र त्यसमा चारओटा कम्पनी छनोट गर्दै विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले अर्को बुधवार अर्थात् पुस २८ गते दिउँसो १ बजेट आर्थिक प्रस्ताव खुला गरिने जानकारी दिएको छ । मंगलवार सूचना जारी गर्दै केन्द्रले सुरुङमार्ग निर्माणका लागि प्राविधिक प्रस्ताव स्वीकृत हुने चारओटा कम्पनीको नाम सार्वजनिक गरेको छ ।
सूचनाअनुसार ती चारओटै कम्पनी एकै देश अर्थात् चिनियाँ कम्पनी रहेका छन् । आर्थिक प्रस्ताव खुला गरेपछि कम बिड हाल्ने कम्पनीलाई सुरुङमार्ग निर्माणका लागि जिम्मा दिइने छ । यसअघि प्रस्ताव स्वीकृत नहुने कम्पनीहरूले दाबी विरोध गर्न पाउने नियम छ ।
केन्द्रका अनुसार प्राविधिक प्रस्ताव स्वीकृत भएका कम्पनीहरूमा चाइन फस्र्ट हाइवे इन्जिनीयरिङ कर्पोरेशन, सीओभीईसी–सीआरईजीसी जेभी, चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन र सीसीईसीसी–सीआरसीसी १४–सियुयान जेभी छन् । यी कम्पनीमध्ये आर्थिक प्रस्ताव स्वीकृत भएपछि एउटा कम्पनीले निर्माणको जिम्मा पाउनेछ । चारओटै चिनियाँ कम्पनी भएकाले सिद्धबाबा सुरुङमार्ग चिनियाँ कम्पनीले बनाउने निश्चित देखिन्छ ।
मुलुकभरका विभिन्न स्थानमा सुरुङमार्ग आयोजनाहरू निर्माण गर्ने घोषणा भए पनि सिद्धबाबा सुरुङमार्ग योजना मात्रै निर्माणमा अघि बढ्ने देखिएको छ । इन्जिनीयरिङ, प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) मोडलमा ठेक्का लगाइने यो सुरुङमार्ग ५ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
नेपालको लगानीमा नै बन्ने सुरुङमार्गका लागि अर्थ मन्त्रालयले २०७६ मङ्सिरमा रू. १० अर्ब १५ करोडको बजेट स्रोत सुनिश्चित गरिसकेको छ । ठेक्का सम्झौता भएको ९ महीनामा सम्बद्ध कम्पनीले सुरुङमार्गको डिजाइन विभागलाई उपलब्ध गराउनेछ ।
केन्द्रका प्रमुख डा. विजय जैसीले २ वर्षअघि नै स्वीस डेभलपमेन्ट कर्पाेरेशनले प्रारम्भिक डिजाइन तथा प्रतिवेदन विभागलाई दिइसकेको छ । सोही आधारमा विभागले विभिन्न प्यारामिटर राखेर सुरुङमार्गको टेन्डर गरेको उनले बताए । ‘निर्माण कम्पनीले ५ वर्षभित्र सुरुङमार्ग बनाएर नेपाललाई हस्तान्तरण गर्नुपर्छ,’ उनले भने, ‘ईपीसी मोडलमा ठेक्का भएकाले तोकिएकै समयमा सुरुङमार्ग बन्ने लगभग सुनिश्चित छ ।’ उक्त सडकको सिद्धबाबा खण्डको करीब ४ देखि ५ किलोमीटर क्षेत्रमा जाने पहिरोका कारण प्रत्येक वर्ष जनधनको क्षति हुँदै आएको छ । यो क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा यो सुरुङमार्ग अघि सारेको थियो ।
उक्त आयोजनाअन्तर्गत चिडिया खोलादेखि माथिल्लो सिद्धबाबासम्म ९०० मीटर सडकलाई दुई लेनमा स्तरोन्नति गरिनेछ भने सुरुङमार्गको अर्को भागको ५०० मीटरलाई पनि दुई लेनमा स्तरोन्नति गरिनेछ । सुरुङमार्गको दूरी १ किलोमीटर १२६ मीटरको हुनेछ ।
Source: आर्थिक अभियान
No comments:
Post a Comment