-केदार शर्मा
प्रकाश पाए अवकास पाए,
विकास पाए मृदुहास पाए
रहन्न रे पाउन शेष साफै
प्रफुल्ल आफै परिपूर्ण आफै।
-कविवर माधव घिमिरे
सुख प्राप्तिलाई कविले चार शब्दमा सीमित पारिदिएका छन्― प्रकाश, अवकास, विकास र मृदुहास। आफूले खोजेको कुरा यसरी ठ्याक्कै भन्न नसके पनि हामी सबै यिनकै चाहना गरेर र पछिलागेर अनेक काम गर्छौं, थातथलो छाडेर शहर पस्छौँ वा देशै छाड्छौँ। संसारभरका शहर गुल्जार भएका त्यहाँ उपलब्ध सुविधा र अवसरप्रति बाहिरियाहरू लोभिएर हो। हामीभन्दा अघि शहर पस्नेहरू र यो लस्करमा हामीभन्दा पछि रहेकाहरू सबैको अभिप्रेरणा एउटै हो― सुख।
तर, पाएका छौँ त हामीले खोजेका कुरा? मुलुकको स्रोत, साधन, सम्पत्तिको सबभन्दा ठूलो भाग थुप्रिएको, धनीमानी र पढेलेखेका मानिस बसेको ठाउँमा सुखको प्रत्याभूति छ त? माथि चर्चा गरिएका सुखका चार आधार राजधानीमा पनि छैनन् भने कहाँ पाइएलान्? पढ्नलाई राजधानी छिरेको मैले उमेरको सबभन्दा ऊर्जाशील तीनदशक शहरमा बिताएँ। भए जति सीप र हैसियत यहीँ आर्जन गरेको मजस्तो मान्छेले शहरलाई गाली गर्नु कृतघ्नता हुन्छ। तर आफूले चाहेका सबै कुरा शहरमै पाइन्छन् भनेर यहीँको भीड बढाइरहनु पनि बुद्धिमानी हुँदैन। मलाई यो अनुभूति केही महिना अगाडि इलामको माघे गाउँ गएर बाआमासित एक साता बस्दा भएको हो।
आफ्ना सबै व्यस्तता बिर्सेर बाआमासँग बस्दा मलाई लाग्यो, अब नेपालका धेरै गाउँ आधुनिक रहनसहनका लागि तयार भइसकेका छन्। गाउँहरूमा विस्तारै आधारभूत सुविधा, भरपर्दा पूर्वाधार र अनुकरणीय अभ्यासहरू थपिएका छन् भने शहरहरू दिनहुँ अप्ठ्यारा, असुरक्षित र अनुपयुक्त हुँदै गएका छन्। राजधानी उपत्यकाको भौतिक अवस्था सप्रिने लक्षण नजिकै देखिँदैन भने गाउँमा दिनहुँ सुविधा बढेरै जान्छ, घट्दैन। त्यसैले अब चाँडै नै गाउँको विकास र उत्थानका आदर्शवादी गफ दिने होइन, आफ्नै सुख र सुविधाका लागि गाउँ फर्किने लहर चल्नेछ। मान्छेहरूले गाउँ फर्किएर वा गएर आफ्नै लागि काम गर्न थाल्दा स्वतः सार्थक विकास हुनेछ।
यो ज्योतिषीको भविष्यवाणी होइन र मानिसहरू आजको भोलि नै कुम्लो कुटुरो कसेर गाउँ जान्छन् भन्ने पनि होइन। तर शहरका सीमा र गाउँका सम्भावना चिन्नेवित्तिकै नेपालमा गाउँ जाने लहर चल्नेछ। शहरका मान्छेले म यहाँ किन बसेको छु, के के पाएको छु र के गुमाएको छु भनेर गम्नेवित्तिकै मन तरङ्गित हुन थाल्नेछ, गाउँ गएर केही समय बिताएपछि त्यहाँ हलचल हुनेछ र फर्कनेहरूको लहर चल्नेछ।
के छ शहरमा?
शहरले हामीलाई गति, प्रगति, रोजगारी र क्रयशक्ति दिएको छ। हामीले शहरमा विश्वव्यापी सम्बन्ध, विभिन्न संस्कृतिहरूसित सहचार्य, संसारभरका व्यञ्जनहरूको स्वाद― धेरै कुरा पाएका छौँ।
सुखका चार आधारमध्ये प्रकाश र विकास शहरमा होलसेलमा बेचिन्छन्। कलेज, विश्वविद्यालय, बौद्धिक अन्तरक्रिया, सञ्चारमाध्यम, राम्रा पुस्तकालय, सभा-समारोह, गोष्ठी जस्ता ज्ञानका स्रोत शहरमै भएकाले प्रकाश खोज्नेहरू प्रायः शहरै पस्छन्, बस्छन्। विकेन्द्रीकरणको नाराले केन्द्रीकरणलाई एकजात पनि छेक्न सकेको छैन। त्यसैले विकास अर्थात् वृद्धिका धेरै सम्भावना र अवसर पनि गाउँघरका सम्भावनालाई 'झ्ेलमा पारेर शहरमै केन्द्रित छन्। जहाँ घर नै दशौँ तला अग्ला हुन्छन्, जहाँ मान्छे प्रकृतिका सबै नियम बिथोल्ने हिम्मत राखेर औसत ३० किलोमिटर प्रतिघन्टाको दरले हुँइकिन्छन्― कमाइसित सम्बन्धित विकास त्यहीँ हुन्छ।
संसारभरका शहर यही म्याराथनमा हुन्छन्। तर, यसको अर्को डरलाग्दो रूप पनि छ― यसले मानिसलाई मूल रूपमा कमाउने र किन्ने अर्थात् उपभोगवादी बनाउँछ। उपभोगवादले मानिसमा मलाई यो-यो चिज चाहिएको छ भनेर रहर र किन्न नसक्नेलाई म चाहिँ गरीब हुँ भन्ने भाव जगाइदिन्छ। अरूलाई हेरेर कमाऊ, विज्ञापन हेरेर किन, अरूलाई देखाउन उपभोग गर बस्। अति उपभोगले निम्त्याएका समस्याको समाधान अझ् बढी उपभोग हो। त्यसका लागि अरू बढी काम गर, बढी कमाऊ― मानौँ मानव सृष्टि त्यत्तिकै लागि भएको हो। मेरो आशय काठमाडौँमा हामी यही बिन्दुमा पुगिसक्यौं भन्ने होइन, तर त्यता उन्मुख छौँ भन्न चाहिँ हिचकिचाउनुपर्दैन। हामीले शहरबाट अनेक कुरा पाएका छौँ। र, त्यसको साटो हामीमध्ये धेरैले शहरलाई चढाएका छौँ― अनुहारको एक-एक इन्च मुस्कान।
शहरले मानिसलाई फुर्सद दिँदैन― काममा व्यस्त, काम खोज्न व्यस्त, किनमेल गर्न व्यस्त, खान-पिउन व्यस्त, हुँदा-हुँदा मनोरञ्जनमा समेत व्यस्त। अर्थ न बर्थको व्यस्तता शहरको रोग हो। शहर जति ठूलो भयो त्यति नै यो रोग कडा हुन्छ। शहरले हामीलाई एजेन्डा लिएर हिँड्ने र डायरी हेरेर समय बिताउने यन्त्रमानव बनाएको छ। यसले हामीलाई भ्याउनै पर्ने कामहरूको सूची र कमाउनै पर्ने सम्पत्तिको फेहरिस्त दिएको छ। हतार, तनाव, सङ्घर्ष र निराशाले गाँजेको शहरमा अवकाश र मृदुहासको उपलब्धता सीमित छ।
के छ गाउँमा?
सबभन्दा ठूलो कुरा, गाउँमा शहरमा भन्दा अलि बढी फुर्सद छ। बिजुली भएकै ठाउँमा पनि वेलामा सुत्न र उठ्न पाइन्छ। परिश्रम बढी गर्नुपरे पनि बिसाउने समय हुन्छ। कामकै बीचमा पनि दुई-चार फाँकी गीत रन्काएर पसिना पुछ्न पाइन्छ। निद्रा पुग्ने गरी सुत्ने फुर्सद हुन्छ।
फुर्सद भनेको सामाजिक सम्बन्ध र सांस्कृतिक अस्तित्व बढाउने आधार पनि हो। फुर्सदको राम्रो उपभोग गर्न ठिक्क काम गर्नु र ठीकैको आम्दानीले गुजारा हुने सामान्य जीवनशैली अपनाउनुपर्छ जसलाई शहरको प्रतिस्पर्धाले हतोत्साहित गर्छ। त्यसैले, शहरको किनमेलको दौडबाट अलिकति भए पनि मुक्ति चाहने जो कोहीका लागि गाउँ सर्वोत्तम आश्रयस्थल हो।
चिनेको मान्छे देख्दा परैबाट मुस्कुराउने फुर्सद गाउँमा छ। गाउँमा अझ्सम्म पनि अबोध, सरल, स्वाभाविक, विनम्र, कृतज्ञ र स्वस्फूर्त मुस्कान बाँकी छ। साँचो मुस्कान हाम्रो खुसीको, सुखको, सन्तुष्टिको, चित्त बुझ्ाउने बानीको, क्षमाशीलताको, स्वागतशीलताको, विनयशीलताको, मैत्रीभावको अभिव्यक्ति पनि हो।
यी अमूर्त लाग्ने कुराका भरमा मात्र गाउँलाई बस्नलायक भनिएको होइन, थपिइरहेका भौतिक पूर्वाधार र सुविधाले धेरै गाउँलाई बसौँ-बसौँ लाग्ने बनाएका छन्। अहिले धेरै गाउँ यातायात प्रणालीसित जोडिएका छन्। धेरै ठाउँमा बिजुली छ, नभएका ठाउँमा सोलारबाट काम लिन सकिन्छ। गाउँगाउँमा फोन र इन्टरनेट पुगेको छ। अधिकांश गाउँमा खानेपानीको सुविधा छ, कतिमा ठूला शहरको भन्दा राम्रो। गाउँमा प्राथमिक उपचार उपलब्ध छन्। डाक्टर र अस्पतालहरू नजिकिँदा छन्।
गाउँका आकर्षणहरूको सूची लामो छ― प्रदूषण छैन, सुधारिएको चुलो र गोबरग्यासले गर्दा भान्साहरू स्वच्छ छन्, खुला ठाउँ छ, उपभोक्ता भन्दा उत्पादक बढी छन्, प्राकृतिक र प्राङ्गारिक खानेकुरा पाक्छन्। खान-लाउन पुग्नु अहिले पनि गाउँमा सम्पन्नता बुझ्ाउने शब्दावली हो।
केहीअघिसम्म गाउँहरू परम्परागत जीवनका पर्याय थिए। गाउँमा गर्न नहुने र गर्नै पर्ने कुराहरूको लामो सूची हुन्थ्यो। महिलाको उन्मुक्ति र तल्लो जात भनिएका समूहहरूको प्रगतिमा थरीथरीका घोषित-अघोषित प्रतिबन्ध थिए। अब ती दिन रहेनन्, गाउँमा गएर जो पनि धक फुकाएर काम गर्न सक्छ।
गाउँमा मान्छेको पहिचान हराउँदैन। काम गरेको जस धेरै पाइन्छ। योगदानहरूको ठूलो कदर हुन्छ। खासगरी सेवानिवृत्त व्यक्तिहरूका लागि रुचि र क्षमता अनुसारका उद्यम गर्ने वा सामाजिक नेतृत्व लिने अवसर धेरै छन्। त्यसबाट व्यक्ति र समाज दुवैलाई फाइदा हुन्छ। आफूलाई समाजमा उपयोगी बनाउने व्यक्तिको स्वास्थ्य र मनोबल दुवै सशक्त हुन्छ। एउटा पाको र खारिएको व्यक्तिका अनुभवबाट गाउँ-समाजले मूल्यवान् ज्ञान र सेवा पाउँछ। खासगरेर सरकारी कोषबाट पेन्सन खानेहरूले यसतर्फ बढी गम खानुपर्छ।
तर, धेरै राम्रा कुरा हुँदाहँुदै पनि विकासको गलत मान्यताका कारण गाउँहरू पातलिँदै गएका र शहर पस्न नसक्नेहरूको अस्थायी आश्रयस्थल जस्तो मात्र भएका छन्। लाग्छ, गाउँमा मानिस बसेका शहर जानकै लागि हो।
म काठमाडौँ पसेको समयमा बाहिरबाट आएका मान्छे यतै बस्ने कल्पना त्यति सजिलो थिएन। तर, यतै बसियो। भाइहरू पनि मैजस्ता भए। गाउँमा बाआमा मात्र रहनुभयो। वास्तवमा यो घरघरको कथा हो। पछि-पछि त पढ्न काठमाडौँ जाने भन्नुको अर्थ नै गाउँ नफर्किने भयो। कोही फर्कियो भने पनि ऊ काठमाडौँमा जम्न नसकेको बुझन थालियो। काठमाडौँमा अडिनु प्रतिष्ठाको कुरा भयो।
अहिले गाउँहरू झ्ण्डै-झ्ण्डै युवाविहीन छन्। मुलुकभित्र होस् वा बाहिर, नजिकको मुगलान होस् या समुद्रपार― जहाँ भए पनि मान्छेहरू सकभर ठूला शहरमा, नभए जिल्ला सदरमुकाममा घर-घडेरी जोड्न खोज्छन्। तिनका बाबुआमा पनि कसैलाई घरबार जिम्मा लगाएर छोराछोरीसित जान बाध्य हुन्छन्।
तर, मानिसहरू जतिसुकै शहर पसे पनि कुनै गाउँ रित्तिने भने छैनन्। मान्छेहरू काम गरी नै रहनेछन्। जनशक्ति कम भएकाले कम परिश्रमबाट बढी आम्दानी हुने बालीको खोजी हुन थालेको छ। गाउँमा सस्तोमा राम्रा घरजग्गा किनबेच हुन थालेका छन्। समग्रमा गाउँहरू अहिले स्वागतमय भएका छन्।
को जाने त गाउँ?
गाउँ गएर बस्न अनुकूल नहुने भनेका विशेष चिकित्सा सेवामा रहनुपर्ने बिरामी वा शहरमै जागिर खाने वा बन्द-व्यापार गर्ने व्यक्ति मात्र हुन्। बाँकी जो पनि गाउँ गए हुन्छ। बढ्दो भौतिक सुविधा र प्राविधिक प्रगतिका कारण सक्रिय पेशागत जीवन बिताइरहेका जो पनि गाउँमा बसेर पूर्ण क्षमताका साथ काम गर्न सक्छन्। उनीहरूले गाउँको वातावरण शहरभन्दा बढी उपयुक्त र शान्त पाउने छन्।
टेबुल कुर्सीमा बसेर गर्ने कतिपय काम गाउँबाटै गर्न सकिन्छ। कार्यालयमा हाजिर नभई घरबाटै काम गर्नेहरूका लागि गाउँ एकदमै राम्रो ठाउँ हो। लेखक, कवि, चित्रकार, सङ्गीतकारहरूको साधनाका लागि शहरको भीडभाड र तनावभन्दा गाउँकै शान्ति अनुकूल हुन्छ। समाजसेवामा रुचि राख्ने व्यक्तिहरूले गाउँमा बढी ठाउँ र बढी सन्तुष्टि पाउन सक्छन्।
छुट्टी मनाउन गाउँ झ्न् उपयुक्त हुन्छ। ग्रामीण जीवनको आस्वादन गर्ने चाहना भएका कर्मचारी र अन्य पेशाका मानिसहरू छुट्टी मिलाएर गाउँ जान सक्छन्। हिउँदे, बर्खे वा चाडपर्वका बिदामा शहरका विद्यार्थीले गाउँमा रमाउँदै धेरै कुरा सिक्न सक्छन्।
हामीमध्ये धेरैको पृष्ठभूमि गाउँ नै हो जहाँ हाम्रा जरा छन्। पहिलो र दोस्रो पुस्ताका शहरियाहरूको थातथलो गाउँमा अझ्ै मेटिएको छैन। यस्तोमा छोराछोरीलाई आफ्नो ठाउँ देखाउनु-चिनाउनु, उनीहरूमा आफूप्रतिको चेतना बलियो बनाउनु हो। नयाँ पुस्तामा देशको माया भर्ने हो भने उनीहरूमा गाउँको सामाजिक सम्बल, जीवनशैली, सरलता, नाता-सम्बन्ध आदिप्रति आदरभाव जगाउनुपर्छ।
छोराछोरी बढी नै भौतिक सुविधामुखी भए भनेर पीर मानिरहेका बाबुआमा शहरमा धेरै छन्। शहरको पुगिसरी वातावरणमा हुर्के पनि गाउँसित सानैदेखि नियमित सम्पर्कमा रहेर आफ्नो पृष्ठभूमि र सीमा थाहा पाएका बालबालिका बढी बुझ्क्की र आफूलाई आफूभन्दा कमजोर अवस्थामा रहेका व्यक्तिहरूसित तुलना गरेर हेर्न जान्ने हुन्छन्। यसबाट समाजमा सहानुभूतिशीलता र करुणा बढ्छ।
गाउँलाई आत्मसात् गर्न त्यहाँ सम्बन्धहरू हुनुपर्छ। त्यसका लागि नाता नै हुनुपर्छ भन्ने छैन, रहँदा बस्दा स्वाभाविक मित्रता वा मितेरी सम्बन्ध गाँसिन सक्छ। गाउँ आवतजावतले बढाउने सम्बन्ध नाता सम्बन्धभन्दा बलियो हुन्छ। तर, ग्रामीण पर्यटनले यो काम गर्न सक्दैन। किनभने, पर्यटक सेवाग्राही र उपभोक्ता हुन्छ।
कहाँ जाने?
अहिले द्वन्द्वकालको जस्तो अवस्था नभएकाले यसको फाइदा लिन सिक्नु र सक्नुपर्छ। आफ्नो पुर्ख्यौली गाउँ नै जानुपर्छ भन्ने छैन, फरक रहनसहन र संस्कृति भएका जुन ठाउँमा पनि जान सकिन्छ। धानका हरिया पहेँला खेत भएका, साँझ्मा घुर तापेर सामुदायिकताको जगेर्ना गरिरहेका मधेशका गाउँदेखि गुराँस फुल्ने पहाड वा हिउँ पर्ने उच्च भेकका गाउँ, जहाँ भए पनि।
त्यहाँ आफन्त, चिनजान भए पनि हुन्छ, नभए पनि हुन्छ। खोलाको माछो समुद्र पुगे झै किशोरावस्थामा शहर पसेर, सङ्घर्ष गरेर खुट्टा टेकेका व्यक्तिहरूलाई सपरिवार वा एक्लै नेपालका कुनै पनि गाउँ गएर केही समय होस् वा सधैँ बस्न गाह्रो पर्दैन। शहरमा डेरा गरेर बस्न हुन्छ भने गाउँमा नहुने कुरै छैन। आफूलाई मनपरेको ल्याण्डस्केप वा समाज त्यस्तो ठाउँ हुनसक्छ। यसबाहेकका मसिना, गहिरा कुराको आधारमा पनि कुनै गाउँ गएर बस्न सकिन्छ।
शहरीकरण रोक्न नसकिने भेल हो। शहरका बेफाइदाको सूची जति बनाए पनि त्यता लाग्ने मानिसको चाहना कम गर्न सकिँदैन। यसबाट उब्जेको एउटा स्वीकार गर्न मन नलाग्ने तथ्य शहरी शरणार्थीहरूको समस्या हो। यथार्थ कति कटु छ भने हाम्रा घरमा आमाबाबुका रूपमा शहरीकरणका शरणार्थीहरू छन्। गाउँको फराकिलो र स्वच्छ हावापानीका हाम्रा बाआमा अहिले साँघुरा घरमा खुम्चिएका छन्। बिहानैपिच्छे खुलुक्क ज्यान पखालेर ईश्वरको नाम लिने बूढाबूढीहरू जतिवेला पनि पानीको अभावको गीत सुन्न बाध्य छन्।
बोल्न नपाएर उनीहरूको मुख गन्हाएको छ, मानिआएका देउथान र परम्परा टाढिएका छन्। अक्षयतृतीयामा बाटोमा उभिएर बटुवाहरूलाई सर्वत बाँड्ने आमा छोराबुहारीले असन्तोक गरेको ठान्लान् भनेर चुप बस्न बाध्य छन्। दुःख-सुख जे जस्तो भए पनि आफ्नै पाराको स्वतन्त्र जीवन बिताएका बूढाबूढीहरू परतन्त्र भोगिरहेका छन्।
विचार पुर्याउनै पर्ने पक्ष धेरै छन्। प्रमुख कुरा, गाउँमा पनि पेशागत र बौद्धिक जीवन बिताउन सकिन्छ। काम गर्ने उमेरका व्यक्तिले बसोबासका लागि गाउँ रोज्ने हो भने स्वस्थ वातावरण र सरल समाज त्यहीं पाउँछ। त्यसबाट गाउँलेहरूमा हराउन थालेको आत्मविश्वास बढ्छ। शहरप्रतिको भावनामा पनि सुधार हुन्छ। बूढाबूढीले शहरमा शरणार्थी हुनुपर्दैन।
हामी किन शहरमा छौँ? शहरमै बस्नुपर्ने वा वर्षको केही समय गाउँमा बिताउन नसक्ने के त्यस्ता बाध्यताहरू छन्? यो कसीमा आफूलाई
जाँचौं र गाउँ जाऊँ।
(स्रोत: हिमाल खबर पत्रिका )
No comments:
Post a Comment