Monday, September 13, 2010

उतिबेलाको सञ्चार

-डा नर्बदालाल मास्के


करबि ७० वर्षअघिको कुरा हो। अहिले नेपाल खानेपानी संस्थानको कार्यालय रहेको ठाउँ -त्रिपुरेश्वर)मा त्यसबेला एकतले टहरो थियो। दूरसञ्चारको कार्यालयका साथै त्यसबेलाको एक मात्र सार्वजनिक टेलिफोन बुथ पनि त्यहीँ थियो। काठमाडौँका जनता उपत्यकाबाहिरका आफन्तसँग कुरा गर्नुपर्‍यो भने त्यहीँ पुग्थे। पुर्जी काटेर सम्बन्धित मान्छेको नाम, ठेगाना दिएपछि 'फलानो दिन कुरा गर्न आउनू' भनी पठाइन्थ्यो। उपत्यकाबाहिरबाट कसैका नाममा टेलिफोन आयो भने पनि त्यसैगरी पुर्जी काटेर सम्बन्धित व्यक्तिको घरमै पुर्‍याइन्थ्यो।

दूरसञ्चार सेवाको इतिहास भने अलि पुरानो छ। विसं १९७० मा काठमाडौँमा म्याग्नेटो सिस्टमको स्थापना भई दूरसञ्चार सेवाको थालनी भएको हो। ज्यादै सीमित भागमा सुरु गरएिको यो सेवा नै दूरसञ्चार सेवा विस्तारको पहिलो खुड्किलो मानिन्छ। विसं १९७१ मा काठमाडौँ र रक्सौलबीच 'ओपन वायर लाइन'को स्थापना भएपछि पहिलोपटक ट्रंक टेलिफोन सेवाको सुरुवात भएको हो। विसं १९९१ मा टेलिफोन हेडअफिसको स्थापना भयो। १९९२ मा काठमाडौँमा २५ लाइन अटोमेटिक टेलिफोन एक्सचेन्जको स्थापना भएपछि देशमा स्थानीय टेलिफोन सेवाको आरम्भ भयो। तर, सर्वसाधारणले भने टेलिफोनसम्म आपmनो सहज पहुँच पुर्‍याउन लामो समय कुर्नुपर्‍यो।


विसं १९९८ तिरको कुरा हो। मेरा दाजुले रक्सौलबाट बुबासँग कुरा गर्न चाहनुभएको बेहोराको पुर्जी घरमा आइपुग्यो। तर, दुर्भाग्य ! त्यसबेला बुबा बिरामी पर्नुभएको थियो। मलाई उहाँले बुथसम्म गएर कुरा गरी आउन अह्राउनुभयो। एक जना सिपाहीले पहरा दिइरहेको त्यस बुथमा एक अपरेटर टेलिफोन-सेटमा औँलो छिराई जोडजोडले घुमाउँथ्यो र बल गरेर 'हेलो हेलो' भनी कराइरहेको देखिन्थ्यो।


अपरेटर कतिखेर 'हेलो वीरगन्ज !' भन्थ्यो त कतिखेर 'हेलो भीमफेदी !' त्यसैगरी, कतिखेर 'हेलो पाल्पा !' भनी जोडजोडले कराउँथ्यो। यति चिच्याउँथ्यो कि त्रिपुरेश्वर वरपिरकिा मानिसहरू पनि यताबाट गरएिको कुरा प्रस्टसँग सुन्थे। उसले रक्सौलसँग कनेक्सन जोडेपछि कुराकानी गर्न मलाई रििसभर थमाइदियो।


सामान्य कुराकानीपछि जब मैले 'बुबा बिरामी परेकाले मलाई कुरा गर्न जा भनी हुुकुम भयो' भनेँ, सिपाहीले त मेरो कठालो समातिहाल्यो। र, बेस्मारी गाली गर्न थाल्यो, "नेवार भएर हुकुम भयो भन्ने, तँलाई जेल हालिदिन्छु।" ज्यादै बिन्तीभाउ बिसाउँदै उसका खुट्टा नै छोएर मैले माफी मागेपछि 'आइन्दा त्यस्तो गल्ती नगर्ने' सर्तमा उसले मलाई छोडी दियो।

सञ्चारसँग सम्बन्धित अर्को एउटा घटना पनि सम्भिmन्छु। यो श्री ३ मोहनशमशेरले विसं २००५ मा नेपालमा मोहन आकाशवाणी स्थापना गरेपछिको कुरा हो। त्यसबेला टाकटुक गरी अक्षर हानी आकाशवाणी पठाउने चलन थियो। जति सटकटमा लेख्यो, त्यति कम पैसा लाग्थ्यो। त्यसको हेड अफिस लैनचौरमा थियो। मेरो दाइ त्यसबेला कलकत्तामा पढ्दै हुनुहुन्थ्यो। उहाँले त्यहाँबाट बुबाका नाममा आकाशवाणी पठाउनुभयो, 'वेटिङ्। कम सुन्।' त्यसको अर्थ लगाइयो, 'पर्खिरहेको छु, चाँडै आऊ।'

बुबा तीन दिन लगाएर जब कलकत्ता पुग्नुभयो, दाइ त आरामसाथ सुतिरहनुभएको पो रहेछ। त्यसपछि बुबाले दाइलाई खुब हकार्नुभएछ। दाइ पनि आश्चर्यमा पर्नुभएछ। त्यसपछि शान्त भएर बाबुछोराबीच कुरा भयो, गाँठी कुरा त पछि मात्र थाहा भएछ। खासमा थोरै शब्दमा धेरै कुरा भन्ने र पैसा बचाउने लोभ गर्दा त्यो सब भएको रहेछ। दाइले पठाएको आकाशवाणीको पूरा बेहोरा यस्तो रहेछ, राइटिङ् स्टप। आई कम सुन्।' तर, यहाँ राइटिङ्को ठाउँमा वेटिङ् तथा स्टप र आई उडाइदिँदा यो सब भएको रहेछ। यसरी अर्थको अनर्थ लाग्न पुगेको रहेछ।

पत्रपत्रिका र सञ्चारमाध्यम त त्यसबखत प्रतिबन्धितजस्तै थिए। यहाँ केही पाइँदैनथ्यो। बाहिरबाट ल्याउन पनि ज्यादै सास्ती थियो। जसोतसो ल्याइपुर्‍याए पनि सहज किसिमले पढ्न र सुन्न पाइँदैनथ्यो। दाइले बल्लतल्ल गरेर ल्याएको एउटा रेडियो पनि हामी राती १२/१ बजे सिरकभित्र लुकाएर सुन्थ्यौँ। छिमेकी कसैले उजुर गरदिेलान् भनेर झ्यालढोका सबै बन्द गरी त्यसबेला रेडियो सुनेको सम्झना मलाई अहिले पनि ताजै छ। यो त एउटा प्रतिनिधि घटना मात्र हो। सायद काठमाडौँमा सबैतिर यस्तै थियो। किनभने, भर्खर भर्खर शिक्षा र चेतनाको जागरण फैलिँदै थियो। यो सब थाहा पाएकाले नै हुनुपर्छ, वीर लाइब्रेरी उद्घाटन गरी फर्केपछि आफ्ना नातेदारहरूका अगाडि खिन्न भई वीरशमशेरले भनेका थिए रे, "जनता बुझ्ने भए। अब हाम्रो पतन हुने भयो।"

प्रस्तुति ः ईश्वरी ज्ञवाली
("नेपाल" साप्ताहिकबाट साभार गरिएको) 


No comments:

Post a Comment

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *