अहिले उपत्यका अपराध अनुसन्धान कार्यालयमा आउने उजुरीहरूको तथ्यांक हेर्ने हो भने डिजिटल माध्यमबाट भइरहेका ठगीको अवस्था एकदमै भयावह बन्दै गएको देखिन्छ । उजुरीको जुन संख्या छ, त्यो हेर्दा विभिन्न स्वरुपमा डिटिजल माध्यमबाट मानिसहरू लुटिइरहेका छन् ।
इन्टरनेटमा मानिसको पहुँच बढ्दो छ । सामाजिक सञ्जालमा लगभग सबै जसोको खाता छ । कतिपयले बुझेर कतिले रहरै रहरमा सामाजिक सञ्जालमा खाताहरू खोलेका छन् । सबै मानिस सामाजिक सञ्जालमै हुने भएपछि कसैलाई भेट्न, ठग्न वा लुट्न अन्त कतै जानु जरूरी नै भएन ।
फेसबुक, इन्स्टाग्राम लगायत सञ्जालमार्फत विभिन्न मानिस भेट हुने भइहाले । त्यहींबाट कहिले वैदेशिक रोजगारीको विज्ञापन राखिन्छ, कहिले विभिन्न सामान निकै सस्तोमा पाइने भनेर लोभ्याउने गरिन्छ । अनि, प्रयोगकर्ताहरूले कसरी त्यो सस्तोमा आयो भन्ने सोच्दै नसोची विश्वास गरिदिंदा ठगीमा पर्ने गरेका छन् ।
ठगीमा संलग्न गिरोहले तपाईंले चाहेका कुराहरू कुनै कम्पनीका डिमाण्ड लेटरदेखि सम्झौताका कुराहरू सबै दुरुस्तै पठाइदिन्छन्, त्यसलाई प्रयोगकर्ताले विश्वास गर्ने गरेको देखिन्छ । त्यसपछि भने अनुसार विभिन्न ठाउँमा रकम पठाउनुहुन्छ र ठगिएँ भनेर प्रहरीसमक्ष आउनुहुन्छ ।
पहिले चिट्ठा पर्यो भन्दै ठग्ने ट्रेण्ड नै देखिएको थियो । कहिले कोभिड लक्की ड्र पर्यो, कहिले एनसेल लक्की ड्र पर्यो, कहिले २५ लाखको चिट्ठा पर्यो भन्दै म्यासेज पठाउँछन् या आवाज पठाउँछन् ।
कसैले तपाईंलाई फलानो कम्पनीबाट बोल्दैछु भनेर फोन गरेर पनि ठगी गरेको देखिएको छ । त्यही कुरा विश्वास गरेर भने अनुसार पैसा पाउनका लागि ट्याक्स पठाउनुपर्छ भनेर विभिन्न खाता नम्बरहरू दिइन्छ । या विभिन्न डिजिटल वालेटहरू दिइन्छ ।
ठग्ने र ठगिनेबीच सामाजिक सञ्जालमा चिनजान हुन्छ । एकापसमा कुराकानी भइरहेको हुन्छ । त्यसरी कुरा गर्नेहरू यति प्रोफेसनल हुन्छन् कि पहिले तपाईंबाट धेरै कुरा लिन्छन् । तपाईंका रुचि, आम्दानीका स्रोत सबै फुत्काउँछन् । त्यसपछि तपाईंको रुचिको विषयमा केन्द्रित भएर कुराकानी सुरु गर्छन् ।
कतिपयले म यूएनमा काम गर्दै गरेको मान्छे, रिटायर्ड भएँ । श्रीमती पनि वितिन् । अब नेपाल राम्रो छ, बाँकी जीवन यहाँ आएर विताउनु छ लगायत कुरा गर्ने गरेको देखिएको छ । कतिपयले नेपाली मन पर्छ, तिमी राम्री लाग्यो, तिमीलाई सामान पठाइदिन्छु भनेर लोभ्याउने गरेको पनि पाइएको छ ।
ठग्ने मान्छेले केसम्म गर्छ भने म शपिङ जाँदैछु तिमीलाई के पठाइदिउँ भन्छ । किनमेल गर्न जाँदै गरेको भिडियो समेत पठाइदिन्छ । प्याकिङ गर्दै गरेको भिडियो समेत पठाइदिन्छ । त्यो हेरेपछि मान्छे मख्ख पर्छ । किनभने, १०/१५ दिन मात्रै कुरा गरेको छ । नराम्रो कहिल्यै बोलेको छैन ।
यो काम यस्तो संगठित गिरोहले गर्छ कि त्यो भिडियो पठाइसकेपछि म फलानो देशको भन्सार विभागबाट फोन गरेको, तपाईंको यो देशमा साथी छ भनेर प्रश्न गर्छ । त्यसपछि यो नाम हो भनेर पनि सोध्छ । त्यसपछि सामान आएको छ, यस्तो यस्तो भन्छ । सामान छुटाउनका लागि भन्सारबापत यति पैसा पठाउनुपर्छ भनेर पनि भन्छ ।
कसरी थप पैसा पठाउन मनाउने भन्नेमा पनि उनीहरू पोख्त हुन्छन् । कहिले भित्र स्क्यान गरेर हेरेको डलर पो रहेछ त ! हिरा पो रहेछ त ! त्यसको त छुट्टै शुल्क लाग्छ भन्दै थप पैसा थुत्ने गरेको भेटिएको छ ।
कतिसम्म पनि गरिएको छ भने ८/१० लाख पठाइसकेपछि शंका लागेर अब पठाउँदिन भन्यो भने म एन्टी करप्सन युनिटबाट बोलेको विदेशको कालो धन तपाईंलाई पठाएको रहेछ, त्यो पैसा छिटो लैजानु भएन भने चाहिं तपाईंलाई कारबाही हुन्छ भनेर पनि ठगेको पाइएको छ ।
मान्छेले थप कारबाहीमा पर्छु कि भनेर पनि थप पैसा पठाएका छन् । अहिले अनलाइन शपिङको चलन बढेको छ । फेसबुक मात्र होइन, टिकटक र इन्स्टाग्राममा यसको व्यापार झनै फस्टाउँदो छ । जति पनि सामाजिक सञ्जाल छन्, त्यहाँ सामान बिक्रीमा राखेर त्यो प्राप्त गर्न डिजिटल वालेट वा बैंक खातामा पठाइदिनुहुन्छ ।
कतिपय अवस्थामा त्यो पैसा पीडितको खाताबाट सीधै पसलवालालाई पठाइदिएको पनि पाइएको छ । अहिले पनि एक व्यक्ति थुनामा छन्, शुभम शाह । ६ महिनाअघि गोंगबुका एक पसलेले टिकटकमा आइफोन बेच्न राख्नुभयो । ऊ चाहिं ग्राहकलाई म ई–सेवाको कर्मचारी बोल्दैछु । तपाईंको एकाउन्टमा बैंकलाई लिंक गर्नुभयो भने यस्तो फाइदा हुन्छ, क्यास ब्याक पाउनुहुन्छ भनेर कल गर्ने र ओटीपी लिएर खातामा पहुँच पुर्याउने गरेको देखिएको छ ।
उनले चाहिं गोंगबुमा बेच्न राखेको आइफोनको भुक्तानी पीडितको खाताबाट सीधै उनको खातामा ट्रान्सफर गरिदिएको थियो । अनि, दुई वटा फोन उसले वीरगञ्जमा गाडीमा पठाइदिनुस् भनेर एक हजार रुपैयाँ पनि दियो । उसले गाडी नम्बर पनि टिपाइदियो तर, को हुँ भन्ने खुलाएन ।
नाम फेक भन्यो । यता सामानको पैसा पाएकै थियो । गाडीलाई भाडा पनि दिनुभयो र पठाउनुभयो । दुई वटा फोन उसले रिसिभ गर्यो । तेस्रो फोनका बेला थाहा पाएर लिन आउने मान्छेलाई समातेर ऊमार्फत त्यो व्यक्तिलाई समात्यौं । त्यो भनेको जम्मा १८ वर्षको शुभम् शाह भन्ने व्यक्ति थियो । अहिले फेरि ९ महिनापछि त्यही शुभम् शाह भन्ने व्यक्तिलाई समातेका छौं । छुटेपछि म ई–सेवाको कर्मचारी भनेर करिब ३६ जनालाई ठगेको उजुरी छ ।
म ई–सेवाको कर्मचारी बोलेको, तपाईंको ई–सेवा बैंकसँग लिंक गर्नुभएको छ ? पहिले सोध्ने । त्यसपछि गरेको छैन भन्छन् । त्यो गर्यो भने हरेक ट्रान्जेक्सनमा १० रुपैयाँ छुट हुन्छ । अनि, १०० रुपैयाँ क्यासब्याक पाउनुहुन्छ भन्छ । त्यसपछि होला त भनेर हुन्छ भन्छन् । त्यसपछि ओटीपी कोड दिने वित्तिकै खातामा पहुँच बनाएर ठगेको पाइएको छ ।
अर्को सामाजिक सञ्जालका आईडी ह्याक गरेर पनि ठगेको पाइएको छ । हामीलाई ह्याक गर्ने मान्छे कस्तो ‘खतरा’ र ठूलो भन्ने लाग्छ । तर, एक जना किरण गिरी भन्ने यस्तै कार्यमा संलग्न व्यक्ति पक्राउ परेका थिए । भर्खरको भाइ छ । कसरी गर्छौ भनेर प्रश्न गर्दा पासवर्ड त हामी साधारण राख्छौं, गाह्रो राख्दा बिर्सिन्छौं भनेर । उसले पनि हाम्रै फेसबुक हेरेर ट्राइ गर्दागर्दा मिलाएको भन्छ ।
हुन पनि फेसबुकमा बर्थ डेको मिति राखेकै हुन्छ । घरपरिवारको सबै छोराछोरी, आफ्नो श्रीमान्, बुवाआमा सबैको विवरण हुन्छ । फलानो स्कुल पढेका साथीहरूको भेटघाट भनेर पनि राखेकै हुन्छौं । त्यहीसँग मिल्दोजुल्दो पासवर्ड हामीले राखिरहेका हुन्छौं । या त छोराछोरीको नाम राखेका हुन्छौं । आफ्नो नाम, मोबाइल नम्बर राख्ने हो, त्यही २०/२५ पटक ट्राइ गर्ने हो भने खुलिहाल्छ भन्छ । उसको सम्पर्कमा भएकाहरूलाई अप्ठ्यारो पर्यो, यो ई–सेवा एकाउन्टमा १५/२० रुपैयाँ पठाइदिनु न भनेर पनि ठगी हुन्छ ।
अर्को अघि पनि भनें ओटीपी फुत्काएर पनि ठगी हुने गरेको छ । अहिले डिजिटल वालेटहरू प्रयोग गरेर ठगीको रकम ट्रान्सफर हुने गर्छ । किनभने, सिम वितरण प्रणाली भद्रगोल छ । बदमासी गर्ने मान्छेले अर्काको कागजात प्रयोग गरेको हुन्छ । उदाहरणका लागि वान एक्स बेटको सट्टेबाजदेखि चिनियाँ नागरिकलाई पक्राउ गर्दा पनि थुप्रै सिम कार्ड बरामद भएका थिए ।
त्यस्ता सिम अर्काको कागजात प्रयोग गरेर निकालिन्छ । अनि, त्यसबाट डिजिटल वालेट बनाइन्छ । त्यो सिम निकाल्दा भरेको कागजात पनि सही हुँदैन । त्यहाँ गलत विवरण भरिएको हुन्छ । त्यसको माध्यमबाट मान्छे नै भेटिंदैन । त्यही सिमको प्रयोग गरेर डिजिटल वालेट बनाएको हुन्छ । ठगिएको पैसा ती डिजिटल वालेटमार्फत घुम्छ र क्यास पोइन्टबाट निकालिन्छ । कि त कसैलाई सामान बेचेको हुन्छ, उनीहरूलाई भुक्तानी गर्ने काममा पनि त्यो पैसा प्रयोग भएको पाइन्छ ।
अर्को वैदेशिक रोजगारी वा स्वदेशमै रोजगारी हुन्छ भनेर पनि ठगी हुन्छ । होटलमा जागिर दिन्छु भनेर कल पनि आउँछ । विज्ञापन पनि आउँछ । त्यही अनुसार विश्वास गरेर मानिसले पैसा पठाएका छन् । तर, मान्छे को हुन् भनेर चिनेको छैन । सामाजिक सञ्जालमा विश्वास गरेर वैदेशिक रोजगारमा जानेदेखि लिएर स्वदेशमै पनि रोजगार पाउने नाममा कारोबार गर्नुहुन्छ, त्यसरी पनि ठगिनुहुन्छ ।
वैदेशिक रोजगारीकै सिलसिलामा दिएका कागजातहरू प्रयोग गरेर वैदेशिक रोजगारीमा जाने मान्छेकै नाममा सिम निकालेर पनि ठगी हुने गरेको छ । त्यसरी कागजात पाएपछि सिम हरायो भनेर नयाँ निकालेको घटना पनि छन् । अनि, पीडित मेरो फोन किन बन्द भयो भनेर अलमल्ल पर्छन् । तर, सेवा प्रदायकसम्म पुग्नुअघि त्यस्ता गतिविधिमा संलग्न व्यक्तिले डिजिटल बालेटदेखि बैंक खातासम्ममा पहुँच बनाएर ठगी गरिसकेका हुन्छन् । मनम घर्ती भन्ने अहिले पनि थुनामा छन् । उनी पनि यसैमा संलग्न थिए । पीडितकै कागजात राखेर उनकै माध्यमबाट सिम निकाल्ने र खाताको पैसा साफ गर्ने गरेको देखिएको छ ।
अहिले इन्स्टाग्राममा १० हजार लगानी गर्नुस्, १० दिनमा एक लाख पाउनुहुन्छ भनेर पनि ठगी गर्ने गरिएको छ । फिर्ता पाउने भए एउटा भिडियो बनाउ अनि आफ्नो आईडीबाट पोष्ट गर भन्छन् । त्यसपछि अरूले पनि विश्वास गर्ने भए । त्यसरी ठगी भएको उजुरी पनि आएका छन् । यस्तै तरिकाले हरेक दिन जसो म ठगिएँ भनेर आउनुहुन्छ । त्यसमाथि पनि तथ्यांक केलाउने हो भने सबभन्दा धेरै उजुरी चाहिं उपहारस्वरुप सामान पार्सल पठाइदिन्छु भनेर भएको ठगी आउँछ ।
(काठमाडौं उपत्यकामा हुने गम्भीर प्रकृतिका अपराध अनुसन्धान गर्ने उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कोइरालासँग अनलाइनखबरका गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)
Source: Online Khabar
No comments:
Post a Comment