काठमाडौँ — हिउँदमा बिहान उठ्न गाह्रो लाग्ने कारण जाडो मात्र होइन, अर्को कारण पनि छ –उज्यालो ढिलो हुनु । उज्यालो ढिलो हुनाले निद्रा नभाग्ने वा शरीरमा जाँगर नभरिने अर्को भित्री कारण छ । त्यो हो– मेलाटोनिन हर्मोन । यो हर्मोन उज्यालोको अनुपस्थितिमा जीउमा उत्पादन हुन्छ, जसले निद्रा लगाउँछ । उहिले घडी थिएन, मानिस घाम हेरेर वा आफ्नो शरीरले दिने छनकका आधारमा कामबाट घर फर्किने गर्थे । बिहान उठ्नेदेखि राति सुत्नेसम्मका गतिविधि प्राय: जीउले अनुभव गराउने संकेतअनुसार हुने गर्थे । अहिले घडीको भरमा जीउ चलाउन खोजिएला तर जीउले आफ्नै तालमा चल्न खोजिरहेको हुन्छ । अधिकांशको सुत्ने र उठ्ने तालिकालाई जीउले निर्धारण गर्छ । हाम्रो शरीरमा हुने गतिविधि जस्तै– भोक लाग्ने, अल्छी लाग्ने, जोश आउने, यौन उत्तेजना हुने, बानी–व्यहोरा आदि जैविक घडीले निर्धारण गर्छ ।
सजीवको शरीरका आन्तरिक जैविक प्रक्रियाको चक्र नियमितता वा वातावरणअनुसार जीवजन्तुले आफूलाई सञ्चालन गर्ने प्राकृतिक नियम जैविक घडी हो । जैविक घडी ठिक समयका साथ चल्छ । एउटा उदाहरण– अफगानिस्तानको ‘काफल पाक्यो’ चरा नेपाल घुम्न आइपुग्ने समय हरेक साल उही हुन्छ । साइबेरियाका चरा नेपाल आउने समय सालपिच्छे खास फरक पर्दैन । दिउँसो गतिविधि गर्ने जनावरहरू हुन् या राति सक्रिय हुनेहरू, उनीहरूलाई आफ्नै जीउले कति बेला के गर्ने भन्ने संकेत दिइरहेको हुन्छ । कुखुराको भाले बास्नु पनि जैविक घडीको उदाहरण हो ।
धेरै वैज्ञानिकले अलग–अलग गरेका अनुसन्धानको निचोड अनुसार मानिसको शरीरमा जैविक घडी यसरी चलेको हुन्छ– बिहान ४ बजेतिर शरीरको तापक्रम सबैभन्दा कम हुन्छ, ६ बजे कोर्टिसोलको मात्रा बढेको हुन्छ र ६ बजेदेखि ९ बजेसम्म रक्तचाप ह्वात्तै बढ्छ । साढे ७ बजेदेखि मेलाटोनिन हर्मोनको मात्रा घटिदिन्छ र पुरै निद्राको ह्याङओभर हट्छ । ९ बजेतिर पुरुषका अन्डकोषले धेरै परिमाणमा टेस्टेस्टेरोन हर्मोन उत्पादन गर्छन् र उनीहरूलाई उत्तेजना पनि बढी हुने हुन्छ । बिहान १० बजेको समय दिमाग एकदम जाँगरिलो र काम गर्न तम्तयार हुन्छ ।
१२ बजेको समयमा जीउका सबै प्रणाली अति संगठित र समन्वयको अवस्थामा हुन्छन्, यो बेला गरिएको निर्णय दर्बिलो हुन्छ । दिउँसो १ देखि ३ बजेतिर आन्तरिक जैविक रासायनिक प्रतिक्रियाको दर उच्च बन्छ । साँझ ६ बजे शरीरको तापक्रम सबैभन्दा उच्च हुन्छ । ८ बजे रक्तचाप उच्च हुन्छ । ९ बजे मेलाटोनिन हर्मोनको मात्रामा वृद्धि हुन गई निद्रा लाग्छ र राति १२ बजेदेखि २ बजेसम्म मानिस गहिरो निद्रामा परेको हुन्छ ।
जैविक घडीको गति कारणवश ढिलो–चाँडो भयो भने परिणाम राम्रो आउँदैन । युरोपमा भएका एक दशकका अध्ययनले देखाएका छन् कि सडक दुर्घटना गराउने चालक र कार्यस्थानमा भएका दुर्घटनाका घाइते आधा घण्टा मात्र निद्रा बिग्रिएकाहरू थिए । जैविक घडीमा कुनै किसिमको अवरोध वा अवचलन आए मुटुको विराम, मानसिक विराम, मधुमेह, क्यान्सरलगायत विविध रोगव्याध लाग्ने वैज्ञानिकहरूको ठम्याइ छ ।
जैविक घडीलाई सञ्चालन गर्न मस्तिष्कको हाइपोथालामस भनिने भागमा सुप्राचाइस्माटिक न्युक्लियस हुन्छ भन्ने कुरा स्नायु वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यसलाई केन्द्रीय घडी पनि भनिन्छ । जीउमा थुप्रै अरू क्षेत्रीय र स्थानीय घडी छन् । जसरी भौतिक घडीलाई दम दिनुपर्छ या ब्याट्रीको ऊर्जा चाहिन्छ, यसलाई चलाउन या समय निर्धारण गर्न प्रकाश जरुरी पर्छ, जुन आँखाबाट छिरेको हुन्छ । सो न्युक्लयसभित्रको जिनले दिमागी, ग्रन्थि र मुटु सम्बन्धीका प्रक्रियालाई सञ्चालन गर्छ ।
सम्बन्धित क्षेत्रका विज्ञहरूका अनुसार जैविक घडीको प्रत्येक पल ख्याल गरिनुपर्छ । जस्तै– कुन भ्याक्सिन कति बजे, कुन अंग र भाग (मासु, नसा वा अन्य तन्तु) मा हान्दा बढी बलियो प्रतिरोधात्मक क्षमता दिने हो भन्ने परिभाषित छ । जैविक घडी अनुसार पिल्स लगायतका रक्तचाव बढाउने औषधी सुत्ने बेला वा राति ९ बजेपछि खान भनिएको हो । क्यान्सरको केमोथेरापी राति गर्दा अन्य तन्तुमा पर्ने अतिरिक्त असर कम हुनजान्छ । बेलुका गरिष्ठ भोजन गर्नुहुन्न । जैविक घडी अनुसार राति शरीरलाई चाहिने प्रोटिन आफंै बनिन्छ । हामीले बढ्ता खाए शरीरलाई हानि मात्र गर्छ ।
बेलायतको किङ्गस कलेजका पोषण विज्ञानका वैज्ञानिक गेर्डा पटले लन्डनका पाँच हजार मानिसका खानपिनसम्बन्धी बानी–व्यहोरा अध्ययन गरे । सन् १९४६ देखि लगातार दशकाैं अध्ययन गर्दा निष्कर्ष निस्कियो– जो जैविक घडीअनुसार चलेर नियमित समयमा खाना खाँदैन, ऊ मुटु र मधुमेहको विराम हुने खतरामा पुग्यो । राति काम गर्ने र दिउँसो सुत्नेहरू जैविक घडीविपरीतका भएकाले उनीहरूमा निको नहुने थकाइ रोग र भोक नलाग्ने समस्या आइपर्छ ।
सन् २०१७ को औषधि विज्ञानमा नोबेल पुरस्कार जैविक घडीकै अनुसन्धाताले पाएका थिए । जेफेरी सी हल, माइकल रोसबस र माइकल डब्लु योङले दिनको २४ घन्टामा जीवन कसरी अनुकूलित भएको हुन्छ भनेर अनुसन्धान गरेर लेख प्रकाशित गरेका थिए । उनीहरूले यसैसँग आधारित भएर जीउमा क्यान्सर कसरी विकास हुन्छ भन्ने पनि पत्ता लगाएका थिए ।
जैविक घडीको निर्धारक जीनलाई तन्दुरुस्त राखिनुपर्छ । यसलाई दुरुस्त राख्न उसले संकेत गरे अनुसार चल्नुपर्छ । यसको प्रक्रिया स्वस्थ जीवनशैली र परिणाम स्वस्थ जीवन र दीर्घ आयु हो । स्वस्थ जीवन जिउने हो भने मानिसले भौतिक घडी होइन, जैविक घडीको समय पछ्याउन जरुरी छ ।
लेखक स्नातकोत्तर क्याम्पस विराटनगर, प्राणीशास्त्र विभागका उपप्राध्यापक हुन् ।
ramchandra.adhikari@gmail.com
Source: Ekantipur
No comments:
Post a Comment