहरुको विकास भएको तथ्य भौगर्भिक समयतालिकाबाट थाहा पाउन सकिन्छ। यदि त्यो महाप्रलय नभैदिएको भए सायद आज मानव जातिको उत्पति नै हुदैन थियो कि भन्ने तर्कहरु पनि इभोलुसनरी इकोलोजिस्टहरुको दाबी छ।

महाप्रलयमा मुसा जस्तो देखिने ती ‘प्राथमिक स्तनधारी’ जीवहरु बाँचेका थिए। भ्यागुता, गोही, शंखे किरा जस्ता जीवहरु पनि बाँचे। उच्च तापक्रममबाट बच्नका लागि ती स्तनधारी जीव जमिनमुनी बसे। त्यहाँ जे भेटे त्यही खाएर आफ्नो अस्तित्व जोगाए।

महाप्रलयको केही लाख वर्षपछि पृथ्वी स्थिर हुँदै गयो। बाँचेका ती स्तनधारीहरु पनि विकास हुँदै गए। उनीहरु आकारमा पनि ठूला हुँदै गए। स्पेसियसन (नयाँ प्रजाति बन्ने प्रकिया) पनि हुँदै थियो। नयाँ प्रजातिको उत्पत्ति हुँदै गयो। मानवको प्राचिन पुर्खा पनि त्यही अनुरुपमा विकास हुँदै थिए। करिब ४ दशमवल ७ करोड वर्ष पहिले पृथ्वीको अवस्था सामान्य भइसकेको थियो। औसत तापक्रम २४ डिग्री सेल्सियस पुगेको थियो।

तर, पृथ्वीमा अझै प्राकृतिक हलचल हुने क्रम भने रोकिएको थिएन। क्रेटासियस महाप्रलयपछि लाखौ वर्षसम्म पृथ्वीको टेक्टोनिक प्लेटहरु हलचल भइरह्यो/जुन क्रम अहिलेपनि जारी छ।

महाद्वीपहरु सर्न थाले। महाद्वीपहरु सर्ने प्रक्रियालाई कन्टिनेन्टल ड्रिफ्ट भनिन्छ। यिनीहरु वर्षमा एकसेन्टिमिटर वा त्योभन्दा बढी सर्न सक्छन्। यही सेरोफेरोमा इन्डियन टेक्टोनिक प्लेट र यूरेसियन टेक्टोनिक प्लेट एकआपसमा ठोक्किए। त्यसको प्रतिक्रया स्वरुप हिमालय श्रंखलाको निर्माण भयो। हिमाली श्रंखलाको निर्माणसँगै हाम्रो देशको भूगोल निर्माण भयो। संसारको सबैभन्दा ठूलो चुचुरो सगरमाथाको उत्पत्ति त्यही बेला भयो। हिमश्रंखलाको बरफबाट धेरै हिमनदीको उत्पत्ति भयो। नदी र हिमालयको उत्पति भइसकेपछि कमी थियो त सिर्फ मानव जातीको। यसको थप विवरण वैज्ञानिक अल्फ्रेड वेगनरको किताब ‘ओरिजन अफ कन्टिनेन्ट्स एण्ड ओसन्स’मा उल्लेख छ।

४० लाख वर्षअघि अफ्रिकाको पूर्वी इलाकामा इस्ट अफ्रिकन रिफ्ट भ्याली पर्वत श्रंखलाको उत्पत्ति भयो। उक्त पर्वत श्रंखलाले मनसुनी हावालाई अवरोध पुर्‍याउन थाल्यो। रिफ्ट भ्याली नजिकैको जंगलमा बस्थे, एप्स। मनसुनी अवरोधका कारण पानी पर्न छाड्यो। रुखहरु सुके। जंगल विस्तारै उजाड बन्दै गयो, मरुभूमी हुन थाल्यो। खानाको अभाव भएपछि ती एप्सहरु रुखबाट भुईँमा आए। खानाको खोजी गर्ने क्रममा उनीहरु हिड्ँन थाले।
रुखबाट जमिनमा हिड्ने एप्स थिए, एर्डिपिथेकस रेमिडस। एर्डिपिथेकस रेमिडस प्रजातिका एप्सहरुको दिमाग सानो थियो। ४ फिट उचाइ थियो उनीहरुको। चारपाउबाट दुईपाउबाट हिड्नु नै क्रमभंग भइसकेको थियो।
हजारौ वर्षौसम्म विकासक्रम चली रह्यो। दुई खुट्टाले हिड्दा उनीहरुलाई कम उर्जा चाहिन्थ्यो। खान पनि सजिलो हुन्थ्यो। चेतना त्यही अनुरुप बढ्दै थियो। एस्ट्रोलोपिथेकस उभिएर हिड्ने पहिलो मानव प्रजाति बने।

त्यसपछि हेमो ह्याबिसको विकास भयो। उनीहरुले ढुंगाबाट हतियारको निर्माण गरे। शिकार खेल्न त्यही प्रयोग गरे। समय चलि रह्यो।त्यसपछि होमो एरिक्टिसको विकास भयो। उनीहरु आवाजको माध्यमबाट एकअर्काबीच इशारा गर्न थाले। यही क्रममा भाषाको निर्माण भयो। उनीहरुले आगोको खोज गरे। यो नै विकासक्रमको सबैभन्दा ठूलो सफलता थियो।

आगो पत्ता लागेपछि समूहमा बस्ने परिपाटी सुरु भयो। पकाएर खाने चलन सुरु भयो। पकाएर खादा कम उर्जा लाग्ने भएपछि शरिरमा सञ्चित उर्जा दिमागमा प्रयोग हुन थाल्यो। हेमो इरिक्टिस पछि होमो नियनडेरथल प्रजाति आए। तर आइस ऐजका कारण विलय भए।

त्यसपछि होमो सेपियन्सको उत्पति भयो। यिनीहरु अन्य प्रजातिभन्दा आधुनिक थिए। वातवरण अनुकुल भएकाले संसारभर फैलिन सके। यिनीहरु बुद्धिमानी थिए। समूहमा बस्थे, खेतीपाती गर्न सुरु गरे। प्राकृतिक विपत्तिको सामना गर्न सक्थे।

र, यसरी जीव विकासकै क्रममा आधुनिक मानवको उत्पत्ति भयो। जुन संसारको सबैभन्दा श्रेष्ठ र बुद्धिमानी प्राणी हो। चार्ल्स डार्बिनले भनेजस्तै पृथ्वीमा जीव विकासको क्रम अहिले पनि चलिरहेको छ। यदि क्रेटासियस महाप्रलय नभइदिएको भए, आकशीय पिण्ड (एस्टिरोइड) पृथ्वीमा नखसेको भए सायद डाइनोसोरहरुलाई आज हामी देख्न सक्थ्यौ कि? महाप्रलय नभइदिएको भए ती प्राथमिक स्तनधारीहरु आज जमिन मुनी नै बस्थे होलान् कि?

महाप्रलयपछि अफ्रिकाको रिफ्ट भ्यालीको उत्पत्ति नभइदिएको भए ती एप्सहरु रुखमै बस्थे होलान्। सायद मानव प्रजातिको उत्पत्ति नै हुदैन थियो होला।
Source: Kantipur

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *