राजेन्द्र महर्जन
अमेरिकी राष्ट्रपति बाराक ओबामाले भदौ १६ गते ह्वाइट हाउसको ओभल अफिसबाट ऐतिहासिक घोषणा गरे, 'इराकमा अमेरिकी सशस्त्र कारबाही औपचारिकरूपमा समाप्त भयो।' पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले पनि साढे ७ वर्षअघि ओभल अफिसबाटै इराक युद्ध थालनीको घोषणा गरेका थिए, 'आतंकवादविरोधी युद्ध'का नाममा। घोषणाकै कुरा गर्ने हो भने बुसले लभगभ ७ वर्षअघि इराक युद्ध समाप्त भएको घोषणा पनि गर्न भ्याएका थिए। उनले 'मिसन एकंप्लिस्ड' नामक भाषणमा इराकमाथि सैन्य कब्जा र राष्ट्रपति सद्दाम हुसेनको गिरफ्तारीपछि पहिलोपटक यस्तो घोषणा गरेका थिए। तर विगत सात वर्षमा न अमेरिकी सैन्य कारबाही रोकियो, न त इराक मुक्त सार्वभौम मुलुकै बन्यो, न त त्यहाँ स्वतन्त्रता र लोकतन्त्रै बहाली भयो। तर, ११ सेप्टेम्बर, २००१ मा अमेरिकामा भएको आक्रमणपछि विश्वभर नौ वर्षदेखि 'आतंकवादविरोधी अमेरिकी युद्ध' जारी रह्यो, बुसको नेतृत्वमा होस् या ओबामाको अगुवाइमा।
चुनावी बाचा पूरा गर्न ओबामाले ओभल अफिसबाट बुसकै भाषाशैलीमा 'अपरेसन इराकी फ्रिडम' समाप्त भएको घोषणा गर्दा कटु यथार्थमाथि भ्रमको पर्दा हाल्न खोजे। उनले इराकमा ५० हजार अमेरिकी फौजको उपस्थिति, एक लाखभन्दा बेसी अमेरिकी निजी सेनाको चलखेल, इराकी सरकार, प्रशासन र देशमाथि प्रभुत्व रहेको तीतोसत्यलाई संसारको खुला आँखासामु छोपछाप पार्न खोजे। बुसले जस्तै उनले इराकमा अमेरिकी सशस्त्र कारबाही समाप्त भएको घोषणा गरे। तर, कारबाही भने विभिन्न रूपमा जारी छ।
हुन त अमेरिकी सरकारको घोषणालाई आँखा चिम्लेर समर्थन गर्ने मूलधारका सञ्चार माध्यमले ओबामाभन्दा चार हात अगाडि बढेर घोषणा गरे, 'युद्ध समाप्त भयो, युद्धमा जीत हासिल गरियो, इराकी मिसन समाप्त भयो, अन्तिम सैनिक पनि स्वदेश फर्क्यो।' तिनले 'लडाकु ब्रिगेडका अन्तिम सैनिक' बिहानको किरणसँगै इराकी सीमा पार गर्दै कुवेततिर लागेको फिल्मी स्टाइलको दृश्य पनि घरीघरी देखाए।
यस्ता 'गढिएका झुठा यथार्थ'को बिगबिगी देखेर अमेरिकी विद्वान नोम चोम्स्कीले खरो विश्लेषण गरे, सरकार झुटको खेतीमा मग्न छ, मूलधारे अमेरिकी सञ्चार माध्यम पनि भ्रमको व्यापारमा लिप्त छ। इराकमा अमेरिकी युद्ध समाप्त भएको घोषणा गर्नु झूठको खेती गर्नु हो भने त्यसलाई आँखा चिम्लेर प्रचार-प्रसार गर्नु अमेरिकी मिडियाको भ्रमको व्यापार गर्नु हो। प्रख्यात पत्रकार जोन पिल्जरका अनुसार इराकमा रहेका ९४ वटा अमेरिकी सैन्य अखडामा ५० हजार सैनिक अझै क्रियाशील छन्, जो इराकीका घरदेखि तेलको कुवासम्म, सरकारदेखि सार्वभौमिकतामाथि कब्जा जमाएर बसेका छन्। इराकीको हत्याका लागि जिम्मेवार 'स्पेशल फोर्स' अमेरिकी हवाइ अखाडा पनि सारिएका छैनन्। र, अमेरिकालाई सघाउँदै आएका निजी क्षेत्रका सुरक्षा एजेन्सीका एक लाखभन्दा बढी निजी सेनाको संख्या त अमेरिकी सेनाको कटौतीसँगै झन् बढाइँदैछ।
आफूलाई इराकी युद्धको सुरुदेखिकै विरोधी ठान्ने ओबामाले पनि द्वैध चरित्र देखाए। राष्ट्रपतिका रूपमा युद्धको नेतृत्व गर्दागर्दै पनि नोबेल शान्ति पुरस्कार पाएका ओबामाले अफगानिस्तानमाथि थोपरिएको युद्धमा ध्यान दिन र बढी फौज खटाउन चुनावी बाचाअनुसार समयमै इराकी युद्ध अन्त्यको घोषणा गरेका हुन्। उनले इराक युद्ध अन्त्य गर्न खोजेका होइनन् बरु अर्को रूपमा जारी राख्न खोजेका हुन्। हो, उनले कमभन्दा कम अमेरिकी फौजको प्रयोग, बढी निजी सेनाको उपयोगबाट युद्धलाई निरन्तरता दिन खोजेका हुन्।
आफूलाई इराकी युद्धको सुरुदेखिकै विरोधी ठान्ने ओबामाले पनि द्वैध चरित्र देखाए। राष्ट्रपतिका रूपमा युद्धको नेतृत्व गर्दागर्दै पनि नोबेल शान्ति पुरस्कार पाएका ओबामाले अफगानिस्तानमाथि थोपरिएको युद्धमा ध्यान दिन र बढी फौज खटाउन चुनावी बाचाअनुसार समयमै इराकी युद्ध अन्त्यको घोषणा गरेका हुन्। उनले इराक युद्ध अन्त्य गर्न खोजेका होइनन् बरु अर्को रूपमा जारी राख्न खोजेका हुन्। हो, उनले कमभन्दा कम अमेरिकी फौजको प्रयोग, बढी निजी सेनाको उपयोगबाट युद्धलाई निरन्तरता दिन खोजेका हुन्।
ओबामाको जादूबाट मुक्त भएर हेर्ने हो 'अपरेसन इराकी फ्रिडम'का नाममा इराकमाथि थोपरिएको अमेरिकी युद्ध अहिले ५० हजार 'परामर्शदातृ सेना' र १ लाख निजी सेनाद्वारा जारी रहेकै देखिन्छ। यस्तो युद्धलाई अचेल 'अपरेसन न्यु डन' (नयाँ बिहानी कारबाही) नाम दिइएको छ। सैन्य कमाण्डरमा जनरल ल्योड अस्टिनलाई नियुक्त गरिएको छ, युद्धको नेतृत्व पेन्टागन अर्थात् रक्षा मन्त्रालयबाट विदेश मन्त्रालयमा सारिएको छ। तर, फौजी हस्तक्षेप र कब्जाको नीतिलाई आखिर जुनसुकै 'ब्रान्ड नेम' दिए पनि, फौजी रणनीतिलाई राजनीति रूपरंग दिए पनि औपनिवेशिक सार भने पटक्कै फेरिएको छैन। त्यसैले स्वतन्त्र र सार्वभौम मुलुकमाथि गरिएको फौजी आक्रमण र कब्जा अन्तर्राष्ट्रिय कानुन र राजनीतिक मूल्य मान्यताअनुसार युद्ध अपराध हो।
ओबामाले लाजै नमानी घोषणा गरे, हामीले इराकमा धेरै बलिदान दियौं। इराकमाथि आक्रमणको क्रममा भएको चार हजारभन्दा बेसी अमेरिकी सैनिकको मृत्यु पक्कै पनि बलिदान हो। तर उनीहरूको रगत ग्यास, तेल र अस्त्रको कारोबार गर्ने बहुराष्ट्रिय साहुको बहीखातामा चढाइएको हो, इराकमा स्वतन्त्रता र प्रजातन्त्र बहालीका नाममा। यस्तै, अमेरिकी आक्रमणकै कारण लाख बढी इराकी मारिएका छन् भने लाखौं विस्थापित भएका छन्।
लेखक पल स्ट्रिटको भाषामा, अपरेसन इराकी फ्रिडम त इराकमा तेह्रौं शताब्दीमा भएको मंगोल शासकहरूको हमलाभन्दा पनि ध्वंसात्मक भयो। आतंकवाद नाश गर्ने, आणविक हतियार विनाश गर्ने नाममा थोपरिएको अमेरिकी युद्ध सबैभन्दा संहारकारी भयो। आतंककारी भयो र आतंकवादीका जन्मदाता पनि भयो। यही युद्धका कारण सिया, सुन्नी र कुर्द जातिमा बाँडिएका राजनीतिक दलबीच सत्तासंघर्षसमेत बढ्यो। इराकमा छ महिनादेखि नयाँ सरकार बन्न सकेको छैन। निर रोजेनको टिप्पणीअनुसार 'इराकको निर्मम हत्या गरिएको छ, कहिल्यै उठ्न नसक्ने गरी।' यतिखेर नेपाललाई पनि दुखद् इराकी त्रासदीतिरै घिसारिँदै गरिएको त होइन?
महर्जन 'सद्दाम र अमेरिकी साम्राज्य' पुस्तकका लेखक हुन्।
(नागरिक दैनिक बाट साभार)
No comments:
Post a Comment