माधव अर्याल
पाल्पा, कार्तिक १५, एक दिन सामाजिक सञ्जाल फेसबुक चलाउँदै गर्दा एक जना मित्रले वालमा पोष्ट गरेको सामाग्री पढेको थिए, ‘दिनभरि काम गरेर बेलुका घर फर्किदा बाबाले सोध्छन् आज कति कमाईस् ? श्रीमतीले सोध्छन् आज कति बचाउनु भयो ? छोराछोरीले सोध्छन आज के ल्याईदिनु भयो ? तर, आमाले मात्र सोध्छिन्, आज खाना खायौ कि खाएनौ ? कति दुःख पायौ ?’ अर्का असिम ढुंगानाले पनि फेस बुकमा लेखेको शब्द पनि कम्ती राम्रो थिएन, ‘आमाको स्तन चुसेको हो, आमाको शारीरिक पिडाबाटै जन्मिएका हौं, आमालाई उमेरले वृद्ध बनाउँदै लग्यो तर तिमीलाई बिचारले वृद्ध बनाउँदै छ ।’
माथिका दुवैले लेखेका शब्दलाई एक पटक फेरी पढ्ने हो भने आमाको माया कति हुन्छ भन्ने कुरा भनिरहन पर्दैन । प्रसंग केही दिन पहिले पोखरामा नरबहादुर कार्कीको प्रशिक्षणको हो । यही सन्दर्भलाई जोड्ने हो भने कार्कीले सकारात्मक सोंचको विकास गर्ने क्रममा आमालाई चिठी लेख्न लगाउनुभयो । पश्चिमाञ्चलका १५ जिल्लाका पत्रकार सहभागी कार्यक्रम थियो । आफ्नो प्रशिक्षणका क्रममा सकारात्मक सोंचको विकास गर्दै जाने क्रममा आमा शब्द आयो । कतिपयले आमालाई सम्झिन भन्दा आँखाबाट आँसु नै झारे । सानो स्वरमा संगीत बनाएर केही समय आमाप्रति स्मरण गर्न भनिएको थियो । झण्डै अधिकांश भावुक नै बने । मेरा आँखाबाट पनि आँसु धरधरी बग्यो । आमालाई सम्झिँदा मेरा आँखाबाट आँसु झार्ने कारण थिए ।
त्यही भएर होला त्यो प्रशिक्षणमा आमालाई धेरै पत्रकार साथीले सम्झे । आमा नभएकाहरुले आँसु झार्ने नै भए । तर, कार्कीले एउटा बिदेशीका विषयमा उनलाई आमाले जन्माईसकेपछि छाडेर हिडेको विषयलाई लिएर जोडेका हुन् । वर्षौदेखि सुःख सयलमा हुर्केका उनलाई आफ्नो आमाले जन्माएर छाडेर हिडेको थाहा पाउँदा पुनः उनले सबै काम बिगारेर सडकमा ओर्लिएको उदाहरण प्रस्तुत गरिएको थियो । तर, सकारात्मक सोंचको तालिमपछि पुनः उनले सबै राम्रो गरेको कुरालाई जोडिएको थियो । त्यहाँ आमालाई सम्झिदा सबै भावुक बने । सबैको भन्दा पनि मेरो आँखाबाट नै किन आँसु धरधरी बग्यो त ? आमा भन्ने शव्द प्रति किन आँसु बग्यो ? अरुले चिठी लेख्दा मैले लेख्न सकिन । किन लेख्न सकिन ? मेरो आफ्नै कथा छ । आफ्नै व्यथा छ । यसलाई आज म खोल्न चाहान्छु ।
पत्रकारिता पेशामा आएको १६ वर्ष बितेछ । तर, पोखरामा भएको कार्कीको तालिममा बसेपछि आफ्ना कुरा खोल्न सक्ने भएको छु । अहिलेसम्म सबैलाई सबै कुरा भन्नु हुँदैन भन्ने सोंच थियो । तर, अहिले यही लेखमार्फत् सबै कुरा खोल्न मन लाग्यो । त्यो तालिमको अर्को उपलब्धि थियो । मान्छेले आफ्ना पीडा लुकाएर राख्छ । त्यो कुरा बाहिर आउँदा मलाई कसैले केही भन्छन् की भन्ने सोंच राख्छ । यस्तो होइन । आफ्ना कुरा साथीलाई भन त्यो भन्दा धेरैलाई भन तब तिम्रो मन खाली हुन्छ । बोझ कम हुन्छ । त्यहाँ आमाको कुरा गरेर एकाग्र बन्दा बर्बर किन रोए र रुने मन भयो ? मेरो भावुकताप्रति सबै जना किन अचम्मित भए ? यो लेख तपाइ पढेपछि मेरी आमालाई पनि लगेर पढेर सुनाईदिनुहोला । किन भने तपाईहामीले जस्तो मेरी आमाले खरखर्ती पढ्न सक्नु हुन्न ।
आजका दिनमा मलाई म कस्तो व्यक्ति हुँ ? जो सुकैले यस्तो पीडा भोग्न परेको हुँदैन भन्ने कुरा यही लेखमार्फत् खोल्दैछु । पाल्पाको खालीवन, ८ लाम्दीखोलामा जन्मिए । म नजन्मिदै बुबा मधेस (नवलपरासीको सर्दी) जानुभएको रहेछ । बुबाले उतै अर्को बिहे गरेकोपछि मात्र थाहा भयो । घरजम उतै गरेर पो मेरी आमालाई चटक्कै बिर्सेर बस्नु भएको थियो भन्ने । आमाले ढाई वर्षमै छाडेर हिड्नुभयो । अर्को बुबासंग बिहे गर्नु भएछ । मेरो बाल्यकाल हजुरआमा र अंकलको सहारामा बस्नु परेको थियो । आमालाई बिर्साउने प्रयासमा सबै लाग्नुभयो ।
कहाँ जानु भयो भन्ने पनि थाहा भएन । मेरी आमाले नौ महिना कोखमा राखेर जन्माउनु भयो । प्रसव पीडा सहनुभयो । २ वर्ष ६ महिना हुँदासम्म आफ्नो स्तन चुसाएर मलाई हुर्काउनुभयो । आफुले एक छाक खाएर पनि मलाई दुई छाकनै खुवाएर हुर्काएकै हो । ममतामयी आमाले दुःख नगरेको होइन । यति हुँदा हुँदै पनि बाध्य भएर मलाई ढाई बर्षको उमेर भएकै बेला चटक्कै बिर्सेर छाडेर हिड्नुभयो । खै कहाँ जानु भयो मलाई र मेरो परिवारका अरुलाई लामो समय थाहा भएन । त्यस बेलामा खोजी कार्य केही गरेपछि मामाघर तिरकाले पत्ता लगाएका रहेछन् । अनि सबै चुप लागेर बसे । तर, उमेर बढ्दै जाँदा स्याङ्जाको गल्याङ् नजिकै शिखरडा“डा भन्ने गाउँमा हुनुहुन्छ भन्ने थाहा थियो । म संँग त्यहाँसम्म जान सक्ने उपाय थिएन ।
कोही कसैसंग जान्छु भन्न पनि सकिन । आमालाई मैले बिर्सिसकेको थिएँ । आमा र घरमा भएका अरु महिलाबीच मैले भिन्नता देख्ने कुरै भएन । किन भने मैले आमाको अनुहार नै बिर्सिसकेको थिए । तर पनि मलाइ आमा भन्ने शव्दप्रति नै खासै माया थिएन । मलाई आमाको माया थिएन । मेरो ७ कक्षासम्मको पढाई त हजुरआमा र अंकलहरुबाट नियमित भइरहेको थियो । तर, घरको अवस्था, बुबाको नवलपरासी बसाई, आमाले छाडेर हिडेकै कारण पनि मेरो पढाईलाई निरन्तरता दिन मुश्किल प¥यो । ८ कक्षा र ९ कक्षा नवलपरासीको सर्दीमा बुबासँग गएर पढेँ । तर, १० कक्षामा पढ्न कक्षा, ९ को रजिष्टेशन नभरेकाले पढेको अर्थ रहेन ।
बुबासँग बसेपनि अर्को आमातर्फको दुई भाई छोरा र एक छोरी थिए । म सौतेला छोरा भएँ र आमाको माया कहाँनिर आवश्यक पर्दोरहेछ भन्ने बिस्तारै बुझ्दै गएँ । अर्को आमाले आफ्ना छोरा र मलाई गरेको व्यवहारले नै दैनिक आँसुका धारा झर्न सुरु भए । लामो समय टिकेन बसाई । अनि ठुली फुपु (बुबाको दिदी) को घरमा भागेर गएँ । घर छाडेको घोषणा पनि त्यही बेला भयो । अनि फुपुको छोरासँग दिल्ली काम गर्न पुग्न बाध्य भए । केही पैसा ९ महिना बस्दा कमाउने अवसर भयो । फेरि घरमा फर्केर बुबालाई भेट्न जाँदा ढोगका लागि खुट्टा समात्दा खुट्टा सार्नु र नबोल्नु मेरो लागि अर्को चोट लाग्यो । अनि फेरि पढाईलाई निरन्तरता दिन नसक्ने अवस्था भयो ।
आफन्तसँग कलकत्ताको यात्रा सुरु भयो । झण्डै एकवर्षपछि पहाड घर फर्के । फर्किदा मेरो मामा (चिदीपानी, ५ अगाहाखोलाका स्व. नारायण भट्टराई) ले मलाई खोजेको भन्ने खबर आयो । त्यतिबेला १७ वर्ष भईसकेको थिए । मामासंगको भेटले म पुनः अर्कोवर्षबाट पढाईलाई निरन्तरता दिने सोंचमा पुगे । पुनः कलकत्ता आफ्ना सामान लिन गएँ । तीन चार महिनाको बसाइपछि पुनः फर्केर तानसेनमा मामासँग पढाईलाई निरन्तरताको लागि बसेँ । मामाले धेरै पछि मात्र मेरो आमासँग भेट गराउनुभयो । मैले आमालाई चिनिन ।
आमा कस्ती हुनुहुन्थ्यो मलाई जन्माउँदा ? अहिले म लक्का जवान भैसकेको थिए । आमा बुढी हुँदै जानु भएको थियो । मलाई जन्माउँदा उहाँको जवानी अवस्था थियो होला । त्यसबेलामा मलाई चटक्कै छाडेर जानु भयो ।
तर पनि मैले झण्डै १८ वर्षको उमेरमा आफुलाई नौ महिना गर्भमा राखेकी, दुध चुसाएकी, ढाई वर्षसम्म हुर्काएकी आमालाई भेट्ने मौका पाएको थिएँ । मैले सकारात्मक सोंचेँ, नयाँ अध्यायको सुरुवात गरेँ । बुबा आमाले नगरेपनि मामाले मलाई पुनः नेपाल फर्काएर तानसेनको सेन उच्च माविमा पढाउनुभएको थियो । सायद, यही दुःख सम्झेर मैले पुनः नयाँ जीवनको सुरुवात गरेँ ।
मैले अध्ययन गर्नुपर्छ भन्ने सोंच बन्यो । पढेँ, एसएलसी हुँदै अहिले पत्रकारिताबाट स्नातकोत्तर तह (एमएएमसीजे) सक्काएको छु । मेरी आमाले जति दुःख गरेर एक गाँस खुवाएर मलाई हुर्काएको भए मैले केही गर्न सक्ने भन्ने सोंच पनि मनभित्र नआएको होइन । तर, पनि घरको बाध्यता, परिस्थिति पनि त्यस्तै थियो होला भन्ने सोंचे । ठूली आमा र मामाले धेरै सम्झाएपछि आमाप्रति मन फर्कियो ।
अहिले आमालाई भेट्छु । बुबासँग भन्दा आमासँग धेरै भेट हुने अवसर मिलेको छ । सायद मेरो दुःखलाई सम्झेर नै मैले चलचित्र हेर्दा होस् वा यस्ता आमाको कुरा गर्दा मन भक्कानिएर आउँछ । जसले मलाई जतिबेला पनि आँसु खस्ने बनाउँछ । अरुका छोराछोरीलाई आमाले दिएको माया देख्दा रुन मन लाग्छ । अरुले आमाका विषयमा कुरा गर्दा मलाई मन दुखेर आउँछ ।
कहिलेकाँही चलचित्रमा आमाका विषयमा कथावस्तु आउँदा पनि मनले थाम्न सक्दिन । जे होस्, आफ्नै कथावस्तुलाई सम्झाउने नरबहादुर कार्कीको प्रशिक्षणले मलाई झुट नबोल्न र मनमा भएको पीडालाई दबाएर होइन बाँडेर अघि बढ्न प्रेरणा दिएको छ । तपाई पनि आमाको मायालाई नबिर्सनुहोला ।
जसले तपाइँको पीडालाई सधै आफ्नो भनेर बाँचिन् । तपाई जहाँ भएपनि तपाईको विषयमा चिन्ता लिने गर्छिन् । जसलाई तपाईले बिर्से पनि उनी कहिल्यै बिर्सिदैनिन् । हैन र ?
No comments:
Post a Comment