Saturday, September 22, 2018

शंखेकिरा किन्दै सरकार

रामपुर नगरपालिका ६ तिलकपुर मिलनचोकका किराना व्यवसायी घनश्याम खनाललाई यति बेला शंखेकिराको तौल नाप्न र पैसा दिन भ्याई नभ्याई छ । उनी मात्रै होइन वडा नं. ६ तालपोखराका खेमराज ढकाल, चारपाटेका ज्ञानुमाया कुमाल र बुल्टारका एकराज पंगेनीको पनि अवस्था उस्तै छ ।
एकाबिहानै पसल खोल्दा वरपरका स्थानीयहरू शंखेकिरा बिक्रीका लागि जम्मा गरेर ल्याएको किराको पोका बोकेर उनको पसल अगाडि पुगि सक्छन् । वडा भित्रबाट संकलन गरेर ल्याएको किराको तौल नापेर उनीहरूले प्रति केजी २५ रूपैयाँका दरले खरिद गरी निश्चित स्थानमा संकलन गर्दछन् । तपाईलाई लाग्न सक्छ शंखेकिरा कुनै प्रयोजनका लागि खरिद गरिएको होला । वास्तविकता यो नभई शंखेकिराको प्रकोपले वडाका कृषकहरूको खेतीबालीमा क्षति पु¥याएकाले रामपुर नगरपालिका ६ वडा कार्यालयले दिएको संकलनको जिम्मेवारी उनीहरूले बहन गरेका हुन् ।हाल वडा ६ ले अभियान चलाएर गत असोज १ बाट शंखेकिराको निराकरणका लागि ४ स्थानका संकलन केन्द्र मार्फत २५ रूपैयाँ प्रति केजीका दरले शंखेकिरा खरिद गरिरहेको छ । शंखेकिरा नियन्त्रणमा नआउँदा किसानलाई मर्का परेको भन्दै स्वर्तर्फुत शंखेकिरा टिपेर दिनेलाई प्रोत्साहन गर्नुका साथै निराकरणका लागि वडाले खरिद अभियान सञ्चालन गरेको हो । वडाले शंखेकिरा नियन्त्रणका लागि अभियान थाले संगै स्थानीय कृषकहरू खुशी भएका छन् । रामपुर नगरपालिकाको विशेष गरी वडा ६ र ७ का स्थानहरूमा शंखेकिराको प्रकोप बढ्दै गएको पाईन्छ । जसका कारण तरकारी, अन्न बाली नष्ट गर्नुका साथै पशुहरूमा संक्रमण बढ्दै गएपछि किसानहरू निरास भएका थिए । कृषक धनश्याम देवकोटाले ३ वर्ष यता प्रकोप निकै बढेकाले बाली नष्ट पारिदिने जस्ता समस्याले निकै सास्ती दिएको बताए । उनले भने वडाले चालेको कदमले केही राहत महसुश भएको छ ।
रामपुर नगरपालिका ६ मिनचोककी सीता देवकोटाले पनि शंखेकिराका कारण तरकारी बाली केही फैलन नसकेको बताईन् । उनले संकलन अभियानको प्रशंसा गर्दै यसबाट दोहोरो फाईदा हुने भएकाले खुशी लागेको बताईन् । मिलन चोक संकलन केन्द्रका संकलक धनश्याम खनालले संकलन अभियानमा बालक देखि वृद्ध सम्म उत्साहित भएर लागेको बताए । ‘आफ्ना बालीलाई त फाईदा पुग्छ नै साथमा आम्दानी पनि हुने भएपछि वडाका स्थानीयले खोजीखोजी ल्याउने गरेका छन् । साथै संकलनबाट आएको पैसाले बालबालिकाहरूले पढाई खर्च समेत जुटाएका छन् । प्रौढहरूले पनि आवश्यक सामान किनेर लैजाने गरेका छन् ।’ खनालले भने ।
वडा ६ का वडा सचिव बासुदेव ढकालले वडाको विपद व्यवस्थापन तर्फको रकमबाट कार्यक्रम सञ्चालन गरिए पनि स्थानीयको उत्साह सँगै सो रकमले नपुग्ने देखिएको बताए । उनले यसका लागि झण्डै १ लाख आवश्यक पर्ने अनुमान गरिएको बताए । संकलन भएका किराहरूलाई नुनको प्रयोग गरेर मारी निश्चित स्थानमा खाडल खनेर नष्ट गर्ने गरिएको छ ।
वडा ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले गत वर्ष किसानहरूको मागका आधारमा किरा नियन्त्रणका लागि नुन वितरण गरिएको र नुनले मात्रै सम्भव नहुने भए पछि वडाले खरिद गरी उचित स्थानमा व्यवस्थापन गर्ने निर्णय अनुसार संकलन सुरु गरिएकोे बताए ।
किरा नियन्त्रणका लागि स्थानीयले केही वर्ष अघि सम्म प्लाष्टिकमा जम्मा गरी सडकमा गाडीको प्राङ्ग्राले कुचाएर नियन्त्रणको प्रयास पनि गरेका थिए । शंखेकिरा मारेर जथाभावी दुर्गन्धले अर्काे जोखिम निम्त्याउन सक्ने भन्दै वडा कार्यालयले कृषि शाखाको सल्लाहमा नियन्त्रणका लागि यो उपाय अपनाएको हो ।




Source:Butwal Today

No comments:

Post a Comment

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *