Saturday, September 11, 2010

ज्वरो, के गर्ने ?

अतुल मिश्र

काठमाडौ, भाद्र २६ - यतिबेला देशभरि नै ज्वरो प्रभावित हुनेहरूको संख्या आकासिएको छ । राजधानी मात्र नभई मुलुकभर नै विभिन्न प्रकारका ज्वरोका कारण अस्पताल पुग्नेहरू सबैभन्दा बढी छन् । ज्वरोले सबैलाई प्रभावित गर्ने गरे पनि यसबारे भने समाजमा खासै जानकारी राखिएको पाइँदैन ।

चिकित्सा विज्ञानअनुसार मानिसको शरीरको सामान्य तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ । शरीरको तापक्रम यो सामान्य स्तरभन्दा माथि हुने स्थितिलाई ज्वरो भनिन्छ ।

'ज्वरो कुनै रोग होइन,' वरिष्ठ फिजिसियन प्रा.डा.अनिलकुमार मिश्र भन्छन, 'यो मात्र रोगको लक्षण हो ।' कुनै पनि प्रकारको संक्रमणको शरीरद्वारा दिइने प्रतिक्रिया ज्वरो रहेको उल्लेख गर्दै उनी भन्छन्, 'वृद्घि भइरहेको ज्वरोको गम्भीरताको स्तरतर्फ संकेत गर्छ ।'

अधिकांश ज्वरो ब्याक्टेरिया वा भाइरसको संक्रमणले गर्दा हुन्छ । संक्रमणबिना पनि ज्वरो हुन सक्छ । जस्तै, थाइरोटाक्सिकोसिस, मायोकार्डियल इन्प
mार्कसन, लिम्फोमा आदि ।

श्वाससम्बन्धी संक्रमण निमोनिया, रुघाखोकी, ब्रोन्काइटिस, टन्सिल, मूत्र-प्रणालीको संक्रमण, टाइफाइड, औलो, क्षयरोग, वात, मम्पसलगायत रोगहरू ज्वरोका कारण हुन सक्ने प्रा.डा.मनोहरप्रसाद गुप्ता बताउँछन् । शरीरको कुनै पनि भाग, जस्तै आन्द्रा, श्वास प्रश्वास, मूत्र, कान आदिमा ब्याक्टेरियाको संक्रमणसमेत ज्वरोको कारण हो ।

साधारण ज्वरोमा भने शरीरको तापक्रम ९९ देखि १ सय फरेनहाइट हुन सक्छ । यस्तै मन्द ज्वरो ९९.८ देखि १०१ डिग्री फरेनहाइटसम्म हुन्छ । मध्यम ज्वरमा भने १०१ देखि १०३ डिग्री फरेनहाइटसम्म ज्वरो देखिन्छ भने तीव्र ज्वरोमा १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो देखिने गरिन्छ ।

ज्वरोमा टाउको दुखाइ, चिसो लाग्नु, जोर्नी दुख्न, भोक कम लाग्नु, स्वाद नलाग्नु, वाक्वाकी र कहिलेकाहीँ वान्ता, कन्सटिपेसन, भोक कम लाग्नु, थकानलगायत लक्षण देखिन सक्छ । ज्वरो भएको व्यक्तिलाई छुँदा नै तातो अनुभव हुन्छ । अनुहारमा थकानसँगै जीउमा दुखाइ हुन सक्छ ।

यस्तै, आन्द्राको संक्रमण हुँदा पखाला लाग्न सक्छ । यस्तै प्रायः भाइरल ज्वरो वा टन्सिलाइटिस हुँदा घाँटीमा खसखस र रुघा लाग्ने गरेको छ । सम्पूर्ण शरीरमा बिमिरा भएको बेला र जोर्नीको दुखाइमा वृद्घ िहुँदा, आँखा राता हुनुका साथै दुखेको बेला भने डेगीको शंका पनि गर्न सकिन्छ ।

दिउँसो चिसो लागेर तीव्र पसिना, पेट दुखाई र वाक्वाकी सँगै ज्वरो आयो भने औलोको शंका गर्न सकिन्छ । ज्वरोसँगै तीव्र वाक्वाकी, वान्ता, आँखा र जिब्रोको पहेँलोपना, कलेजोको हेपाटाइटिसको संकेत हुने गर्छ । मध्यमदेखि तीव्र ज्वरोसँगै खोकी, घर्घराउनु, श्वासमा असुविधा, छातीको दुखाइ भएमा मुख्य रूपले बच्चामा निमोनियाको शंका गर्न सकिन्छ ।

ज्वरोको रोगीमा उन्माद, मानसिक अशान्ति पनि देखिन सकिन्छ । बालबालिकाहरूलाई भने ज्वरोसँगै 'एट्याक' पनि देखिने गरिएको छ ।

ज्वरो भएमा रोगीलाई राम्रो भेन्टिलेसन भएको कोठामा राख्नुपर्ने उल्लेख गर्दै प्रा.डा. मिश्र भन्छन्, 'यस्ता रोगीलाई प्रशस्त मात्रामा तरल पदार्थ खान

दिनुपर्छ ।' शरीरलाई पर्याप्त मात्रामा क्यालोरी दिन ग्लुकोज, आरोग्यवर्धक पेय पदार्थ, फलको रस आदि दिनुपर्छ । सजिलै पच्ने जस्तै जाउलो, साबुदाना, दूध, रोटी, ब्रेड आदि रोगीलाई खान दिनुको साथै ज्वरो भएकाहरूलाई गर्मी हुने भोजन गराउनु हँुदैन ।

रोगीको सुरुदेखि नै थर्ममिटर लगाएर केही निश्चित घन्टाको फरकमा तापक्रम लिएर त्यसको चार्ट बनाउनुपर्छ । 'यसले ज्वरोको प्रकृति बुभmन सजिलो हुन्छ,' प्रा.डा.मिश्र बताउँछन्, 'बिहान ६ बजे, मध्याह्न १२ बजे साँझ ६ बजे र राति १० बजे गरी कम्तीमा चारपटक तापक्रम लिनुपर्छ ।'

ज्वरो हुनासाथ छोपेर राख्ने चलनलाई औल्याउँदै प्रा.डा. मिश्र रोगीको शरीरबाट अनावश्यक लुगा हटाउनुपर्ने बताउँछन् । बिरामीका लागि खुकुलो सुतीको लुगा राम्रो मानिन्छ । आवश्यक भए वा रोगीले रुचाए ब्लाङकेट उपयोग गर्न सकिन्छ । तर रोगीलाई ब्लाङकेट वा न्यानो लुगाले बेर्नु भने हुँदैन ।

ज्वरो भएकालाई चिसो, खुल्ला र ताजा हावा आउने ठाउँमा राख्नुपर्छ । तर धेरै चिसो वातावरणमा भने राख्नुहुन्न । मन तातो स्वच्छ पानीले तौलिया भिजाएर रोगीको शरीरलाई पुछिदिनुपर्छ । ज्वरो कम गर्न टाउकोमा पानीपट्टी राख्न सकिन्छ । रोगीलाई सुप झोल पदार्थ प्रशस्त मात्रामा दिनुपर्छ । मुख्यतः बच्चालाई भने पोषण बन्द गर्नुहुदैन ।

ज्वरोको रोगीलाई एस्पि्रन दिनु नहुने उल्लेख गर्दै प्रा.डा. मिश्र चिकित्सकले भनेको मात्रामा ज्वरो कम गर्न सिटामोल दिनुपर्ने बताउँछन् ।

ज्वरोमा के हुन्छ ?
ज्वरो किटाणुको संक्रमणले हुन्छ । यो संक्रमणले शरीरको कोशिकामा पाइरोजेन नाउँ गरेको विषाक्त पदार्थ उत्पन्न गर्छ । 'यसले गर्दा मस्तिष्कस्थित ताप नियन्त्रण केन्द्र (हाइपोथेलमस) मा खराबी आउँछ र ज्वरोको अनुभव हुन्छ,' प्रा.डा. मिश्र भन्छन्, 'ज्वरोले रोगको किटाणु समाप्त गर्न हामीलाई सहयोग गरिरहेको हुन्छ ।' यो समय शरीरमा विभिन्न प्रकारका जैविक प्रक्रिया तीव्र गतिले हुन लाग्छ । र, यसले सबै ज्वरोको किटाणु समाप्त गर्न सघाउँछ । तर लामो समयसम्म ज्वरो रहनु शरीरका लागि घातक रहेको समेत उनी बताउँछन् । किनभने यो समय शरीरको भित्री खण्डको तापक्रममा वृद्घ िभएर पानीको कमी हुन सक्छ, जसले रगत र मूत्रनलीका कोशिका खुम्चिन थाल्छन् । कोशिकाको प्रोटिन कम हुन थाल्छ ।

ज्वरो कसरी नाप्ने ?

शरीरको गर्मी थर्ममिटरका माध्यमलेे नापिन्छ । तापक्रम नाप्न अमेरिकामा डिग्री फरेनहाइट अन्य मुलुकमा भने डिग्री सेन्टिग्रेडको उपयोग गरिन्छ । मुख्य रूपले थर्ममिटर काख वा मुखमा राखेर तापक्रम नाप्ने गरिएको छ ।

मुखमा थर्ममिटर राख्दा यसको १५ मिनेटअघि सम्म मुखमा तातो वा चिसो सेवन गर्नुहुँदैन । यसले तापक्रम नाप्ने प्रक्रिया प्रभावित हुन सक्छ । थर्ममिटरलाई साबुन-पानीले वा अल्कोहलले पुछेर मात्र मुखमा हाल्नुपर्छ । थर्ममिटरको टुप्पो भने जिब्रोको तल मुखको पछिको ठाउँमा राख्नुपर्छ । मुखको सामान्य तापक्रम ९८.६ डिग्री फरेनहाइट हो ।

काखबाट तापक्रम नाप्न व्यायाम गर्ने वा नुहाएपछि १५ मिनेटसम्म पर्खनुपर्छ । यसो गर्दासमेत थर्ममिटर साबुन-पानी वा अल्कोहलले सफा गर्नुपर्छ । काखको पसिनालाई पुछेर मात्र थर्ममिटर राख्नुपर्छ । काखमा शरीरको सामान्य तापक्रम ९७.६ डिग्री फरेन हाइट हो ।

चिकित्सकसँग सम्पर्क गर्नुस्

दुई महिनाभन्दा कमका शिशुको काखको तापक्रम ९९.८ डिग्री फरेनहाइटभन्दा बढी भयो भने चिकित्सकसँग सम्पर्क गर्नुपर्ने प्रा.डा.मिश्र बताउछन् । यदि दुई महिनाभन्दा बढी उमेरको शिशु र बच्चा एवं वयस्कको काखको तापक्रम १००.५ डिग्री फरेनहाइटभन्दा बढी देखियो भने पनि चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।


प्रकाशित मिति: २०६७ भाद्र २६ १०:१०
(कान्तिपुर दैनिक)



No comments:

Post a Comment

श्लोक /स्तोत्र - नित्य पठण

Comment

Name

Email *

Message *