Saturday, September 18, 2010

भण्डारखाल पशुपतिनाथको बगैँचा



गणेश अधिकारी

जङ्गवहादुरको इतिहास पढेकालाई भण्डारखाल नाम सुन्नेवित्तिकै कोतपर्व र भण्डारखालपर्वको विभत्स हत्याकाण्डको सम्झना आइहाल्छ । तर यहाँ उल्लेख गरिएको भण्डारखालको चर्चा भने आराध्यदेव भगवान पशुपतिनाथसित सम्बन्धित छ ।
यस स्थानलाई काठमाण्डौँवासीहरूमध्ये धेरैले त चिन्छन तर ती धेरैमध्येले पनि यसको वास्तविकता थाहा नपाउनेले भने फेरि पनि यसलाई उहि जङ्गवहादुरसित जोडेर हेर्ने गरेको पाइन्छ । बाहिरबाट आउनेहरूका लागि भने यो भण्डारखाल त्यति महत्वको स्थान हुदैन तर इतिहासविज्ञहरूलाई भने भण्डारखालले प्राचीनकालदेखि नै पच्छ्याई रहेको छ ।
संस्कृतिविद प्रा.डा मुकुन्दराज अर्यालका अनुसार " नेपालको इतिहासमा यहाँ वस्ती बसेदेखि नै पूजिँदै आएका पशुपतिनाथबारे वंशावलीको भनाई " भन्ने वाक्यांस पढदा के लाग्छ भने त्यतिखेरैदेखि पशुपतिनाथका लागि फलफूल बगैँचाको आवश्यकता परेपनि लिच्छवि वा मल्लकाल सम्म बगैँचा गुठी राखेको प्रमाण भेटिँदैन । एकैचोटि शाहकालमा रणवहादुर शाहका पालामा पशुपतिको बगैँचा भनेर भण्डारखालमा १३४ रोपनी जगा गुठी राखेको पाइन्छ । हाल पशुपति क्षेत्रविकास कोषको कार्यालय रहेको स्थान भन्दा पश्चिम, गौशाला भन्दा पश्चिम र उत्तरमा रहेको सुन्दर जङ्गलले भरिएको स्थान भण्डारखाल हो । "भण्डारखाल कहिलेदेखिको हो ? कसले स्थापना गरेको हो ? भण्डारखाल नै यसको नाम कसरी रहन गयो भन्ने कुरा स्पष्टसँग बताउन सकिन्न । यसलाई बगैँचाको रूपमा समर्पण गर्ने व्यक्ति चाहिँ रणवहादुर शाह हुन" भनेर डा. गोविन्द टण्डन लेख्नु हुन्छ । पशुपतिनाथ मन्दिरको मुख्य भूमि र भण्डारखाललाई हाल चक्रपथले अलग गरेको छ । अहिले विभिन्न समयमा मर्मत हुँदै गएको भए पनि मूख्य ' कम्पाउण्डवाल' रणवहादुर शाहले नै लगाएका हुन । शाहवंशमा सवैभन्दा वढि गुठी पशुपतिमा चढाउने गीर्वाणयुद्धले विसं १८७० मा देवपाटनलाई चारकिल्ला बाँधेर गुठी राख्ता भण्डारखाल समेतलाई त्यसमा पारी त्यस्को रेखदेख गर्न पशुपति अमालकोट कचहरीलाई जिम्मा दिएका थिए ।
फेरि पनि भण्डारखाल भन्ने नामसँग जिज्ञासा रहिरहन्छ । किन भण्डारखाल नाम रहृयो त्यतिखेरै पनि र त्यो भन्दा अगाडिदेखि नै ? हातहतियार, खरखजाना र धनसम्पत्ति पनि शत्रुबाट जोगाउनका लागि प्राचीन दरवारहरूले भण्डारखालको प्रयोग गर्ने गर्थे । संस्कृतको 'भण्डागार' भन्ने शब्दबाट भण्डारखाल बनेको भए पनि आधुनिक जमानामा त्यसलाई 'बङ्कर' भन्न सकिन्छ । यसको मतलव के हुनसक्छ भने बङ्कर वरिपरि दरबारहरू थिए र दरबार हुनुको अर्थ राजधानी पनि थियो भन्ने लागि हाल्छ । 'पशुपतिक्षेत्रको सांस्कृतिक अध्ययन' नामक आˆनो पुस्तकमा डा. गोविन्द टण्डन लेख्नुहुन्छ -"भण्डारखालदेखि दक्षिणपट्ट िरहेको वत्तिसपुतलीमा लिच्छवि लिपिमा 'राज्ञोमरदेवस्य' लेखिएको इँटा पाइनु तथा देवपाटनमा लिच्छविकालका दरबारहरू रहेको हुन सक्ने सङ्केत पाइनु आदिले भण्डारखाल तिनै दरबारको रहेको थियो कि भन्ने अनुमान हुन्छ । " जे भए पनि रणवहादुरले विसं १८५६मा पशुपतिको बगैँचाको लालमोहर गर्दा भने यहाँ रस्तीबस्ती थियो । यसलाई उनले उठाएका थिए । देवपाटनमा हुने सवै जात्राको रथ वा खट सिफल पुगेपछि पश्चिमपट्ट िलगेर तीन ठक्कर लगाउने र हरिसिद्धिको १२ वर्षे नाच भण्डारखाल भित्र लगिने परम्पराको प्रमाणले के देखाएको हुन सक्छ भने रस्तीबस्ती उठाए पनि परम्परा उठ्न सकेन ।
ऐतिहासिकस्थल भएकै कारणले रणवहादुरले पशुपतिको नाममा बगैँचा गुठीको रूपमा राखेर यसको ऐतिहासिकतालाई संरक्षण गर्नका लागि रस्तीबस्ती समेत उठाएरै भए पनि लालमोहर गरेका हुन कि भन्ने अनुमान लगाउन सकिन्छ । यद्यपि रणवहादुरको बहुलठ्ठीपन यस अनुमानको विपरित छ । पशुपतिको 'दुका विर्ता, मनभोग गुठी, मिठाई गुठी, पायस गुठी र महास्नान ुूठी' कमाउने मोहिहरू - ज्ासलाइ ब्याङ मोहि भन्ने गरिन्थ्यो) आएर भण्डारखाल बगैँचाको काम गर्ने प्रथा बसालिएको थियो । तीन रोपनी कमाउनेले एक खेतालाको दरले काम गर्नु पथ्र्याे । यस बगैंचाको स्थायी रूपले रेखदेख गर्न चितायदार र सिपाहीहरू राखिएका भए पनि पछि अमालकोट कचहरी हुँदै बनगोस्वारा र अन्त्यमा समरजङ कम्पनीलाई दिइयो ।
डा. टण्डनका अनुसार गौशालाबाट मैतीदेवीतर्फ जाँदा भण्डारखालको दक्षिणतर्फ 'दची इँट'ले कलात्मक रूपमा पर्खाल लगाएर बनाइएका केही प्राचीन इनारहरू पचास/ साठी फिटको दुरीमा चार या पाँच स्थानमा केहि वर्ष अगाडिसम्म थिए । उहाँका अनुसार एकैस्थानमा त्यतिका इनारहरू हुनु निश्चय पनि कुनै असाधारण स्थितिको संकेत हो । तर दुर्भाग्यवस ती ईनारहरू अहिले पुरिए । यो अनुमति कस्ाले दियो ? केहि समय अगाडिसम्म भण्डारखाल भित्र लिच्छविकालीन एउटा शिवलिङ्ग थियो तर त्यो चोरी भइसकेको छ । के त्यस्को खोजी हुन सक्तैनथ्यो ?
गौशाला पश्चिम भण्डारखालको कम्पाउण्डवाल दक्षिणतर्फ भएको जमीन मिचिने र क्षयीकरण त हुँदै थियो नै तर आज त्यहाँको जमीन बेचिएको कुरा काठमाण्डौँवासी धेरैलाई थाहा नहुन सक्छ । पशुपतिमा रहेको बृद्धाश्रमको दुर्दशाको निराकरण गर्न तत्कालिन व्यवस्थापनले गुरूयोजनामा समावेस भएको प्लट नं 'द्यढ'को किनं ४१ र ४२ मा रहेको जम्मा ४ रोपनी क्षेत्रफलको सो जग्गामा बृद्धबृद्धाहरूका लागि आवश्यक सुविधायुक्त बृद्धाश्रम बनाउने योजना अघि सारेको थियो । दसकौँ अगाडि तत्कालीन सरकारको स्वीकृति प्राप्त गुरूयोजनामा परेको सो जग्गा कसरी विक्री भयो ? खोजको विषय हो यो ।
गौशालामा बनेको धर्मशालाको पश्चिम सीमाबाट जोडेर भण्डारखाल बगैँचाको दक्षिण सीमासम्म ब्यपारिक घरहरू बनाउने हो भने पशुपति क्षेत्रविकास कोषको आयस्रोत बढ्नुका साथै ऐतिहासिक जमीनको संरक्षण हुने पक्का छ । सार्वजनिक जमीन मिचेर घर बनाउनु त काठमाडौँको बहादुरी नै भैहाल्यो । २०२७ सालमा नेपाल खाद्य संस्थानले दसैँको समयमा तिब्बतबाट आयात गरिएका भेडा च्याङ्ग्रा यस बगैँचा भित्र ल्याएर थुपारे पछि यसको सत्यानास भयो । त्यसपछि यस बगैंचाको प्राणप्रतिष्ठा पनि गरिएन ।
पशुपतिका बगैँचाको रूपमा रहेका अन्य बगैँचाहरू पनि थिए र छन तर तीनको पनि व्यवस्थापन हुन छाडेको छ । वेदविद्याश्रम रहेको जमीन रणवहादुर शाहले नै राखेको अर्काे बगैँचा हो । यस जमीनको आर्थिक उपयोगतर्फ कसैले सोचेको जस्तो लाग्दैन । चक्रपथ यसैको छेवै छेउ भएर जान्छ । प्राकृतिक सौन्दर्यलाई नविगार्ने गरी ब्यापारिक घरहरू निर्माण गर्न सके कोषको लागि ठूलो आय स्रोतको बाटो हुने निश्चित छ जसले वेदविद्याश्रम पाठशालासँगै वेदविद्यश्रम क्याम्पस पनि चलाउछ सकिन्छ ।
गीर्वाणयुद्धले राखेको 'साकेव ' बगैँचा अर्को हो । यसको क्षेत्रफल आठ रोपनी छ र यो पशुपतिनाथको मन्दिरभन्दा दक्षिणतर्फ नजिकै पर्छ । मन्दिरको पश्चिम ढोकाको थोरै पश्चिमतर्फ बहादुर शाहले राखेको बगैंचा र धर्मशालाको सञ्चालनका लागि हरिसिद्धिमा २५० रोपनी जगा राखेका थिए । बहादुर शाहले राखेको बगैँचा भन्दा लगत्तै पश्चिमतर्फ अन्य तीनवटा बगैँचा थिए भनिन्छ जहाँ विसं १८९१ सालमा सुब्बा कुुलानन्द झाले सदावर्तका लागि सत्तल बनाए जो अद्यावदि 'कुलानन्द सत्तल'का नामले परिचित छ । विसं १९०६ मा भक्तवीर कुँवर राणाले राखेको बगैंचामा पछि रणोद्दीप सिंहले बज्रघर नामक सदावर्त सत्तल बनाएर बगैँचालाई सो भन्दा पश्चिमतर्फ सारे भनिन्छ । विसं १९३१ र १९३८मा जितजङ्ग राणाले राजराजेश्वरीमा सुन्दर बगैँचाको निर्माण गरि 'बोगमबेली'नामको सुन्दर फूलको जात ल्याएर सजाएका थिए । यसलाई अहिले 'निर्मल अखाडा' भनेर चिनिन्छ । यस्ाको अलावा उनैले ललितेश्वर नामक शिवालय वरिपरि राम्रो बगैँचा र एउटा भब्य पोखरीको निर्माण गरेका थिए तर हाल त्यो पोखरी उपेक्षित रूपमा छ । भण्डारेश्वर बगैँचा पनि पशुपतिनाथकै बगैँचाहरूमध्येको एक हो ।
भण्डारखालको जमीन लीजमा दिए पशुपति क्षेत्रविकास कोषलाई मासिकरूपमा ठूलो आयस्रोत बन्ने गरी त्यहाँको जङ्गलको प्राकृतिक सौन्दर्यतालाई समेत यथावत रहने गरी एउटा विशाल पाँचतारे होटल निर्माण गर्ने प्रस्ताव पनि आएको थियो । भण्डारखाल ऐतिहासिक त छँदै छ त्यस्मा पनि यसभित्र आजसम्म कायम रहन सकेको काठमाण्डौँ जस्तो प्रदुषित सहरको माझमा अवस्थित जङ्गलले पर्यावरण संरक्षमा अलिकति भए पनि टेवा पुग्नुका साथै काठमाण्डौँकै गौरवका रूपमा रहेको भण्डारखाल जस्तो गहना मासेर खजाना बनाएको साबित हुने महसुस गर्दै हामीले प्रस्ताव अस्वीकार गर्‍यौँ
लिच्छविकालभन्दा पहिलादेखिकै इतिहास बोकेको भण्डारखाल उपेक्षित अवस्थामा रहन नदिनु काठमाडौँ मात्रको गौरव जोगाउनु नभएर समस्त नेपालको गौरव जोगाउनु हो । के अब आउने पुस्ताले यसलाई यसैगरी बुझ्ला ?á
(गोरखापत्र दैनिक )

No comments:

Post a Comment

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *