मणिरत्न शाक्य
मनसुन ऋतुअनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बंगालको खाडीको बाटो हुँदै दक्षिणपूर्वी दिशाबाट प्रवेश गर्छ । मनसुनी वायु समुद्रबाट बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ । तसर्थ यो वायु बहँदा विभिन्न स्थानमा वर्षा हुन्छ ।
नेपालमा प्रवेश गर्ने मनसुनी वायु दक्षिण एसियामा बहने ग्रीष्मकालीन मनसुनको एक अंश हो । गर्मी यामका बेला दक्षिण एसियाको भूभाग र यससँग जोडिएको समुद्री भाग जस्तै बंगालको खाडी, अरब सागर र हिन्दमहासागर असमानुपात ढंगबाट तात्ने कारणले गर्दा दक्षिण एसियामा मनसुनको सुरुवात हुने गर्छ । गर्मीयाममा दक्षिण एसियाका भूसतह समुद्री सतहको तुलनामा छिटो र बढी तात्ने हुनाले भूसतहको संसर्गमा आउने हावा तातो भई माथितिर उठ्छ जसले गर्दा दक्षिण एसियाको विभिन्न भाग न्यून वायुमण्डलीय चापमानमै रहन्छ । ठीक यसै बेला समुद्री सतह भूसतहभन्दा ढिलो र कम तात्ने कारणले गर्दा समुद्रमा उच्च वायुमण्डलीय चापीय केन्द्र हुन्छ । हावा जहिले पनि उच्च वायुमण्डलीय चापीय क्षेत्रबाट न्यूनतिर बहने प्राकृतिक स्वरूपअनुरूप सो क्षेत्र हिन्दमहासागरबाट न्यून क्षेत्र दक्षिण एसियाको विभिन्न भागमा जोडदार हावा बहन थाल्छ, यसलाई मनसुन भनिन्छ ।
नेपाल जहाँ पर्याप्त सिंचाइ सुविधा छैन, यहाँका लागि मनसुन वरदानतुल्य हुन्छ तर यही मनसुन अतिवृष्टि भई जनधनको क्षति हुने त कहिले अनावृष्टि, खण्डवृष्टि भइदिँदा खडेरी हुन्छ । समयमै मनसुन आगमन र पर्याप्त वषर्ा हुनुलाई समृद्धिको सूचक मानिन्छ । यस वर्ष नेपालमा मनसुन सरदर मितिभन्दा सात दिन ढिलो अर्थात् जुन १७ तारिखदेखि सुरु भयो । जुनजुलाइमा पूर्वी नेपालबाहेक अधिकांश स्थानमा वषर्ा
भएन । जुलाइको मध्यपछि केही स्थानमा बाढीको प्रकोप देखापर्यो । वर्षामा निरन्तरता आउन नसकेकाले कतै सुख्खा भयो । पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमका अधिकांश स्थानमा भने वर्षा औसतभन्दा बढी नै भयो ।
अगस्टको सुरुवातसँगै सक्रिय मनसुनी गतिविधिका कारण वर्षामा निरन्तरता आयो र अधिकांश स्थानमा व्यापक वषर्ा भयो । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीको प्रकोपसमेत देखा पर्यो । आँकडाअनुसार देशको अधिकांश स्थानमा वषर्ा औसतभन्दा धेरै नै बढी भएको पाइयो भने पूर्वको तुलनामा पश्चिम नेपालमा वर्षामा वृद्धि भएको देखियो । जुलाइ महिना नेपालमा सबभन्दा बढी वषर्ा हुने महिनाको रूपमा लिइन्छ तर यस वर्ष जुलाइ महिनामा कमजोर मनसुनी गतिविधिका कारण नेपालमा खण्डवृष्टिको बाहुल्य देखियो तर अगस्ट महिनामा देशव्यापी रूपमा अविरल वर्षा भई अधिकतम मात्रामा वर्षा भएको पाइयो । नेपालमा सरदर सेप्टेम्बर २३ तारिखदेखि मनसुन समाप्त हुने गर्छ ।
यसै सन्दर्भमा विगत दस वर्षको नेपालको मनसुनी वर्षासम्बन्धी गरिएको एक प्रारम्भिक अध्ययनअनुसार जुन महिनामा वषर्ामा निकै कमी भएको पाइएको छ भने मनसुन सुरुवातमा पनि केही ढिलाइ हुने गरेको देखिएको छ । जुलाइ महिनामा देशमा वषर्ा भए पनि खण्डवृष्टिका कारण केही ठाउँमा सुख्खा हुने गरेको छ तर अगस्ट महिनामा तुलानात्मक रूपमा जुलाइ महिनामा भन्दा वषर्ामा व्यापकता आई वृद्धि हुने गरेको छ । त्यस्तै नेपालको पूर्वी भागमा भन्दा पश्चिम भागतिर अत्यधिक मात्रामा वषर्ा हुने गरेको देखिएको छ । अध्ययनअनुसार राजधानी काठमाडौँमा मनसुनकालमा वर्षा सरदरकै हाराहारी वा सोभन्दा केही कम भई सुख्खा मौसमको अनुभूति हुने गरेको पाइएको छ ।
यसै सिलसिलामा भारतमा मनसुन सम्बन्धी गरिएको एक अध्ययनअनुसार पनि भारतको पश्चिम र उत्तरपश्चिम भागतिर वषर्ामा वृद्धि भइरहेको र मध्य भारतका विभिन्न स्थानमा सक्रिय मनसुनी गतिविधिका कारण त्यहाँको मौसममा परिवर्तन भइरहेको जनाइएको
छ । मनसुन दक्षिण एसियाको एउटा महत्त्वपूर्ण वायुमण्डलीय प्रणालीको रूपमा रहेको छ । मनसुनी गतिविधिका कारण दक्षिण एसियाको विभिन्न मुलुकको अर्थतन्त्र र मानव जीवनमा ठूलो असर पर्ने भएकाले यसतर्फ मानिसको ध्यान जानु स्वाभाविक देखिन्छ । यसबारे विस्तृत रूपमा वैज्ञानिक अध्ययन हुनु समयसापेक्ष छ ।
लेखक मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक हुन् ।
(कान्तिपुर दैनिक)