Wednesday, February 27, 2019

मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने सरकारको निर्णय, भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बुधबार आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । 
यस्तै मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । बुधबार दिउँसो मन्त्री अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भएको थियो । दुर्घटना हुनाको कारण मौसम खराबी भएको बताइएको छ । हेलिकप्टर उड्ने वित्तिकै केही समयभित्रै दुर्घटना भएको हो ।

Sunday, February 24, 2019

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । 

उनका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले आज र भोलि देशभर मौसम आंशिकदेखि पूर्ण बदली रही मङ्गलबार रातिदेखि बुधबार दिनभरी नै पानी पर्ने सम्भावना रहेको छ । आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा एकछिन घाम लाग्ने र एकछिन बदली हुने भइरहेको मौसमविद् कँडेलले बताए । 
आज मध्याह्नदेखि तीन दिनसम्म देशको मध्य र पूर्वी पहाडी भ–ूभागका एक÷दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकमत तापक्रम २५।५ डिग्री र न्युनतम तापक्रम ६।८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा बढी विराटनगरको अधिकमत तापक्रम २८।४ डिग्री सेल्सियस रहेको छ । रासस 

Tuesday, February 19, 2019

विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको लुम्बिनी बन्द फिर्ता

फागुन– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोले फागुन ८ गते घोषणा गरेको बन्द फिर्ता लिएको छ । सो पार्टीले लुम्बिनीका ७ जिल्ला बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको छ । आफ्नो पार्टीका नेताहरुलाई विनाकारण हिरासतमा राखेर नियोजित रुपमा झुट्टा मुद्दामा फसाउने षडयन्त्र गरिएको भन्दै सो पार्टीले लुम्बिनीका रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्ला बन्दको आव्हान गरेको थियो ।

 आज अर्घाखाँचीको सन्धिखर्कमा सबै नेताहरुलाई अदालतबाट १० हजार धरौटीमा रिहा गरेपछि बन्द फिर्ता गरेको हो । गत माघ २३ गते अर्घाखाँची जिल्लाबाट नेकपाको सांगठनिक अभियानको सिलसिलामा नेकपाका लुम्बिनी व्यूरो सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज पुर्णवहादुर सिंह, सेक्रेटरी कमरेड खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य कमरेड पिताम्बर पोखरेल, अभियानयात्री कमरेड टुकलाल पुनलाई अर्घाखाँची प्रहरीले गिरफ्तार गरेको थियो । Source: Ratopati

Sunday, February 17, 2019

विवादपछि गायक पशुपति शर्मा पहिलो पटक न्यूज–२४ टेलिभिजनमा - NEWS24 TV

‘लुट्न सके लुट ...’ गीतका कारण विवादमा छन् गायक पशुपति शर्मा । सिर्जनाकै कारण अक्सर चर्चा र बेला–बेलामा विवादमा आउने पात्र हुन् शर्मा । देश, काल र परिस्थितिलाई शब्दमा उतारेर जनप्रिय गीत गाउने स्रष्टा शर्माको पछिल्लो गीत ‘लुट्न सके लुट ...’ राजनीतिक कोपभाजनको शिकार बनेको ठानिएको छ । सरकार विरोधीले सरकारकै दबाबका कारण शर्माले यू–ट्युबबाट गीत हटाएको दावी गरिरहँदा शर्माले भने ‘स्व–इच्छा’ले भनेका छन् । सत्तारुढ नेकपाका कार्यकर्ताले शर्माको ‘नियत’मै प्रश्न उठाएर आलोचना गर्दा सरकार विरोधी कित्ताले सरकारले अभिव्यक्ति स्वतन्त्रता छिन्न खोजेको आरोपसमेत लगाएका छन् । खासमा यो प्रकरण के हो ?, शर्माले गलत नियतले नै गीत बनाएका हुन या अनावश्यक उचालिएको हो ? अव गीत परिमार्जन हुन्छ कि हुँदैन ? जस्ता प्रश्नको जवाफ शर्माले न्यूज–२४ टेलिभिजनमार्फत दिएका छन् ।


Wednesday, February 13, 2019

काठमाडौँ – मुक्तिनाथ केबलकार प्रा.लिले विश्वकै सबैभन्दा लामो यात्रुवाहक केवलकार निर्माण गर्ने भएको छ । त्यसको लागि कम्पनीलाई  लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको छ । कम्पनीको तर्फबाट निर्देशक शिरोमणि ज्ञवालीले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् ।

विज्ञप्तिका अनुसार, नेपालको इतिहासमै, नेपाली निजी क्षेत्रको मात्र जारी पूँजी लगानीमा निर्माण हुन लागको सो मुक्तिनाथ केबलकार परियोजनामा आइडिया फर नेपालले पनि लगानी गर्ने सहमति भएको छ । तदअनुरुप, आइडिया फर नेपाल र मुक्तिनाथ दर्शन प्रा.लिबीच शेयर खरिद बिक्रीको सम्झौतामा हस्ताक्षर पनि भएको छ । सम्झौताअनुसार, कुल जारीपूँजीमध्ये २० प्रतिशत सेयर आईडिया फर नेपाल प्रालिको रहनेछ ।
स्मरण रहोस्,पैतालीस देशका दुई हजार भन्दा बढी गैरआवासीय नेपाली र चिनियाँ व्यावसायीहरु समेतको लगानी रहेको आईडिया फर नेपालले कृषि, भौतिक पूर्वाधार, पर्यटन तथा प्रविधिका विभिन्न परियोजनामा पनि लगानी गर्दै आएको छ ।
कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म निर्माण गर्ने भनिएको उक्त केबलकार ८४.१ किलोमिटर लामो हुनेछ । त्यसमा छ वटा अन्तरिम स्टेशनहरु रहने र घोरेपानी, तातोपानी, लेते, कोबाङ, जोमसोम र कागबेनीमा चढ्ने र ओर्लने व्यवस्था गरिनेछ । साथै, बीचमा तिखेढुंगा, घासा र मार्फामा समेत चढ्ने र ओर्लने सुविधा हुनेछ ।
कम्पनीले जनाएअनुसार, परियोजनाको प्रारम्भिक प्रतिवेदन र सम्भाव्यता अध्ययन भइसकेको छ । सो निर्माण कार्यको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याकंन कार्य पनि द्रुत गतिमा अघि बढिरहेको विज्ञप्तिमा जनाइएको छ ।
हालसम्मको अध्ययन अनुसार उक्त परियोजनामा निर्माणकालीन ब्याज बाहेकको परियोजना लागत त्रिचालीस अर्ब नेपाली रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये पन्ध्र प्रतिशत जारी पुँजी (ईक्विटी) र बाँकी पचासी प्रतिशत कर्जा रहने विज्ञप्तिमा जनाइएको छ ।

फोटो स्रोत: http://www.marysrosaries.com
Source: Ratopati

Tuesday, February 12, 2019

माउण्ट रोयल एजुकेशन बुटवलमा

बुटवल, माघ ।  माउण्ट रोयल एजुकेशन को बुटवमा शुभारम्भ गरिएको छ । आईतबार बुटवल वडा नम्बर–९ का अध्यक्ष विष्णु बहदादुर थापाले कन्सल्टेन्सीको उद्घाटन गनुभएको हो ।  विगत लामो समय देखि जापानमा बस्दै आएका राजन गैरेले बुटवल–९ राजमार्ग चौरहामा  कन्सल्टेन्सी सुरुवात गनुभएको हो ।
 कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले  नेपालमा शिक्षित बेरोजगारहरुको संख्या बढि भएको भन्दै विदेशमा गएर सीप शिकेर पुनः  नेपालमा नै आएर पेश व्यवसाय गर्नको लागि कन्सटेन्सीहरुले उत्प्रेरणा प्रदान गर्नुपर्ने बताउनुभयो ।   कार्यक्रममा बोल्दै अध्यक्ष  राजन गैरेले पहिलो चरणमा जापानको अतिरिक्त युरोपियन देशहरुको लागि समेत आफुले कार्य गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा बुटवल उवासंघका सचिव कमल पौडेल, गरिमा विकास बैंक बुटवल शाखा प्रमुख लेखनाथ भट्राई,  नेपाल टेलिकम बुटवल शाखा अधिकृत दोण प्रसाद गैरे, जोन एजुकेशन बुटवल शाखा प्रमुख कृष्ण न्यौपाने लगायतले बोलेका बोल्नुभएको थियो ।

Wednesday, February 6, 2019

बिहीबार र शुक्रवार देशैभर बदली हुने


केही भागमा भारी वर्षा र भारी हिमपातको सम्भावना 

काठमाडौँ — पश्चिमबाट आएको न्यूनचापीय प्रणाली र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रणालीका कारण बुधवार अपरान्हदेखि पोखरासम्म बदली भइसकेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार बिहीबार र शुक्रवार देशैभर बदली हुनेछ ।
‘पश्चिमबाट आएको न्यूनचापीय प्रणालीमा अरबसागरबाट आएको जलवाष्पयुक्त वायुको प्रणाली मिसिएपछि देशैभर मौसममा गडबडी हुनेछ’ प्रधानांगले कान्तिपुरसित भने, ‘शनिवारसम्मै असर पर्ने देखिन्छ, आइतबारदेखि घमाइलो हुनेछ।’
प्रधानांगले पश्चिमका उच्च भागमा भारी हिमपातको सम्भावना रहेको समेत बताए। बिहीबार र शुक्रवार वर्षा भने देशैभरी हुने महाशाखाको अनुमान छ। पश्चिमी भागमा बुधवार रातीदेखि नै वर्षा र हिमपात हुनेछ। बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशैभर हल्कादेखि मध्यम वर्षा र पश्चिमका साथै मध्य भूभागको १/२ स्थानमा भारी वर्षा समेत हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।
‘देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ’ महाशाखाले बुलेटिनमा भनेको छ, ‘ पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरूमा भारी हिमपातको पनि सम्भावना छ।’
शुक्रवार दिउँसो र राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ। शनिवार मध्य र पूर्वी भागमा मात्र बदली हुनेछ। आइतबारदेखि मौसममा सुधार आउने र घमाइलो सुरु हुने मौसमविद्हरूले उल्लेख गरेका छन्।
Source: Kantipur




Tuesday, February 5, 2019

जैविक घडीको भर

रामचन्द्र अधिकारी

काठमाडौँ — हिउँदमा बिहान उठ्न गाह्रो लाग्ने कारण जाडो मात्र होइन, अर्को कारण पनि छ –उज्यालो ढिलो हुनु । उज्यालो ढिलो हुनाले निद्रा नभाग्ने वा शरीरमा जाँगर नभरिने अर्को भित्री कारण छ । त्यो हो– मेलाटोनिन हर्मोन । यो हर्मोन उज्यालोको अनुपस्थितिमा जीउमा उत्पादन हुन्छ, जसले निद्रा लगाउँछ ।  उहिले घडी थिएन, मानिस घाम हेरेर वा आफ्नो शरीरले दिने छनकका आधारमा कामबाट घर फर्किने गर्थे । बिहान उठ्नेदेखि राति सुत्नेसम्मका गतिविधि प्राय: जीउले अनुभव गराउने संकेतअनुसार हुने गर्थे । अहिले घडीको भरमा जीउ चलाउन खोजिएला तर जीउले आफ्नै तालमा चल्न खोजिरहेको हुन्छ । अधिकांशको सुत्ने र उठ्ने तालिकालाई जीउले निर्धारण गर्छ । हाम्रो शरीरमा हुने गतिविधि जस्तै– भोक लाग्ने, अल्छी लाग्ने, जोश आउने, यौन उत्तेजना हुने, बानी–व्यहोरा आदि जैविक घडीले निर्धारण गर्छ ।

सजीवको शरीरका आन्तरिक जैविक प्रक्रियाको चक्र नियमितता वा वातावरणअनुसार जीवजन्तुले आफूलाई सञ्चालन गर्ने प्राकृतिक नियम जैविक घडी हो । जैविक घडी ठिक समयका साथ चल्छ । एउटा उदाहरण– अफगानिस्तानको ‘काफल पाक्यो’ चरा नेपाल घुम्न आइपुग्ने समय हरेक साल उही हुन्छ । साइबेरियाका चरा नेपाल आउने समय सालपिच्छे खास फरक पर्दैन । दिउँसो गतिविधि गर्ने जनावरहरू हुन् या राति सक्रिय हुनेहरू, उनीहरूलाई आफ्नै जीउले कति बेला के गर्ने भन्ने संकेत दिइरहेको हुन्छ । कुखुराको भाले बास्नु पनि जैविक घडीको उदाहरण हो ।

धेरै वैज्ञानिकले अलग–अलग गरेका अनुसन्धानको निचोड अनुसार मानिसको शरीरमा जैविक घडी यसरी चलेको हुन्छ– बिहान ४ बजेतिर शरीरको तापक्रम सबैभन्दा कम हुन्छ, ६ बजे कोर्टिसोलको मात्रा बढेको हुन्छ र ६ बजेदेखि ९ बजेसम्म रक्तचाप ह्वात्तै बढ्छ । साढे ७ बजेदेखि मेलाटोनिन हर्मोनको मात्रा घटिदिन्छ र पुरै निद्राको ह्याङओभर हट्छ । ९ बजेतिर पुरुषका अन्डकोषले धेरै परिमाणमा टेस्टेस्टेरोन हर्मोन उत्पादन गर्छन् र उनीहरूलाई उत्तेजना पनि बढी हुने हुन्छ । बिहान १० बजेको समय दिमाग एकदम जाँगरिलो र काम गर्न तम्तयार हुन्छ ।

१२ बजेको समयमा जीउका सबै प्रणाली अति संगठित र समन्वयको अवस्थामा हुन्छन्, यो बेला गरिएको निर्णय दर्बिलो हुन्छ । दिउँसो १ देखि ३ बजेतिर आन्तरिक जैविक रासायनिक प्रतिक्रियाको दर उच्च बन्छ । साँझ ६ बजे शरीरको तापक्रम सबैभन्दा उच्च हुन्छ । ८ बजे रक्तचाप उच्च हुन्छ । ९ बजे मेलाटोनिन हर्मोनको मात्रामा वृद्धि हुन गई निद्रा लाग्छ र राति १२ बजेदेखि २ बजेसम्म मानिस गहिरो निद्रामा परेको हुन्छ ।

जैविक घडीको गति कारणवश ढिलो–चाँडो भयो भने परिणाम राम्रो आउँदैन । युरोपमा भएका एक दशकका अध्ययनले देखाएका छन् कि सडक दुर्घटना गराउने चालक र कार्यस्थानमा भएका दुर्घटनाका घाइते आधा घण्टा मात्र निद्रा बिग्रिएकाहरू थिए । जैविक घडीमा कुनै किसिमको अवरोध वा अवचलन आए मुटुको विराम, मानसिक विराम, मधुमेह, क्यान्सरलगायत विविध रोगव्याध लाग्ने वैज्ञानिकहरूको ठम्याइ छ ।

जैविक घडीलाई सञ्चालन गर्न मस्तिष्कको हाइपोथालामस भनिने भागमा सुप्राचाइस्माटिक न्युक्लियस हुन्छ भन्ने कुरा स्नायु वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यसलाई केन्द्रीय घडी पनि भनिन्छ । जीउमा थुप्रै अरू क्षेत्रीय र स्थानीय घडी छन् । जसरी भौतिक घडीलाई दम दिनुपर्छ या ब्याट्रीको ऊर्जा चाहिन्छ, यसलाई चलाउन या समय निर्धारण गर्न प्रकाश जरुरी पर्छ, जुन आँखाबाट छिरेको हुन्छ । सो न्युक्लयसभित्रको जिनले दिमागी, ग्रन्थि र मुटु सम्बन्धीका प्रक्रियालाई सञ्चालन गर्छ ।

सम्बन्धित क्षेत्रका विज्ञहरूका अनुसार जैविक घडीको प्रत्येक पल ख्याल गरिनुपर्छ । जस्तै– कुन भ्याक्सिन कति बजे, कुन अंग र भाग (मासु, नसा वा अन्य तन्तु) मा हान्दा बढी बलियो प्रतिरोधात्मक क्षमता दिने हो भन्ने परिभाषित छ । जैविक घडी अनुसार पिल्स लगायतका रक्तचाव बढाउने औषधी सुत्ने बेला वा राति ९ बजेपछि खान भनिएको हो । क्यान्सरको केमोथेरापी राति गर्दा अन्य तन्तुमा पर्ने अतिरिक्त असर कम हुनजान्छ । बेलुका गरिष्ठ भोजन गर्नुहुन्न । जैविक घडी अनुसार राति शरीरलाई चाहिने प्रोटिन आफंै बनिन्छ । हामीले बढ्ता खाए शरीरलाई हानि मात्र गर्छ ।

बेलायतको किङ्गस कलेजका पोषण विज्ञानका वैज्ञानिक गेर्डा पटले लन्डनका पाँच हजार मानिसका खानपिनसम्बन्धी बानी–व्यहोरा अध्ययन गरे । सन् १९४६ देखि लगातार दशकाैं अध्ययन गर्दा निष्कर्ष निस्कियो– जो जैविक घडीअनुसार चलेर नियमित समयमा खाना खाँदैन, ऊ मुटु र मधुमेहको विराम हुने खतरामा पुग्यो । राति काम गर्ने र दिउँसो सुत्नेहरू जैविक घडीविपरीतका भएकाले उनीहरूमा निको नहुने थकाइ रोग र भोक नलाग्ने समस्या आइपर्छ ।

सन् २०१७ को औषधि विज्ञानमा नोबेल पुरस्कार जैविक घडीकै अनुसन्धाताले पाएका थिए । जेफेरी सी हल, माइकल रोसबस र माइकल डब्लु योङले दिनको २४ घन्टामा जीवन कसरी अनुकूलित भएको हुन्छ भनेर अनुसन्धान गरेर लेख प्रकाशित गरेका थिए । उनीहरूले यसैसँग आधारित भएर जीउमा क्यान्सर कसरी विकास हुन्छ भन्ने पनि पत्ता लगाएका थिए ।

जैविक घडीको निर्धारक जीनलाई तन्दुरुस्त राखिनुपर्छ । यसलाई दुरुस्त राख्न उसले संकेत गरे अनुसार चल्नुपर्छ । यसको प्रक्रिया स्वस्थ जीवनशैली र परिणाम स्वस्थ जीवन र दीर्घ आयु हो । स्वस्थ जीवन जिउने हो भने मानिसले भौतिक घडी होइन, जैविक घडीको समय पछ्याउन जरुरी छ ।

लेखक स्नातकोत्तर क्याम्पस विराटनगर, प्राणीशास्त्र विभागका उपप्राध्यापक हुन् ।
ramchandra.adhikari@gmail.com
Source: Ekantipur

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *